विदुर । ‘बलियो एकता सुरक्षित राष्ट्र’ भन्ने मुख्य सन्देशका साथ महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा श्री नं ६ बाहिनी अड्डा तथा अन्तर्गतका श्रीनाथ गण, शेर गण र भैरव गणको संयुक्त आयोजनामा ‘ब्रिगेड म्याराथन-२०८२’ आइतबार सम्पन्न भएको छ ।

म्याराथन धादिङ र नुवाकोट जिल्लाको सिमाना भ¥याङभुरुङबाट सुरु भई रसुवा जिल्लाको बेत्रावती तथा नुवाकोट जिल्लाका विदुर-१० शुभघाट, विदुर-१ ढुङ्गे, विदुर-२ बट्टार हुँदै भैरवी मन्दिरसम्म सञ्चालन भएको हो । श्री नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति, सहायक बाहिनीपति, नं. ६ बाहिनी अड्डाअन्तर्गत गणका गणपति, मध्य पृतना तालिम शिक्षालयका शिक्षाधिकृतलगायत एक सय ५० सकलदर्जाको म्याराथनमा सहभागिता थियो ।

ब्रिगेड म्याराथन समापन कार्यक्रम नुवाकोट दरबारस्थित भैरवी मन्दिरपरिसरमा भएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल श्री नं १९ गुल्मका सशस्त्र प्रहरी निरीक्षकलगायत स्थानीयवासी उपस्थित कार्यक्रमलाई श्री नं. ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सुवासजंग थापाले सम्बोधन गर्दै वर्तमान अवस्थामा ‘बलियो एकता’ कायम भए मात्रै सुरक्षित राष्ट्र हुन सक्ने बताउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहको ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्ने दिव्योपदेश राष्ट्रिय एकता कायम गर्न आजको दिनमा त्यत्तिकै सान्दर्भिक रहेको बताउँदै आसन्न निर्वाचनलाई, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिम्मेवार क्षेत्रमा परिचालित फौज, निर्वाचन सुरक्षाको वातावरण बनाउन नेतृत्वदायी भूमिका खेल्ने प्रजिअ अन्य सुरक्षा निकाय तथा सही सूचना प्रवाह गरी जनमानसलाई सुसूचित गर्ने पत्रकार र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्याउने राजनीतिक दल तथा नागरिक समाज सबैको सहयोगमा निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन सुरक्षामा परिचालित फौजलाई कटिबद्ध भई सुरक्षा प्रदान गर्न उहाँले निर्देशनसमेत दिनुभयो । सोही अवसरमा विगत एक वर्षमा देश र नेपाली सेनाका लागि योगदान दिने बाहिनी अड्डा तथा अन्तर्गत युनिटका दश सकलदर्जालाई बाहिनीपतिले प्रधानसेनापति प्रशंसा निशानद्वारा सुशोभनसमेत गर्नुभएको थियो ।






प्रतिक्रिया