धुन्चे । रसुवा जिल्लाका ज्येष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपाने प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । उत्तरगया-५, बनुवानिवासी डा.सरस्वती आचार्यले आफ्ना माता टोपकुमारी र पिता तुलसीप्रसाद आचार्यको स्मृतिमा स्थापना गरेको प्रतिभा पुरस्कार यस वर्ष राष्ट्रिय समाचार समितिका रसुवा प्रतिनिधि न्यौपानेलाई प्रदान गरिएको हो ।

डा.आचार्यका अनुसार समाचारका माध्यमबाट रसुवा जिल्लाका हरेक गतिविधि, विकास निर्माण, सामाजिक तथा राजनीतिक घटनाक्रमबारे नागरिकलाई सुसूचित गराउने कार्यमा अतुलनीय योगदान पुर्याएबापत न्यौपानेलाई सो पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा अवस्थित शब्दयात्रा प्रकाशन संस्थामार्फत प्रदान गरिएको हो । कार्यक्रममा न्यौपानेलाई रु.२५ हजार, कदरपत्र, शब्दयात्रापट्ट तथा रुद्राक्ष मालाले सम्मान गरिएको थियो । विसं २०४२ साउन १ गतेदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय न्यौपानेले समाचार लेखनसँगै साहित्यिक क्षेत्रमा समेत अभिरुचि राख्दै आउनुभएको छ । पुरस्कारदातृ डा.आचार्य ग्रामीण तथा दुर्गम क्षेत्र बनुवामा जन्मी जिल्लाबाटै पहिलो विद्यावारिधि हासिल गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले ग्रामीण क्षेत्रका प्रतिभा र योगदानलाई कदर गर्ने उद्देश्यले पुरस्कार कोष स्थापना गरिएको बताउनुभयो । यस प्रकारको पुरस्कार कोष स्थापना गर्नेमा रसुवाका दुईजना छन् । लहरे बरथुम्कीनिवासी उत्तम आचार्यले आफ्ना पिता तथा पूर्वमन्त्री रामकृष्ण आचार्यको स्मृतिमा ‘रामकृष्ण आचार्य पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी रसुवामा क्रियाशील पत्रकारलाई प्रदान गर्दै आउनुभएको छ । सो पुरस्कार रसुवा, स्याउबारीस्थित लाङटाङ एफएममार्फत प्रदान हुँदैआएको छ ।

बनुवानिवासी टोपकुमारी र तुलसीप्रसाद सामान्य किसान परिवारका अग्रज व्यक्ति हुनुहुन्थ्यो । कृषि प्रणालीबारे सबैलाई ज्ञान बाँड्ने, शिशु कक्षादेखि उच्च शिक्षासम्म राम्रोसँग पढाउनुपर्छ भन्ने मान्यता बोक्नुभएका उहाँहरू समाजमा इमानदार, सकारात्मक सोच र असल सल्लाह दिने व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो । सो अवसरमा शब्दयात्रा प्रकाशनले अन्य विभिन्न क्षेत्रका प्रतिभालाई समेत सम्मान गरेको छ । क्याप्टेन टीकाराम-रामेश्वरी प्रतिभा पुरस्कार मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी, स्कुल देउडा पुरस्कार गायक नन्दकृष्ण जोशी, डा.शालिग्राम शर्मा पुरस्कार नियात्राकार रमेशमोहन अधिकारी तथा जीवनचन्द्र कोइराला प्रतिभा पुरस्कार साहित्यकार दिल पौडेललाई प्रदान गरिएको छ । शब्दयात्रा सारथी काभ्रेपलाञ्चोक पुरस्कार उद्यमी गोविन्द शर्मा र बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई प्रदान गरिएकोे शब्दयात्रा संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो । यसैगरी शब्दयात्रा हरि मञ्जुश्री पुरस्कार नमुना बालगृह अनाथ आश्रमलाई प्रदान गरिएको थियो ।






प्रतिक्रिया