विदुर । सरकारले नेपाल प्रहरीका कर्मचारीको रासनभत्ता बढाउने निर्णय गरेको छ । अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीका कर्मचारीले रासन स्केल कम पाउँदै आएकोमा त्यसलाई समान बनाउँदै सरकारले प्रहरीले पाउने स्केल बढाएको हो । जसअनुसार समग्रमा प्रहरीले पाउने रासनभत्ता करिब १० प्रतिशतले बढेको छ ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रहरीले रासनमा पाउने चामलको मात्रा बढेको छ । हाल दैनिक प्रहरीले ६ सय ९० ग्राम चामल पाउँदै आएकोमा अब सात सय २० ग्राम पाउनेछन् । त्यस्तै, दैनिक एउटा अन्डा, २५ ग्राम कुखुराको मासु र २५ ग्राम बिस्कुट पनि थप भएको छ । त्यस्तै, सुक्खा तरकारी (गेडागुडी) दैनिक ५० ग्रामबाट ५५ ग्राम पुगेको छ । यी खाद्य सामग्री थप हुँदा रासनभत्ता करिब १० प्रतिशतले बढ्ने प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो । हाल प्रहरीले नगदमै रासन लिँदै आएका छन् । हरेक जिल्लामा रासनको दर फरक छन् । काठमाडौं उपत्यकामा हाल दैनिक रु.दुई सय एक पैसा २५ पाउँदै आएकोमा अब रु.दुई सय २१ पैसा ९१ पाउने छन् । सबैभन्दा कम रासनभत्ता झापा जिल्लामा छ । जहाँ दैनिक रू.एक सय ८० पैसा ५५ पाउँदै आएकामा अब रु. एक सय ९९ पैसा ५५ पाउने छन् । सबैभन्दा धेरै रासनभत्ता हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरीले पाउँछन् । त्यहाँका प्रहरीले दैनिक रु.आठ सय ६३ पैसा ६५ पाउँदै आएकोमा अब रु. नौ सय ५२ पैसा ३६ पाउने भएका छन् । प्रहरीले हाल दैनिक चार हजार ३० क्यालरी पाउँदै आएकोमा अब चार हजार तीन सय ६४ क्यालरी पाउनेछन् । नयाँ रासनदर फागुन १ देखि कार्यान्वयनमा आउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभयो ।
नेपाल प्रहरीले रासनमा रहेको विभेद हटाउन बारम्बार पहल गर्दै आएको थियो । जेन-जी आन्दोलनपछि प्रहरीको मनोबल बढाउन फेरि यससम्बन्धी प्रस्ताव अघि बढेकोमा बल्ल स्वीकृत भएको हो । रकम थोरै भए पनि विभेद हटेकाले यसले प्रहरीको मनोबल बढाउन सहयोग पुग्ने प्रहरी अधिकारी बताउँछन् । २४ वर्षदेखि प्रहरी कर्मचारीले रासनमा विभेद भोग्दै आएका छन् । प्रहरी र गृह मन्त्रालयको नेतृत्वको पहलपछि विभेद हटेको हो ।






प्रतिक्रिया