पिपलटार । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय विदुर-५, देवीघाट चालू आवको ६ महिनामा ३५ हजारभन्दा बढीलाई सीमित स्रोत र साधनबिच सेवा प्रदान गर्न सफल भएको छ । अघिल्लो बिहीबार पत्रकार छलफल कार्यक्रममा जनाइएअनुसार साउनदेखि पुस मसान्तसम्ममा १९ हजार आठ सय ३६ महिला र १५ हजार ६ सय २० पुरुष गरी ३५ हजार चार सय ५६ जनाले सेवा लिएका छन् । सेवा लिनेमा पुरुषभन्दा महिला चार हजार दुई सय १६ बढी छन् ।
निःशुल्क र नजिक स्वास्थ्य संस्था भएकाले सेवा लिने महिलाको सङ्ख्या बढेको कार्यालय प्रमुख कन्सल्टेन्ट आयुर्वेदविज्ञ डा.नरेन्द्रप्रसाद गिरीले बताउनुभयो । महिलाहरू टाढा सेवा लिन जान र शुल्क तिर्न नसक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा आउने गरेकोसमेत उहाँले बताउनुभयो । चिकित्सालयको तथ्याङ्कअनुसार बहिरंग सेवा नौ हजार चार सय ३६, मानस रोग सेवा २१, पूर्वकर्म सेवा नौ हजार दुई सय १६, पञ्चकर्म सेवा आठ सय सात, अकुपंचर सेवा तीन हजार ३८ र प्याथोलोजी ल्याब सेवा चार हजार तीन सय १७ जनालाई प्रदान गरिएको छ । चिकित्सालयबाट पछिल्लो ६ महिनामा अन्तरंग सेवा ४७, जीवनशैली परामर्श दुई सय ५९, रक्षासूत्र सेवा तीन, अग्निकर्म एक सय ९८, स्तनपायी आमा एक सय १६, योग (उपचारात्मक) सात सय ५८ र मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट चार सय २७ जनाले सेवा लिएका छन् । त्यस्तै, दुई हजार पाँचजना ज्येष्ठ नागरिकले चिकित्सालयबाट सेवा लिएका छन् भने चिकित्सालयले चार हजार सय आठजनालाई औषधि वितरण गरेको कार्यालय प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो ।
जिल्लामा विसं २०५३ मा स्थापित चिकित्सालयले उपचारात्मक, लक्षित वर्गलाई विशेष, जनचेतनामूलक, प्रचारप्रसार सेवा प्रदान गर्नाका साथै नियामक भूमिका निभाउँदै आइरहेको छ । जिल्लाका म्यागङ-५, किस्पाङ- ३, दुप्चेश्वर- ६, शिवपुरी-५ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । ककनी, पञ्चकन्या र सूर्यगढी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाको चरणमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख गिरीले जानकारी दिनुभएको छ । तादी गाउँपालिका-४, ३, ५, लिखु गाउँपालिका-१, ६, तारकेश्वर गाउँपालिका-३ र बेलकोटगढी नगरपालिका-१ मा आयुर्वेद औषधालय सञ्चालन भइरहेको छ ।
चिकित्सालयलाई प्राप्त बजेटमध्ये करिब ४६ प्रतिशत खर्च भइसकेको छ । पछिल्लो समय मानसिक रोगको सेवा सुरुवात गर्नुका साथै नाक, कान, घाँटी, आँखा तथा मुख रोगको विशेषज्ञ सेवा चिकित्सालयमा थप गरिएको छ । चिकित्सालयलाई २५ शय्याको स्वीकृत रहे तापनि हाल १० शय्या मात्रै सञ्चालनमा रहेको सूचना अधिकारी वैद्य निरीक्षक नारायणप्रसाद वस्तीले जानकारी दिनुभयो ।






प्रतिक्रिया