+
Search

ताजा अपडेट +

पपुलर +

मौसमले साथ नदिँदा गोसाईँकुण्ड तीर्थयात्रा प्रभावित हवाई र पैदलमार्गबाट पुगे सयजना

मौसमले साथ नदिँदा गोसाईँकुण्ड तीर्थयात्रा प्रभावित हवाई र पैदलमार्गबाट पुगे सयजना
त्रिशूली प्रवाह
४ महिना अगाडी

धुन्चे । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व वैदिक, सनातनी हिन्दु धर्मावलम्बीले आइतबार बिहानदेखि देशभरिका कुण्ड, तलाउ र शिव मन्दिरमा पूजा-आराधना गरेर मनाएका छन् । सो दिन रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा रहेको  गोसाईँकुण्डमा पनि हेलिकोप्टर र पैदलयात्राबाट झन्डै सयजना भक्तजन पुगे । प्रतिकूल मौसमका कारण यस वर्षको शिवरात्रिमा पवित्र तीर्थस्थल गोसाईँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भए ।

Utsuk Books & Stationery

शिवरात्रिका दिन बिहान ११ बजेसम्म प्रभु एयर, अल्टिच्युड एयर, सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेतका हेलिकोप्टर ५० भन्दा बढी तीर्थयात्री कुण्ड पुर्याएर फर्केका थिए । लौरीविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि ११ बजेदेखि हवाई सेवा अवरुद्ध हुँदा आवागमनमा समस्या आएको स्थानीय होटेल व्यवसायी सुब्बा लामाले बताउनुभयो । स्थानीय व्यवसायीका अनुसार अचानक मौसम बिग्रिएपछि कुण्ड जाँदै गरेका तीन हेलिकोप्टर चन्दनबारीको आकाशबाटै फर्किएका थिए । प्रभु र अल्टिच्युड एयरका उडान अवरुद्ध भई यात्रु सुरक्षित रूपमा काठमाडौँ फर्काइएको जनाइएको छ । हेलिकोप्टर कम्पनीको विवरणअनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका थिए । तीमध्ये केही कम्पनीका हेलिकोप्टर तेस्रो उडानपछि बिहान ११ बजेपछि मात्र रोकिएका थिए भने केही कम्पनीका हेलिकोप्टरले बिहानै उडान सामान्य रूपमा सञ्चालन गरे । उक्त दिन पैदलयात्राबाट जाने लगभग ४० जना कुण्ड पुगेर सकुशल फर्केको लामाले बताउनुभयो । गोसाईँकुण्डको जल निकासनजिक सिम्रिक एयरले निर्माण गरेको शिव मन्दिरमा सो दिन कम्पनीकै तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा-आराधना सम्पन्न भएको रसुवाका ज्येष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपानेले जानकारी दिनुभयो । कम्पनीका कार्यकारी निर्देशक विष्णु बस्नेतको अगुवाइमा पुरोहित ऋषिकेश भट्टराईसहितको टोलीले कुण्ड र मन्दिरपरिसरमा विशेष पूजा गरेको उडान व्यवस्थापक रवि पोखरेलले बताउनुभयो ।

पवित्र कुण्डमा स्नान गरी शिवको पूजा-आराधना गरेमा रोगव्याधि हट्ने, सुखशान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ । सो पर्वमा पैदलयात्रा गरेर पनि केही पर्यटक कुण्ड पुगेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । एक हप्तादेखि कुण्डमा पानी जमेर बरफ बनेकाले भक्तजनलाई थप सतर्कता अपनाउन कुण्डको नामकरण गरिएको गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले सूचना नै जारी गर्नुभएको थियो । बरफमाथि हिँड्दा फुटेर कुण्डभित्र खस्ने जोखिम रहनुका साथै धार्मिक मर्यादा र पवित्रतामा समेत आँच पुर्याउने खतरा हुने बताइएको छ । रामसार सूचीमा सूचीकृत गोसाईँकुण्डको संरक्षण सबैको साझा दायित्व भएको स्थानीय तहको भनाइ छ । पालिकाले दहमाथि हिउँ खेल्ने वा हिँड्ने निहुँले शिव विराजमान स्थानमा नटेक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरेको छ ।

चौध हजार तीन सय ७० फिटको उचाइमा अवस्थित  गोसाईँथानमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमाका वेला हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । अरू महिना भने धार्मिक उद्देश्यभन्दा पनि पदयात्राका लागि आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको कुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारको भनाइ छ । पहिला-पहिला हिँडेर जानुपर्ने क्षेत्रमा पूर्वाधारको विकाससँगै अहिले काठमाडौँको माछापोखरीदेखि यातायात सेवा सञ्चालनमा रहेकाले यस वा त्यस बहानामा साना सवारीसाधनले बढी भाडा असुल्ने भएकाले सबै यात्रुले सजगता अपनाउनुपर्ने सामाजिक अभियानकर्मीले बताएका छन् । चिसो मौसम भएकाले तातो लुगाका साथै कागती, अदुवा, सातु, सामल र केही चिकित्सकीय औषधिसमेत साथमा लिई जान उपयुक्त र लाभदायक हुने स्थानीय बासिन्दाले बताएका छन् । गोसाईँथान जाने भक्तजनको सुविधालाई ध्यानमा राखी बागमती प्रदेश, भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरुयोजनाअन्तर्गत पूर्वाधार निर्माणका काम अगाडि बढाइरहेको गोसाईँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसाईँकुण्डमा स्नान गर्दा भिजेको लुगा र आफूबाट उत्पन्न कुनै पनि फोहोर जथाभावी नफ्याँक्न, पैदलमार्गमा देखापर्ने रातो हाब्रेलगायत वन्यजन्तुमाथि नोक्सान नपुर्याउन र लौराका नाममा जङ्गलका कुनै वनस्पति नकाट्न सबै भक्तजनसमक्ष वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले अनुरोध गर्दै सूचना जारी गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह