विदुर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा प्रचार गर्न नपाउने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताबारे अघिल्लो हप्ता गरेको सर्वपक्षीय छलफलका क्रममा स्थानीय कार्यपालिका र त्यसका सदस्यलाई निर्वाचन आचारसंहिता लागू हुने स्पष्ट पारेको हो ।
गाउँ कार्यपालिका वा नगर कार्यपालिका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार-प्रसारको काममा संलग्न हुन सक्ने निर्वाचन आचारसंहितामा उल्लेख रहेको छलफलको क्रममा जानकारी गराइएको थियो । निर्वाचन प्रचार-प्रसारमा संलग्न हुने स्थानीय कार्यपालिकाका पदाधिकारीले सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख रहेको जानकारी दिइएको थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले निर्वाचन आचारसंहिता नैतिकताको विषय भएकाले आगामी निर्वाचनमा भयरहित वातावरणमा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सबैको साथ, सहयोगको अपेक्षा राख्नुभएको छ । विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले निर्वाचनलाई सहज बनाउन र आवश्यक सामग्रीका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता रहेको बताउनुभयो । ‘हामी स्थानीय सरकार हौँ, निर्वाचनको हरेक गतिविधिमा जिम्मेवार छौँ, निर्वाचन सम्पन्न गराउनका लागि भौतिक, नैतिक समर्थन गर्न हामी तयार छौं,’ उहाँले भन्नुभयो । निर्वाचन आचारसंहिता पूर्णपालना गर्ने प्रतिबद्धता जाहेर गर्दै उहाँले निर्वाचन सम्पन्न गर्नका लागि स्थानीय सरकारसँग भएको स्रोत-साधन र जनशक्ति परिचालन गर्न तयार रहेको जानकारी दिनुभयो । जिल्लामा १२ पालिका र ८८ वडा छन् । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको नेतृत्वको जिल्लामा सुरक्षा निकायका प्रमुख संलग्न टोलीले मतदान केन्द्र र स्थलको अनुगमन निरीक्षण गरी स्थानीय पालिका र वडाका जनप्रतिनिधिसँग छलफल गरी सहयोग गर्ने प्रतिबद्धता लिइरहेको छ ।






प्रतिक्रिया