+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको लाइफलाइन पृथ्वी राजमार्ग स्तरोन्नतिमा धार्के बजार र बन्छेटार खण्डमा विद्युतीय खम्बा बाधक

नेपालको लाइफलाइन पृथ्वी राजमार्ग स्तरोन्नतिमा धार्के बजार र बन्छेटार खण्डमा विद्युतीय खम्बा बाधक
त्रिशूली प्रवाह
२ दिन अगाडी

धादिङ । नेपालको लाइफलाइन मानिने पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्डको स्तरोन्नतिमा विद्युतीय खम्बा बाधक बनिरहेको छ । समयमै काम सम्पन्न भएको भए यतिवेला यो सडक कालोपत्रे भइसकेको हुन्थ्यो । नेपाल विद्युत् प्राधिकरणले समयमै सडकमा रहेका खम्बा हटाउन नसक्दा निर्माणमा गम्भीर चुनौती थपिएको छ ।

वि.सं. २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको सो आयोजनाले लक्ष्यअनुसारको प्रगति गर्न सकिरहेको छैन । विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो ४३.५४ किलोमिटर लामो सडक नेपालको ‘जीवनरेखा’ मानिन्छ । आयोजना प्रमुख केशव ओझाका अनुसार प्राधिकरणका खातामा डेढ वर्षअगाडि नै खम्बा सार्न आवश्यक बजेट दाखिला गरिए पनि प्राधिकरणले लगाएको ठेक्का प्रभावकारी नहुँदा काम सुस्त छ । विशेषगरी धार्के बजार र बन्छेटार खण्डमा दुई सयभन्दा बढी खम्बा सार्नुपर्नेछ । सडकको स्तरोन्नतिका लागि रु. पाँच अर्ब ३३ करोड १९ लाख लागत लाग्नेछ । प्राधिकरणले व्यवस्थापन गर्न नसक्दा कतिपय स्थानमा खम्बा सडकको बिचमै पारेर कालोपत्रे गरिएको छ । यसरी खम्बा सडकमै पारेर कालोपत्रे गर्दा भविष्यमा यसले दुर्घटना निम्त्याउन सक्ने प्राविधिज्ञको भनाइ छ । सडकमा रहेको खम्बा हटाउनका लागि निर्माण कम्पनीले प्राधिकरणलाई ताकेता गरे पनि काम सुस्त रूपमा भइरहेको छ । निर्माण सुरु भएको तीन वर्षमा कालोपत्रे गर्ने सम्झौता भए पनि कामले गति लिन नसक्दा अझै केही समय लाग्ने देखिन्छ ।

यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका कारण पनि सडकको निर्माण कार्य केही समय प्रभावित हुने देखिएको छ । निर्माण व्यवसायीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेका अनुसार विद्युतीय पोल नसार्दा लक्ष्यअनुसारको काम गर्न नसकिएको हो । यो सडक आयोजना क्षेत्रमा दुई सयभन्दा बढी विद्युतीय पोल सार्नुपर्नेछ । पोल सार्न प्राधिकरणमा पटकपटक ताकेता गर्दासमेत काम अगाडि बढ्न सकिरहेको छैन । विशेषगरी बजार क्षेत्रमा यसको समस्या बढिरहेको छ । धार्के बजारमा विद्युतीय पोलको अवरोधका कारण कामको रफ्तार बढाउन नसकिएको उहाँको गुनासो छ । त्यसैगरी प्राधिकरणलाई दबाब सिर्जना गर्न बन्छेटार खण्डमा विद्युतीय पोल बिचमै राखेर कालोपत्रे गरिएको छ । यता आयोजनाले पनि आफ्नो कार्यक्षेत्रमा पर्ने काम तदारुकताका साथ गरिरहेको आयोजना प्रमुख ओझाले बताउनुभयो । प्राधिकरणलाई विद्युतीय पोल सार्न आवश्यक बजेट डेढ वर्षअघि नै संस्थाको खातामा दाखिला गरिएको भए पनि काम लक्ष्यअनुसार हुन सकिरहेको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह