+
Search

ताजा अपडेट +

पपुलर +

जाऔँ है गोसाइँथान शिवरात्रिमा

जाऔँ है गोसाइँथान शिवरात्रिमा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

धुन्चे । आगामी फागुन ३ गते मनाइने महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाउन भक्तजनले पूर्वतयारी गरिरहेका छन् । उक्त दिन आराध्यदेव पशुपतिनाथसहित देशभरिका शिव मन्दिर, शिवालयमा मेला लाग्ने गरेको छ । यस दिन रसुवाको धार्मिक पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा पनि भक्तजन पुग्ने गर्छन् । कुण्डमा अहिले हिउँ जमिरहेको छ । साक्षात् शिवको दर्शन गर्न पाइने तथा हिउँ खेल्न र हेर्न सकिने भएकाले यसवेला साहसिक पदयात्राका लागि उपयुक्त छ । चौध हजार तीन सय ७० फिटको उचाइमा अवस्थित गोसार्इँथानमा हरेक वर्ष गङ्गा दशहरा र जनैपूर्णिमाका वेला हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । अरू महिना भने धार्मिक उद्देश्यले भन्दा पनि पदयात्राका लागि आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् ।

हिन्दू तथा बौद्धमार्गीका लागि अत्यन्त महत्त्वपूर्ण शिव महापर्व आशुतोषप्रति पूजा-आराधना गरी समर्पित हुने दिन भएकाले विराजमान रहेको नीलाद्री पर्वतस्थित पवित्र कुण्ड शिलुमा जम्न लागेका हुन् । शिवरात्रिका अवसरमा विशेषगरी रसुवा जिल्लामा अवस्थित एक सय आठ कुण्डमध्येको पवित्र तीर्थ गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्ने गर्छ । समुद्री सतहदेखि करिब चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित तीर्थस्थल धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अनुपम मानिँदै आएको छ । धार्मिक मान्यताअनुसार यो देवताका पनि देवले कालकूट हलाहल विषपान गर्दा त्यसले घाँटी अत्यन्तै पोलेका कारण गोसाइँकुण्डमा विराजमान रहनुभएको पवित्र कुण्ड हो । शिवरात्रिका दिन यहाँ स्नान, पूजा र आराधना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको विष शिवले ग्रहण गरी सम्पूर्ण प्राणी जगत्को रक्षा गर्नुभएको थियो । जीवनमा सके तीन र नसके कम्तीमा एकपटक भए पनि नीलकण्ठको दर्शन गर्नुपर्ने उल्लेख हिमवत्खण्डमा गरिएको छ जसले यसको धार्मिक महत्त्वलाई थप पुष्टि गर्छ ।

काठमाडौँबाट रसुवाको धुन्चेसम्म सवारीसाधनमार्फत यात्रा गरी त्यहाँदेखि तिवारी बगर, खन्ती, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक हुँदै पवित्र तीर्थस्थल पुग्न सकिन्छ । धुन्चेबाट उकालो यात्रा सुरु भएपछि लौरीविनायकभन्दा माथि लेक लाग्ने भएकाले चन्दनबारीमा एक रात विश्राम गरी कुण्डतर्फ लाग्दा यात्रा सहज हुने होटेल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो । गोसाइँकुण्डमा विशेष गरी जनैपूर्णिमा र गंगादशहरामा ठुलो मेला लाग्ने भएकाले हजारौँ भक्तजन स्नान गर्न पुग्ने गर्छन् । गोसाइँकुण्ड मेलाका समयमा धार्मिक यात्रुको सुरक्षार्थ विशेष सुरक्षाकर्मी तयार गर्ने गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो । पछिल्ला वर्षमा भने विसं २०७२ को भूकम्पपछि नयाँ पुस्ताका भक्तजन बाह्रै महिना गोसाईँकुण्ड पुग्न थालेका छन्, जसले धार्मिक पर्यटनलाई निरन्तरता दिएको छ । शिवचतुर्दशीजस्तो ठुला पर्वका अवसरमा नीलाद्री पर्वत पुगेर गोसाईँ बाबाको दर्शन गर्नुपर्ने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले सुझाव दिनुभयो । गोसाइँकुण्ड यात्रा सहज बनाउन नमस्ते पासाङल्हामु यातायात प्रालिले आवश्यक यात्रुवाहक सवारीसाधनको व्यवस्था गर्दै आएको छ । साना सवारीसाधन नुवाकोटका शिवपुरी, ढिकुरे, विदुर हुँदै तथा ठुला सवारीसाधन काठमाडौँका माछापोखरी-नागढुङ्गा भई धादिङको गल्छी एवम् नुवाकोटको त्रिशूलीमार्ग हुँदै धुन्चे पुग्ने गर्छन् । लौरीविनायकको उकालो यात्रा गर्न असमर्थ भक्तजनका लागि हवाईमार्गबाट हेलिकोप्टर सेवासमेत उपलब्ध गराइँदै आएको सेवा सञ्चालकले बताएका छन् ।

नेपालमा रहेका अधिकांश हेलिकोप्टर कम्पनीले महाशिवरात्रि तथा अन्य धार्मिक पर्वका अवसरमा धार्मिक उडान भर्दै आएका छन् । कुण्डका डिलमा सिम्रिक एयर कम्पनीले शङ्करको एक मूर्ति स्थापना गरेका कारण पूजाआजामा आफूहरूलाई सहज भएको त्यहाँ पुग्ने भक्तजनले बताउने गरेका छन् । कुण्डमा स्नान तथा पूजाआराधना गरेमा शरीरका रोगव्याधि हट्ने जनविश्वास रहँदै आएको छ । यही धार्मिक आस्थाका कारण गोसाईँकुण्ड केवल तीर्थस्थल मात्र नभई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्रका रूपमा समेत परिचित छ । बरफको जोखिम यतिवेला कुण्डमा पानी जमेर बरफ बनेको अवस्था रहेकाले भक्तजनले थप सतर्कता अपनाउनु आवश्यक छ । बरफमाथि हिँड्दा फुटेर कुण्डभित्र खस्ने जोखिम रहनाका साथै धार्मिक मर्यादा र पवित्रतामा समेत आँच पु¥याउने खतरा रहेको छ । रामसार सूचीमा सूचीकृत गोसाइँकुण्डको संरक्षण सबैको साझा दायित्व भएको स्थानीय तहको भनाइ छ । कुण्डको नामकरण गरिएको गोसार्इँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले दहमाथि हिउँ खेल्ने वा हिँड्ने निहुँले शिव विराजमान स्थानमा नटेक्न सम्पूर्ण भक्तजनलाई आग्रह गर्नुभयो ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको कुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारको भनाइ छ । पहिला-पहिला हिँडेर जानुपर्ने क्षेत्रमा पूर्वाधारको विकाससँगै अहिले काठमाडौँको माछापोखरीदेखि यातायात सेवा सञ्चालनमा रहेकाले यो वा त्यो बहानामा साना सवारीसाधनले बढी भाडा असुल्ने भएकाले सबै यात्रुले सजगता अपनाउनुपर्ने सामाजिक अभियानकर्मीले बताएका छन् । चिसो मौसम भएकाले तातो लुगाका साथै कागती, अदुवा, सातु, सामल र केही चिकित्सीय औषधिसमेत साथमा लिई जान उपयुक्त र लाभदायक हुने स्थानीय बासिन्दाले बताएका छन् । गोसाईँथान जाने भक्तजनको सुविधालाई ध्यानमा राखी बागमती प्रदेश, भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरुयोजनाअन्तर्गत पूर्वाधार निर्माणका काम अगाडि बढाइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाइँकुण्ड जाँदा कुण्डमा स्नान गर्दा भिजेको लुगा र आफूबाट उत्पन्न कुनै पनि फोहोर जथाभावी नफ्याँक्न, पैदलमार्गमा देखापर्ने रातो हाब्रेलगायत वन्यजन्तुमाथि नोक्सान नपुर्याउन र लौराका नाममा जङ्गलका कुनै वनस्पति नकाट्न सबै भक्तजनसमक्ष वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह