विदुर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा ‘पश्चिम १ नम्बर’ का ६ महिला चुनावी मैदानमा उत्रे पनि प्रमुख दल भनिएका नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट भने ‘मातृशक्ति’ उम्मेदवार शून्य छन् । विसंं २०१८ पूर्व प. १ नम्बरमा पर्ने रसुवा, नुवाकोट र धादिङ जिल्लाका ८९ जना दल र स्वतन्त्र उम्मेदवारले पाँच स्थानका लागि प्रतिस्पर्धा गर्दै छन् ।
विसं २०१८ पछि ७५ जिल्लामा प्रशासनिक संरचना विस्तार भएपछि तीन जिल्ला छुट्टिएका हुन् । नुवाकोटमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ३० उम्मेदवारबिच प्रतिस्पर्धा हुनेछ । क्षेत्र नं १ मा दल र स्वतन्त्र गरी १८ उम्मेदवार चुनावी मैदानमा छन् । सो क्षेत्रबाट एक मात्र महिला उम्मेदवार चेपे तामाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ मा १२ उम्मेदवार सबै पुरुष छन् । त्यसैगरी एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लाबाट दल र स्वतन्त्र गरी १२ उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये ११ पुरुष र एक मात्र महिला उम्मेदवार चित्रकुमारी भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । ‘पश्चिम १ नम्बर’ मा पर्ने अर्को जिल्ला धादिङमा दुई क्षेत्र छन् । उक्त दुई क्षेत्रबाट निर्वाचनमा दल र स्वतन्त्र गरी ४७ उम्मेदवारबिच प्रतिस्पर्धा हुनेछ । क्षेत्र नं १ बाट २३ उम्मेदवारमध्ये तीन महिला उम्मेदवार रहनुभएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ, नेपाल मजदुर किसान पार्टीकी चन्द्रदेवी वासुकला (लासिवा) र आम जनता पार्टीकी जालपादेवी रेग्मी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी क्षेत्र नं २ बाट २४ उम्मेदवारबिच प्रतिस्पर्धा हुनेछ । सो क्षेत्रबाट एकजना प्रिया भट्ट मात्र महिला उम्मेदवार रहनुभएको छ । नेमकिपाले भट्टलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको हो ।






प्रतिक्रिया