धुन्चे । रसुुवा जिल्लाभित्र निर्माण हुने सडकलाई दिगो र भरपर्दो बनाउन निर्माण सामग्रीको प्रयोगशाला परीक्षण सुरु गरिएको छ । जिल्लाभित्र निर्माण हुने सडक दिगो तथा भरपर्दाे बनाउन निर्माण सामग्रीको प्रयोगशाला परीक्षणले सहयोग पुगेको छ । निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपट गर्न नसक्ने अवस्था अहिले बनेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रविन महर्जनका अनुसार कार्यालयको मातहतमा जिल्लाभित्र निर्माणाधीन सडक तथा पूर्वाधारको गुणस्तर सुनिश्चित गर्न सदरमुकाम धुन्चेमा आधुनिक परीक्षण उपकरण स्थापना गरिएको हो । विसं २०८१ भदौमा स्थापना भएको कार्यालयले जडान गरिएका उपकरणमार्फत गिट्टी, बेस, ग्राभेल र कालोपत्रलगायत निर्माण सामग्रीको वैज्ञानिक परीक्षण गर्न सकिन्छ । योभन्दा अगाडि यस्ता परीक्षणका लागि बाहिर जिल्लामा निर्भर रहनुपर्ने अवस्था थियो । अबका दिनमा जिल्लामा नै परीक्षण सम्भव भएपछि सहज हुनेछ । परीक्षण कार्यमा पाँचजना दक्ष प्राविधिक खटिएका छन् । उपकरण जडानपछि निर्माण कम्पनी वा उपभोक्ता समितिले सामग्रीको मात्रा वा गुणस्तरमा कुनै छलकपट गर्न नसक्ने अवस्था रहेको कार्यालय प्रमुख महर्जनले बताउनुभयो । परीक्षणका लागि आवश्यक सामग्री भिजाउने पोखरीसमेत निर्माण गरिएको छ जसले गर्दा प्रयोगशाला पूर्णरूपमा सञ्चालन गर्न सहज भएको छ । कार्यालयले हालसम्म नमुनाका रूपमा ३.३६५ किलोमिटर नयाँ सडक ट्र्याक खोल्ने, ३.४७८ किलोमिटर सडक कालोपत्र गर्ने तथा २०.४७ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको बताइएको छ । गुणस्तर परीक्षण प्रणालीको सुरुवातसँगै अब रसुवामा निर्माण हुने सडक तथा संरचना थप टिकाउन सुरक्षित हुने सञ्चारकर्मी एवम् भूमि अधिकारको क्षेत्रमा सक्रिय हेमनाथ खतिवडाले बताउनुभयो ।






प्रतिक्रिया