स्वतन्त्र उम्मेदवार भन्ने तर आफैँ दलका उम्मेदवारका प्रचारमा हिँड्नेले चाइन्जो भोलि फेरि मतदाता, जनता, मिडियासामु मुख देखाउनुपर्ने हो कि नाइँ ? न्वाँकोटको एक नम्बरमा झन्डै आधा दर्जन उम्मेदवार त आफ्ना लागि भन्दानि आफूलाई उठाइदिने घाम, रूख र घन्टीका पक्षमा खुल्दै गएसि चुनाव जित्ने यो पनि एक तरिका रेछ भनी बुझ्नलाई तिनआँखेलाई गारो परेन । चाइन्जो चुनाव खर्च बढाउन पाइने, गाडी थप्न पाइने यस्तो चलन पञ्चायतकालमा नि भएकै हो, त्यही देखासिकी अहिले गरे त के भो ? ‘डमी’ को लर्को लगाएर खर्चको सीमा छल्न खुला विज्ञापन भइरहेको निर्वाचन अधिकृतले चाल पाए कि पाएनन्, कुन्नि ! त्यस्ता प्रोक्सी उम्मेदवारले भोलि शून्य भोट पाउने कारण त यो पो रेछ चाइन्जो ! अर्काको खेताला भएसि ज्यालामा मात्र मतलब हुने भो, भोटको छु मतलब ? उम्मेदवार पनि आफूलाई कत्ति न स्वच्छ, इमानदार भन्दा हुन्, त्यस्तालाई चाइन्जो मजासँग लोप्पा ख्वाइदिनुपर्छ है न्वाँकोटवासी हो ! एउटा उम्मेदवार बातैपिच्छे दाइको नाम लिने, अर्काे तादी र लिखु थुुनेर माछा पाल्ने र झन् अर्काे रोनाल्डोलाई न्वाँकोटको पानी खुवाएर धनी हुने सपना देखाउने परेका देखेर मतदाता हाँसेर छुट्टी छ । अर्का एकजना त मन्दिरतिर धाएर पुजारीसँग आशीर्वाद माग्ने गरेको देखेर यहाँका जनता मूर्तिले नै जिताइदिने हुन् कि क्या हो भन्दै गफ चुटेर पो बसेका छन् बा, चाइन्जो !






प्रतिक्रिया