+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन प्रहरीका दुई हजार घरपरिवारमा रु.नौ करोड

निर्वाचन प्रहरीका दुई हजार घरपरिवारमा रु.नौ करोड
त्रिशूली प्रवाह
४ दिन अगाडी

विदुर । आसन्न संविधानसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीमार्फत नुवाकोटका सर्वसाधारणका घरपरिवारमा रु.नौ करोड पुग्दै छ । फागुन २१ गते निर्वाचनका लागि सरकारले नुवाकोटका एक हजार नौ सय १७ सहित ७७ वटै जिल्लामा डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिसकेको छ ।

नुवाकोटमा भर्ना गरिएका निर्वाचन प्रहरीमा सशस्त्र प्रहरी बलतर्पm पुरुष एक सय ३२, महिला ४७ सहित जम्मा एक सय ७९ र नेपाल प्रहरीतर्पm पुरुष एक हजार एक सय ८५, महिला पाँच सय ५३ सहित जम्मा एक हजार सात सय ३८ भर्ना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कृष्णप्रसाद हुमागाईंले जानकारी दिनुभयो । निर्वाचन प्रहरीमा भर्नाका लागि गत पुस २५ देखि माघ ३ गतेसम्म आवेदन खुलाइएको थियो । निर्वाचन सुरक्षार्थ सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानसँगै निर्वाचन प्रहरी खटिने सुरक्षा योजनाअनुसार जिल्लामा संयुक्त सुरक्षा गस्ती भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीका लागि प्रतिव्यक्ति प्रतिदिन रु.आठ सय ६९ पैसा ४० को दरले एकजनाले ४० दिनको एकमुस्ट रु.३४ हजार सात सय ७६ पाउँछन् । पोसाक र दैनिक रासन भत्ता पनि पाउँछन् । रासन र भत्ता प्रतिव्यक्ति रु.१० हजार रहेको छ । मतदानअघि र पछिका चार दिनलाई प्रतिव्यक्ति तीन सयका दरले एकमुस्ट रु.१२ सय पनि उपलब्ध गराइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, खटिएका ठाउँमा जान र फर्कन यातायात खर्च प्रतिव्यक्ति रु.आठ सय ४६ पाउँछन् । यसरी सबै खर्च जोड्दा निर्वाचन प्रहरीले सुरक्षाका लागि ४० दिन राष्ट्रको सेवा गरेर रु.४६ हजार आठ सयको दरले प्राप्त गर्ने रकमले नुवाकोटका बेरोजगार रहेका परिवारको लागि आर्थिक भरथेग गर्ने विदुर–४ का पूर्वअध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला शाखा नुवाकोटका अध्यक्षसमेत रहनुभएका श्रेष्ठ निर्वाचन प्रहरीलाई केवल चुनाव सुरक्षाका लागि भर्ना भएका आवधिक सुरक्षाकर्मीका रूपमा मात्र हेर्न नहुने बताउनुहुन्छ । आर्थिक आय–आर्जन/रोजगारी, अनुशासित फौज उत्पादन, राष्ट्र सेवा, समाजसेवालगायत धेरै पक्षबाट हेरिनुपर्ने उहाँको बुझाइ छ । उहाँ भन्नुहुन्छ, ‘भोलिका दिनमा सामाजिक अपराध रोकथाम तथा नियन्त्रण र सरकारी संयन्त्र–नागरिक तह सेतुका रूपमा रहेर पनि निर्वाचन प्रहरीलाई सदुपयोग गर्न सकिन्छ ।’ निर्वाचन प्रहरीमा भर्ती र सेवालाई अनेक पक्षबाट मूल्याङ्कन गरिनुपर्ने श्रेष्ठ ठान्नुहुन्छ । ‘पहिलो, देशमा बेरोजगार जनशक्तिको एउटा सतही सूचकका रूपमा यो सङ्ख्यालाई हेर्न सकिन्छ, दोस्रो, छोटै समय भए पनि राज्यबाट प्राप्त रोजगारीको अवसर हो, तेस्रो, देशको सेवा गर्ने मौका हो, चौथो, समाजमा अनुशासित जनशक्तिको विकास हो र पाँचौँ भनेको डेढ लाख जनशक्तिका परिवारले रु.८/१० अर्ब परिचालन गर्ने अवसर पाएको छ,’ उहाँ भन्नुहुन्छ, ‘विदेशमा सुरक्षागार्डका रूपमा काम गर्न जाने अवसर पाउँदा सरकारमातहतको निर्वाचन प्रहरीमा काम गरेको प्रमाणपत्रले ठुलो मान्यता राख्छ ।’ ‘समाजमा अपराध हुँदा प्रहरीले थाहा पाएको रहेनछ भने निर्वाचन प्रहरीका रूपमा काम गरेका जनशक्तिमार्फत सूचना लिन सकिन्छ, समाजमा झैझगडा हुन नदिन, अपराध रोकथाम र नियन्त्रण गर्न अपनाइने उपायमा पनि परिचालन गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘एकपटक राष्ट्रसेवा गरिसकेको जनशक्तिलाई देशप्रतिको मायाले सधैँ सोच्न बाध्य पार्छ, यो जनशक्ति अनुशासित फौजका रूपमा रहन सक्छ, यसलाई भिजनसहितको कार्यक्रम ल्याएर सदुपयोग गर्न सकिन्छ ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ मा हुन लागिरहेको निर्वाचनमा ‘निर्वाचन प्रहरी’को भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नुवाकोटमा निर्वाचन सुरक्षा एवम् निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था बुझ्न शनिबार जिल्ला आउनुभएका अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन प्रहरीको भूमिका प्रमुख सुरक्षा निकायसरह रहने बताउनुभएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चलिरहेको निर्वाचन प्रहरीको तालिम अवलोकनपश्चात् उहाँले भन्नुभयो, ‘स्वयम्सेवकको रूपमा हुने जिम्मेवारी भए पनि निर्वाचन प्रहरीको व्यवहार, कार्यशैली र आचरणबाट मतदातालाई संयमित र जिम्मेवार बनाउन सहयोग पुग्दछ ।’ निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निष्पक्ष रूपमा निर्वाचन गराउन सहयोग पुग्ने भएकाले जिम्मेवार भई उच्च मनोबलको साथ सेवा पु¥याउन गृहमन्त्री अर्यालले निर्देशन दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह