+
Search

ताजा अपडेट +

पपुलर +

अनावश्यक बिरामीलाई सिफारिस गर्दा बिमा कार्यक्रम सञ्चालनमा सकस

अनावश्यक बिरामीलाई सिफारिस गर्दा बिमा कार्यक्रम सञ्चालनमा सकस
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । स्वास्थ्य बिमित बिरामीले अस्पतालमा स्वास्थ्य उपचार गराउने झमेला व्यहोर्दै आएको गुनासो बढेपछि स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन गरेको छ । प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा निकै सास्ती व्यहोर्दै आएको अवस्थामा स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको छ । नुवाकोटमा त्रिशूली अस्पताल, खरानीटार अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ककनी र देउराली बिमामा आबद्ध रहेका छन् ।

स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामी (बिमित) लाई रिफर (प्रेषण) नगर्न निर्देशन दिएको हो । बिमित सेवाग्राहीलाई प्रेषण प्रक्रिया सहज बनाउन यस्तो निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्ल अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताउँछन् । ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बिमा ऐन हुँदा पनि बिरामीलाई रेफर गर्ने गरेको गुनासोलाई सम्बोधन गर्न बोर्डले निर्देशन दिएको हो,’ उहाँले भन्नुभयो, ‘२०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएको छ ।’ सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन निर्देशन दिएको छ । अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजु गर्दा त्यस्तो शोधभर्ना नगरिनाकासाथै त्यस्ता स्वास्थ्य संस्थाको स्वास्थ्य बिमा नियमावली २०७५ अनुसूची ८ को ४ (ग) बमोजिम सम्झौता स्थगन वा रद्द हुने बोर्डका सूचना अधिकारी मल्लले जानकारी दिनुभयो । देशभर पाँच सय १० वटा अस्पताल स्वास्थ्य बिमा बोर्डसँग आबद्ध छन् । जसबाट एक करोड नागरिकले स्वास्थ्य बिमाको सेवा लिन्छन् । दैनिक ५० हजारजनाले स्वास्थ्य बिमामार्फत सेवा लिने गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार एक महिनाको अवधिमा साढे दुई अर्बबराबरको बिमितले सेवा लिन्छन् । सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ । विसं २०७२ मा गठन भएको स्वास्थ्य बिमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो ।

बिमा कार्यक्रममार्फत पाँचजनासम्मको परिवारको रु.तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु. एक लाखबराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् । पाँचजनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य सात सयका दरले बिमा रकम थप गर्नुपर्ने हुन्छ । त्यसबापत पाँचजनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु.२० हजारदेखि रु.दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । ८० प्रतिशत भन्दा बढी बिमितले बिमाको नवीकरण गरेको बोर्डले जनाएको छ । बिमितहरूलाई एक हजार दुई सय ८४ प्रकारका औषधि बिमा रकमबाट उपलब्ध गराइन्छ । नुवाकोटको त्रिशूली अस्पताल, खरानीटार अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ककनी र देउराली बिमामा आबद्ध रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह