विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालू आर्थिक वर्षको ६ महिनामा रु. ११ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले उक्त राजस्व कसुरअनुसारको कारबाही तथा राजस्व शीर्षकमा सङ्कलन गरेको हो । कारबाहीबाट चालू आवको साउनमा रु.एक लाख ९८ हजार, भदौमा रु.दुई लाख ३० हजार, असोजमा रू.एक लाख ५७ हजार पाँच सय, कात्तिकमा रु.एक लाख ७६ हजार पाँच सय, मङ्सिरमा रु.एक लाख ९३ हजार पाँच सय र पुसमा रु. एक लाख ९७ हजार पाँच सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिनुभयो ।
यस अवधिमा ट्रक, बस, कार, जिप, भ्यान, ट्र्याक्टर, मोटरसाइकल/स्कुटर र अन्य गरी एक हजार १२ सवारीसाधन कारबाहीमा परेका छन् । सबैभन्दा बढी तीन सय ७४ ट्रक रहेको छ । यो अवधिमा मापसे गर्ने १६, रुट/परमिट नभएको ९६, ओभरलोडमा एक सय ३७, सिट बेल्ट/हेलमेट नभएको ४४, कागजपत्र साथमा नभएका एक सय १९, सवारीचालक अनुमतिपत्र नभएका एक सय ६२, बत्तीको अवस्था ठिक नभएको ३९, तीव्रगति हाँकेका दुई, प्रयोजनविपरीत छतमा लगेज राखेका ५४, सिट क्षमताभन्दा बढी यात्रु राखिएका २८ र अन्य कारबाहीमा ३१ सवारीसाधन परेका छन् । जिल्लामा ढिकुरे, छहरे, गुज्रे, तारुकाघाट, खरानीटार, ककनी, ओखरपौवा र जिल्ला ट्राफिक कार्यालय विदुरमा सहित २२ जना कार्यरत रहेका छन् । जिल्लामा पछिल्लो केही वर्षदेखि सवारी चाप बढिरहेको भए पनि ट्राफिक जनशक्ति न्यून र सीमित स्रोत–साधनको बाबजुद पनि ट्राफिकको कार्य र सक्रियताले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना उल्लङ्घन गर्नेको सङ्ख्यामा कमी आइरहेको नुवाकोट नागरिक समाजका वसन्त रिजालले बताउनुभयो ।






प्रतिक्रिया