विदुर । निर्वाचन आयोगले जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।
जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्ने ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ र २३ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २ (ख) एवम् निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सहायक प्रजिअलाई आर्थिकबाहेकको अनुगमन गर्न जिम्मेवारी दिइएको हो । त्यस्तै, प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकहरूलाई आर्थिक विषयमा फरकफरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने निर्वाचन आयोगले बताएको छ । नुवाकोटमा निर्वाचन आचारसंहिताको केही मौखिक उजुरी मात्र आएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत हुमागाईले बताउनुभयो ।






प्रतिक्रिया