+
Search

ताजा अपडेट +

पपुलर +

‘नागरिकको अपेक्षा, जिम्मेवार पत्रकारिता’ माथि नुवाकोटमा बहश

‘नागरिकको अपेक्षा, जिम्मेवार पत्रकारिता’ माथि नुवाकोटमा बहश
त्रिशूली प्रवाह
४ दिन अगाडी

विदुर । पत्रकारिता जगत्ले नागरिकको अपेक्षा पूरा गर्न नसकेको भन्दै सञ्चार क्षेत्रका विज्ञहरूले मूलधारको पत्रकारितालाई नागरिकको समस्यातर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार सम्पादक समाज नेपालद्वारा नुवाकोटको विदुरमा आयोजित ‘नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता’ सम्बन्धमा आयाजित कार्यक्रममा मूलधारको पत्रकारिताले जनस्तरको समस्यालाई उठान गर्न सके मात्र लोकतन्त्र सबलीकरण हुने विश्वास व्यक्त गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारले बाटो बिराउँदा खवरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन र न्यूनीकरणका लागि सम्पादक समाजले गर्ने अभियानमा नगरपालिकाले समन्वय, सहकार्य र सहयोग गर्ने वचनबद्धता ब्यक्त गर्दै आगामी निर्वाचनमा भयरहित र निष्पक्ष निर्वाचनका लागि पत्रकारको अहँम भूमिकाको अपेक्षा समेत गर्नुभएको छ । सम्बोधनको क्रममा उहाँले भन्नुभयो, ‘‘पत्रकारिताले राम्रा र नराम्रा दुवै पक्षको सूचना सम्प्रेषण गर्नुपर्छ, पत्रकारितालाई समाजसँग जोड्नुपर्छ ।’’ मोफसलको पत्रकारिताले स्थानीय पर्यटन, संस्कृति, पूर्वाधारलाई प्राथमिकता दिएमा नुवाकोटको आर्थिक तथा धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास समेत व्यक्त गर्नुभयो । पत्रकारितामा बढ्दो विकृति, बिसङ्गती, गैर जिम्मेवारीपन, नियमक निकायका उपेक्षा, पत्रकार पलायन, नवपत्रकारको प्रवेशमा न्यूनतालगायतका विषयमा अन्तरक्रियामा छलफल भएको थियो ।

नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यममा आबद्ध रहेका सञ्चारकर्मी र केन्द्रमा रहेर पत्रकारितामा आबद्ध सञ्चारकर्मीबिच भएको अन्तरक्रिया कार्यक्रममा पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखि प्रशिक्षण दिँदै आउनुभएका अग्रज पत्रकार तोया गौतमले पत्रकारिता क्षेत्रबाट नागरिकले गरेका अपेक्षा र पत्रकारिता क्षेत्र किन जिम्मेवार हुन सकेन र पत्रकारिता जगत कहाँ चुक्दै छ भन्ने विषयमा प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । संसारभर लोकतन्त्र किन कमजोर हुँदैछ भन्ने प्रसङ्गको चर्चा गर्दै पत्रकार गौतमले डिजिटल मिडियाको प्रभाव सामाजिक सञ्जाल र अनलाइनको बाहुल्यका कारण ठूला मिडियामा विज्ञापनमा सङ्कुचन, वितरणमा कमी र आर्थिक सङ्कट बढ्दै गएको उल्लेख गर्नुभयो । मोफसलका सञ्चारकर्मीले आम सञ्चारका सामाजिक सञ्जालबिचको अन्तर पाठक तथा दर्शकले छुट्याउन नसक्दा पत्रकारिता पेशा चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो । कसले के भन्यो मात्रै पत्रकारिता होइन भन्दै पत्रकार गौतमले जनचाहना अनुरूप, जिम्मेवार र जवाफदेही पत्रकारिता हुनुपर्नेमा त्यसो नभई रहेको वास्तविकता प्रष्ट्याउनुभएको थियो । लोकतन्त्रको मेरूदण्ड पत्रकारिता हो भन्दै गौतमले पत्रकार र पत्रकारिता क्षेत्र सङ्कटमा पर्नु भनेको लोकतन्त्र धरापमा पर्नु हो भन्दै यो क्षेत्र असफल पनि भई नसकेको जानकारी गराउनुभयो ।

सामाजिक सञ्जाल पत्रकारिता होइन भन्दै गोरखापत्र दैनिकका सम्पादक एवं सम्पादक समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले मिडिया साक्षरता बुझेका मात्रै पत्रकार हुन सक्छ भन्दै नागरिकको अपेक्षालाई राज्यको नीतिसँग जोड्ने कसीको रूपमा पत्रकारिता हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारसँग श्रोत, साधन पनि छ र यहाँ समस्या पनि छ भन्दै समाजका महासचिव श्याम डोटेलले स्थानीयस्तरबाट पत्रकारिता गरिरहेका पत्रकार र मिडियाको संरक्षण तथा प्रशिक्षण गर्ने दायित्व पनि स्थानिय सरकारकै भएको बताउनुभयो । भाइरल हुँदैमा सबै समाचार सत्य हुँदैन भन्दै महासचिव डोटेलले प्रविधिले ल्याएको विकासलाई आत्मासाथ गर्दै गलत प्रवृत्तिका समाचार र अफबाहको पछि पत्रकार तथा सञ्चार माध्यम लाग्न नहुनेमा जोड दिनुभयो । सम्पादक समाजका अध्यक्ष पुरू रिसालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा पत्रकारिता क्षेत्रमा चासो राख्ने नुवाकोट जिल्लाभित्रका करिव ५० जना बढीको सहभागिता थियो । अन्तरक्रियामा पत्रकार महासङ्घ नुवाकोट शाखाका उपाध्यक्ष जगदीश खनाल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपभोक्त मञ्चका प्रतिनिधी, नागरिक अगुवा तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।

अन्तरक्रियामा सहभागीले नागरिकको प्रश्न मरेको छैन भन्दै पत्रकारले नागरिकको इस्यू उठाउनुको साटो आफै इस्यू बनाउने गरेको तितो यथार्थ पस्कनुभएको थियो । साथै, नुवाकोटमा कार्यरत पुराना पत्रकार पलायन हुँदै गएको र नयाँ पत्रकार यो क्षेत्रमा आउन नचाहनु दुःखद भएको, स्थानीय निकाय स्थानीय मिडियामैत्री नभएको, देखेका समाचार पनि लेख्न छोडेको, खोजमुलक समाचारलाई मेहेनत नगरेको, समाचारमा जवाफदेहिता हराउँदै गएकोलगायतका विषय सहभागीले उठाएका थिए । कार्यक्रम संयोजक ध्रुवकुमार रावलले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा समाजका संरक्षक किरण वैध, न्युज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह