+
Search

ताजा अपडेट +

पपुलर +

‘विद्यार्थी दुर्घटना बिमा कार्यक्रम’ बाट विदुरका १२ विद्यार्थी लाभान्वित

‘विद्यार्थी दुर्घटना बिमा कार्यक्रम’ बाट विदुरका १२ विद्यार्थी लाभान्वित
त्रिशूली प्रवाह
२ दिन अगाडी

विदुर । विदुर नगरपालिकाद्वारा सञ्चालित ‘विद्यार्थी दुर्घटना बिमा कार्यक्रम’ मार्फत तीनजना बिमित विद्यार्थीले बिमा दाबी भुक्तानी प्राप्त गरेका छन् । विद्यार्थी दुर्घटना बिमा कार्यक्रममा समावेश भई दाबी गरेका तीनजना विद्यार्थीलाई सम्बन्धित बिमा कम्पनीबाट प्राप्त बिमा दाबी रकम सम्बन्धित विद्यालयका प्रतिनिधिलाई विदुरका नगर प्रमुख राजन श्रेष्ठले प्रदान गर्नुभएको थियो ।

विद्यालय जीवनमा सम्भावित दुर्घटनाका कारण विद्यार्थी तथा अभिभावकमा पर्न सक्ने आर्थिक र मानसिक बोझ कम गर्दै, उपचार खर्च व्यवस्थापनमा सहयोग पुयाउने र विद्यार्थीलाई निरन्तर शिक्षामा संलग्न रहन प्रेरित गर्न विदुर नगरपालिकाले ‘विद्यार्थी दुर्घटना बिमा कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रममा समावेश तीन विद्यार्थीलाई नगरपालिकाले गत बिहीबार बिमा दाबी भुक्तानीबापतको रकम उपलब्ध गराएको हो ।
बिमा दाबी भुक्तानी प्राप्त गर्नेहरूमा बच्छलादेवी माध्यमिक विद्यालयका समिप खतिवडा, सहिद जगतप्रकाशजंग शाह संस्कृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी कञ्चन तामाङ र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयकी युनिका तामाङ रहेका छन् । युनिकालाई रु.एक लाख, समिपलाई रु.५४ हजार र कञ्चनलाई रु. पाँच हजार आठ सय ५० प्रदान गरेको नगरपालिकाले जनाएको छ । विद्यार्थी दुर्घटना बिमा कार्यक्रममा सहभागी तीन विद्यालयका प्रतिनिधिलाई नगर प्रमुख श्रेष्ठले सम्बन्धित बिमा कम्पनीबाट प्राप्त बिमा दाबी रकम प्रदान गर्नुभएको हो ।

विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले ‘विद्यार्थी दुर्घटना बिमा कार्यक्रम’ ल्याएको नगर प्रमुख श्रेष्ठले बताउनुभएको छ । विभिन्न कारण विद्यार्थी दुर्घटनामा परेको खण्डमा बिमा दाबी भुक्तानीका लागि समयमा नै प्रक्रिया पूरा गरेर नगरपालिकासँग समन्वय गर्न विद्यालयलाई नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ । यसअघि यस कार्यक्रमबाट नौजना विद्यार्थी लाभान्वित भइसकेका छन् ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह