+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहले बाटो बिराउँदा सञ्चारकर्मीको खबरदारी जरूरी : नगर प्रमुख श्रेष्ठ

स्थानीय तहले बाटो बिराउँदा सञ्चारकर्मीको खबरदारी जरूरी : नगर प्रमुख श्रेष्ठ
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

विदुर । पत्रकारिता जगत्ले नागरिकको अपेक्षा पूरा गर्न नसकेको भन्दै सञ्चार क्षेत्रका विज्ञहरूले मूलधारको पत्रकारितालाई नागरिकको समस्यातर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । सम्पादक समाज नेपालद्वारा नुवाकोटको विदुरमा शनिबार आयोजित ‘नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता’ सम्बन्धमा आयोजित कार्यक्रममा वक्ताले मूलधारको पत्रकारिताले जनस्तरको समस्या उठान गर्न सके मात्र लोकतन्त्र सबल हुने विश्वास व्यक्त गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले स्थानीय तहले बाटो बिराउँदा खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । जलवायु परिवर्तन र न्यूनीकरणका लागि सम्पादक समाजले गर्ने अभियानमा नगरपालिकाले समन्वय, सहकार्य र सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनमा भयरहित र निष्पक्ष निर्वाचनका लागि पत्रकारको अहम् भूमिकाको अपेक्षासमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारिताले राम्रा र नराम्रा दुवै पक्षको सूचना सम्प्रेषण गर्नुपर्छ, पत्रकारितालाई समाजसँग जोड्नुपर्छ ।’ मोफसलको पत्रकारिताले स्थानीय पर्यटन, संस्कृति, पूर्वाधारलाई प्राथमिकता दिएमा नुवाकोटको आर्थिक तथा धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वाससमेत व्यक्त गर्नुभयो । पत्रकारितामा बढ्दो विकृति, विसङ्गति, गैरजिम्मेवारीपन, नियमक निकायका उपेक्षा, पत्रकार पलायन, नवपत्रकारको प्रवेशमा न्यूनतालगायतका विषयमा अन्तक्र्रियामा छलफल भएको थियो ।

नुवाकोटमा रहेर विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी र केन्द्रमा रहेर पत्रकारितामा आबद्ध सञ्चारकर्मीबिच भएको अन्तक्र्रियामा पत्रकारिता क्षेत्रमा करिब तीन दशकदेखि प्रशिक्षण दिँदै आउनुभएका तोया गौतमले पत्रकारिता क्षेत्रबाट नागरिकले गरेका अपेक्षा र पत्रकारिता क्षेत्र किन जिम्मेवार हुन सकेन र पत्रकारिता जगत् कहाँ चुक्दै छ भन्ने विषयमा प्रस्तुति गर्नुभएको थियो । संसारभर लोकतन्त्र किन कमजोर हुँदै छ भन्ने प्रसङ्गको चर्चा गर्दै पत्रकार गौतमले डिजिटल मिडियाको प्रभाव सामाजिक सञ्जाल र अनलाइनको बाहुल्यका कारण ठुला मिडियामा विज्ञापनमा सङ्कुचन, वितरणमा कमी र आर्थिक सङ्कट बढ्दै गएको बताउनुभयो । मोफसलका सञ्चारकर्मीले आमसञ्चारका सामाजिक सञ्जालबिचको अन्तर पाठक तथा दर्शकले छुट्याउन नसक्दा पत्रकारिता पेसा चुनौतीपूर्ण अवस्थामा रहेको औँल्याउँदै उहाँले कसले के भन्यो मात्रै पत्रकारिता नभएको बरु जनचाहनाअनुरूप, जिम्मेवार र जवाफदेही पत्रकारिता हुनुपर्नेमा जोड दिनुभयो ।

गोरखापत्र दैनिकका सम्पादक एवम् सम्पादक समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले मिडिया साक्षरता बुझेकाहरू मात्रै पत्रकार हुन सक्छन् भन्दै नागरिकको अपेक्षालाई राज्यको नीतिसँग जोड्ने कसीका रूपमा पत्रकारिता हुनुपर्ने बताउनुभयो । समाजका महासचिव श्याम डोटेलले स्थानीय तहसँग स्रोतसाधन छ र समस्या पनि छ भन्दै स्थानीयस्तरबाट पत्रकारिता गरिरहेका पत्रकार र मिडियाको संरक्षण तथा प्रशिक्षण गर्ने दायित्व पनि स्थानीय तहकै भएको बताउनुभयो । भाइरल हुँदैमा सबै समाचार सत्य हुँदैन भन्दै महासचिव डोटेलले प्रविधिले ल्याएको विकासलाई आत्मासात् गर्दै गलत प्रवृत्तिका समाचार र अफवाहको पछि पत्रकार तथा सञ्चारमाध्यम लाग्न नहुनेमा जोड दिनुभयो । सम्पादक समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा पत्रकारिता क्षेत्रमा चासो राख्ने नुवाकोट जिल्लाभित्रका करिब ५० जनाको सहभागिता थियो । अन्तक्र्रियामा नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाका उपाध्यक्ष जगदीश खनाल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपभोक्त मञ्चका प्रतिनिधि, नागरिक अगुवा तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।

अन्तक्रियामा सहभागीले नागरिकको प्रश्न मरेको छैन भन्दै पत्रकारले नागरिकको समस्या उठाउनुको साटो आफैँ बनाउने गरेको तितो यथार्थ पस्कनुभएको थियो । साथै नुवाकोटमा कार्यरत पुराना पत्रकार पलायन हुँदै गएको र नयाँ पत्रकार यस क्षेत्रमा आउन नचाहनु दुःखद भएको, स्थानीय तह स्थानीय मिडियामैत्री नभएको, देखेका समाचार पनि लेख्न छाडिएको, खोजमूलक समाचारमा मिहिनेत नगरेको, समाचारमा जवाफदेहिता हराउँदै गएकोलगायत विषय सहभागीले उठाएका थिए । कार्यक्रममा संयोजक ध्रुवकुमार रावल, समाजका संरक्षक किरण वैद्य, न्युज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह