धुन्चे । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रसुवा र नुवाकोटका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका लागि एकदिने कार्यशाला गोष्ठी माघ २३ गते सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको सहकार्यमा कालिका–२, कालिकास्थानमा भएको उक्त कार्यक्रम ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’सम्बन्धी कार्यशाला विपत्का समयमा सूचना प्रवाहलाई थप जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले रसुवा र नुवाकोटमा क्रियाशील पत्रकारको सहभागितामा भएको थियो ।
कार्यक्रममा विपत् पत्रकारिता सञ्जालका केन्द्रीय सचिव देवी सापकोटाले आफू सुरक्षित रहेर जनतालाई सुसूचित गर्न विपत्को वेला मानवीय समवेदना र पत्रकारिता आचारसंहिताको पूर्णपालना गर्दै तथ्यपरक समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल सञ्चारमाध्यममा कार्यक्रमकेन्द्रित समाचारले बढी प्राथमिकता पाइरहेको छ, अबका समाचार विपत्का वास्तविक जोखिम र नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्छ ।’ कार्यशालामा मौसम पूर्वानुमान, पूर्वकार्यको अवधारणा र विपत् संवेदनशील सामाजिक सुरक्षालगायतका विषयमा गहन प्रस्तुतीकरण र छलफल गरिएको थियो । सहभागी सञ्चारकर्मीलाई विपत्का घटना हुनुअगावै प्राप्त हुने सूचनालाई कसरी सर्वसाधारणसम्म पु¥याउने र घटनापश्चात् कसरी संवेदनशीलता अपनाउने भन्ने विषयमा प्रस्ट पारिएको थियो ।
कार्यक्रम प्रतिबद्ध, विपत् पत्रकारिता सञ्जाल, सामुदायिक आत्मनिर्भरता केन्द्र, युरोपियन युनियन, पिपुल इन निड, एसडब्लुएन र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । आत्मनिर्भर केन्द्रका गोपाल बस्नेतलगायत प्रतिबद्ध परियोजनाका सहजकर्ताले सहजीकरण गर्नुभएको थियो । कार्यशालाले रसुवाजस्तो विपत्को जोखिम रहेको जिल्लामा कार्यरत पत्रकारको कार्यक्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको महासङ्घका अध्यक्ष केशवप्रसाद पौडेलले बताउनुभयो ।






प्रतिक्रिया