विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा ‘एक घर एक खानेपानी धारा’ पुर्याउने दीर्घकालीन लक्ष्यसहित तादी खोलाबाट लिफ्ट प्रणालीमार्फत खानेपानी विस्तार योजनाको पहिलो चरणको पानी तान्ने परीक्षण सम्पन्न भएको छ ।
ऐतिहासिक नुवाकोट दरबार खानेपानी उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको उक्त योजनाको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थलगायत जनप्रतिनिधि तथा सरोकारवालाले संयुक्त रूपमा स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि नगरप्रमुख श्रेष्ठले योजनाको दीर्घकालीन प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदनअनुसार बाँकी चरणका काम पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको योजनामा बागमती प्रदेश सरकारको रु.तीन करोड ९३ लाख लगानी रहेको उहाँले जानकारी दिनुभयो । निरीक्षणका क्रममा पानी तान्ने परीक्षण कार्यको समेत नगरप्रमुखले अवलोकन गर्नुभएको वडाध्यक्ष कायस्थले जानकारी दिनुभयो । नियमित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने वडाको प्राथमिकतालाई ध्यानमा राखी बागमती प्रदेश सरकारसमक्ष क्रमानुगत योजनाअन्तर्गत काम थालनी गरिएको उहाँले बताउनुभयो ।
गुरूङगाउँमा रहेको ट्याङ्कीदेखि मालिकामा रहेको ट्याङ्कीमा पानी पुर्याइने कार्य केही सातामा सम्पन्न हुने जनाएको छ । सोपछि ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण सुरु गर्ने तयारी गरिने उपभोक्ता समितिका अध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिनुभयो । दशकौँदेखि खानेपानी अभाव झेल्दै आएका वडाबासीका लागि यो योजना जीवनस्तर सुधारतर्फको महत्त्वपूर्ण उपलब्धि बन्ने विश्वास गरिएको छ । उक्त खानेपानी योजना सम्पन्न भएसँगै विदुर नगरपालिका-२ नुवाकोटका चार सयभन्दा बढी घरधुरीका परिवार प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।






प्रतिक्रिया