+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा : चिसो बढ्दै, चुनावी गतिविधि तात्दै

रसुवा : चिसो बढ्दै, चुनावी गतिविधि तात्दै
त्रिशूली प्रवाह
८ महिना अगाडी

धुन्चे । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला रसुवामा निर्वाचनसम्बन्धी गतिविधि रोचक बन्दै गएको छ । जिल्लाको अधिकांश माथिल्लो भेगमा हिउँ परेर चिसो बढे पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन गतिविधि बढाउँदै लगेकाले चुनावको माहोल तात्दै गएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

निर्वाचनको दिन नजिकिँदै गर्दा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिएकाहरू मतदाताको घरघरमा गएर प्रचारको कार्यक्रम सञ्चालन गरिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड र आमाछोदिङ्मो गरी पाँच गाउँपालिका रहेको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा कुल ४१ हजार चार सय ७१ मतदाता रहेका छन् । भूगोलका आधारमा नौकुण्ड गाउँपालिकामा सबैभन्दा बढी ११ हजार चार सय ६ मतदाता छन् । कालिका गाउँपालिकामा आठ हजार तीन सय १६, उत्तरगया गाउँपालिकामा आठ हजार सात सय ९३, गोसाइँकुण्डमा ६ हजार चार सय नौ र आमाछोदिङ्मो गाउँपालिकामा पाँच हजार पाँच सय ४७ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काङ्गे्रसबाट मोहन आचार्य, नेकपा (एमाले) बाट प्रेमबहादुर तामाङ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट माधवप्रसाद लामिछाने उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद लामिछाने, उज्यालो नेपाल पार्टीबाट मानबहादुर तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दावासाङ्बो तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट विनोद थिङ, नेकपा (माओवादी) बाट होमप्रसाद आचार्य तथा स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, दावामिङ्मा तामाङ र सागर लामा निर्वाचनको मैदानमा उत्रेका छन् ।

Suzuki New Bike & Scooter

काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका आचार्यले विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुईपटक निर्वाचित भइसकेका व्यक्ति हुन् भने एमालेको तर्फबाट उम्मेदवार बनेका तामाङ एमालेका केन्द्रीय सदस्य हुन् । उहाँले पहिलो संविधानसभा विसं. २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्याशी उम्मेदवार र विसं २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन् । यसपटकको निर्वाचनमा आचार्य, तामाङ र नेकपाका केन्द्रीय सदस्यसमेत रहेका लामिछानेबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काङ्गे्रसका उम्मेदवार मोहन आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार छोवाङतेन्जिन तामाङले आठ हजार ६ सय १४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचनमा एक सय ६५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) हालको नेकपा, नेकपा (एकीकृत समाजवादी) बिच विसं २०७९ मा चुनावी गठबन्धन हुँदा रसुवा काङ्ग्रेसको भागमा परेको थियो । तीन दलको साझा उम्मेदवार बनेका आचार्य यसपटक तेहेर्याउने दाउमा छन् भने एमालेका तामाङ काङ्ग्रेसको किल्ला भत्काउने र आफू विजयी हुने दाउमा छन् । त्यसैगरी, नेकपाका उम्मेदवार लामिछाने काङ्ग्रेस र एमालेको विरासत तोड्न लागिपरेका छन् । निर्वाचन थप रोचक बन्दै गएकाले तीन दलका उम्मेदवारमध्ये कसको पल्ला भारी हुने अनुमान अहिले गर्न नसकिने अवस्था रहेको स्थानीय विश्लेषक बताउँछन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह