विदुर । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत नेपाली साझा मञ्च साउदीले नुवाकोटको एक पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नुवाकोटको विदुर-१३ स्थायी घर भई साउदी अरबस्थित एफपिआई कम्पनीमा कार्यरत पदमनारायण श्रेष्ठकी धर्मपत्नी रेखा श्रेष्ठको अल्पायुमै भएको असामयिक निधनपछि शोकमा डुबेको परिवारलाई राहतस्वरूप उक्त सहयोग उपलब्ध गराइएको हो ।
दिवंगत श्रेष्ठका एक सानो छोरा र एक छोरी रहेका छन् । पत्नीवियोगको पीडा सेलाउन नपाउँदै पदमनारायण श्रेष्ठका बुबा वेगनारायण श्रेष्ठको टाउकोमा ट्युमर देखिएपछि हाल उपचाररत छन् । परिवारमाथि एकपछि अर्को गर्दै आइपरेका पीडादायी घटनाले श्रेष्ठ परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर सङ्कटमा परेको बताइएको छ । यस कठिन परिस्थितिमा परिवारलाई केही राहत पुगोस् भन्ने मानवीय उद्देश्यका साथ साउदी अरबमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । एफपिआई साउदीमा कार्यरत कर्मचारी, नेपाली साझा मञ्च साउदीका सदस्य तथा विभिन्न क्षेत्रका शुभेच्छुकको सक्रिय सहभागितामा सङ्कलित कुल रु.एक लाख ७५ हजार पाँच सय चार पीडित परिवारलाई मानवीय सहयोगस्वरूप हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरणपछि नेपाली साझा मञ्च साउदीका अध्यक्ष अन्जान गुभाजूले सहयोग सङ्कलन तथा सहयोग प्रदान गर्ने सम्पूर्ण दाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्तो मानवीय कार्यले प्रवासमा रहेका नेपालीबिच आपसी सहकार्य, एकता र संवेदनशीलतालाई थप मजबुत बनाएको बताउनुभयो । अध्यक्ष गुभाजूले बिरामी वेगनारायणको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । प्रवासी नेपालीको सामूहिक प्रयासबाट गरिएको यो सहयोगले सङ्कटको समयमा ‘नेपालीका लागि नेपाली’ भन्ने भावनालाई पुनः सशक्त बनाएको विश्वास लिइएको छ ।






प्रतिक्रिया