+
Search

ताजा अपडेट +

पपुलर +

जेन–जी आन्दोलनको मर्म र आसन्न निर्वाचन

जेन–जी आन्दोलनको मर्म र आसन्न निर्वाचन
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

आगामी संसदीय निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र रहेन; यसले राजनीतिक चेतना, पुस्तागत विभाजन र राज्य–नागरिक सम्बन्धको नयाँ पुनर्संरचनालाई पनि उजागर गर्नेछ भन्ने अपेक्षा राजनीतिक वृत्तमा चलिरहेको छ । विशेषगरी जेन–जीको राजनीतिक असन्तुष्टि, वैकल्पिक चेतना र संस्थागत राजनीतिप्रतिको अविश्वासले सिर्जित परिस्थितिका कारण हुन लागेको आगामी निर्वाचनको प्रक्रियाको आफैँमा गहिरो अर्थ छ । जेन–जी आन्दोलन कुनै औपचारिक दलीय–आन्दोलन नभए पनि, यसले सामाजिक सञ्जाल, स्वतन्त्र मतदाता प्रवृत्ति र पुराना संस्था, संरचना र प्रणालीविरोधी चेतनालाई तीव्र बनाएको छ । यस सन्दर्भमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले युवालाई मूल प्रवाहमा समेट्न अपनाएका चुनावी रणनीतिको समीक्षा गर्नु आवश्यक छ । यी रणनीतिले आन्दोलनको मर्म र भावनाको रक्षा गरे कि त्यसलाई केवल मत–स्रोतमा सीमित बनाए र अबको युवा अभियान कुन दिशातर्फ मोडिने सम्भावना छ भन्ने सोच्नु पनि स्वाभाविक देखिन गएको छ । आज जेन–जी भन्नेबित्तिकै गलत समूह र प्रवृत्ति भन्ने एकप्रकारको नकारात्मक भाष्य स्थापित भइरहेको छ जुन राजनीतिक अर्थमा सकारात्मक र सुखद होइन ।

विशेषतः भदौ २३ को जेन–जी आन्दोलन कुनै सूत्रबद्ध घोषणामा सीमित थिएन । त्यसको मूल मर्म संस्थागत राजनीतिप्रतिको अविश्वास, नेतृत्वको नैतिकता र जवाफदेहिताको माग, पहिचानभन्दा अवसरमा आधारित राजनीति, डिजिटल सक्रियता र क्षणिक, तर प्रभावशाली आन्दोलन, विचारधाराभन्दा व्यवहार र परिणाममा जोड जस्ता विशेषतामा आधारित थिए । आन्दोलनमा सहभागी त्यो पुस्ता न पूर्णरूपमा वाम–दक्षिण ध्रुवमा बाँधिएको थियो, न त परम्परागत क्रान्तिकारी नारामा । उनीहरू ‘राजनीति गर’ भन्दा ‘राजनीति बदल’ भन्ने मनोविज्ञानमा थिए । यही कारणले जेन–जी आन्दोलन स्वतन्त्र नागरिक उत्तरदायित्व, वैकल्पिक राजनीतिक व्यवहार, सुशासन र संस्कृति एवम् ‘बाइकट द करप्ट’जस्ता भावनात्मक अभियानतर्फ आकर्षित भएको थियो । तर, यस चार महिनाको अवधिमै त्यो भावना र मर्म ‘दूरकी बात’ हुने अवस्था देखिँदै छ, उनीहरू पनि पुरानै चक्रमा लटपटिइसके ।

प्रतिनिधि सभा सदस्य निर्वाचन आठ दिन बाँकी

युवालाई प्राथमिकतामा राख्दै आएको र जेन–जी आन्दोलनपछि एमालेले युवालाई पार्टी संरचनामा समेट्ने दाबी त गर्यो, तर व्यवहारमा पुरानै अनुशासनात्मक, केन्द्रीयकृत र शीर्ष–नेतृत्वमुखी रणनीतिमा अडिग रह्यो । युवा र विद्यार्थी सङ्गठनमार्फत युवाको सहभागितामा विशेष जोड दिइए पनि तिनलाई स्वतन्त्र विचारक होइन, पार्टीका ‘क्याडर’का रूपमा मात्र प्रयोग गरियो । वर्तमान राज्य व्यवस्था, प्रक्रिया र प्रणालीबारे चुलिँदै गएको आक्रोश र असन्तुष्टिका कारण र सम्बोधनका विकल्पमा पनि उनीहरूको ध्यान पुग्न सकेको भए स्थिति फरक हुन सक्थ्यो । सामाजिक सञ्जालमा एमाले आक्रामक रूपमा उपस्थित भए पनि युवाको प्रश्न र असन्तुष्टिलाई सुन्ने संवेदनशीलता देखाउन सकेन । डिजिटल प्लाटफर्म प्रयोगमा ऊ अब्बल त थियो नै, तर युवापङ्क्तिलाई सङ्गठित, परिचालन गर्ने कुरामा तलसम्मको संवादको अभाव देखियो । जेन–जीले खोजेको नयाँ नेतृत्व, नयाँ भाषा र नयाँ प्राथमिकता एमालेभित्र संस्थागत गर्न ढिलो भइरहेको छ । ११औँ महाधिवेशनबाट युवा सहभागिता र नेतृत्वका लागि अनिवार्य क्लस्टर छुट्याइए पनि नेतृत्व पुस्तान्तरणमा अनिच्छाका अवस्थाबारे टिप्पणी रहिरहेकै छन् । फलस्वरूप एमालेले जेन–जी आन्दोलनको भावनालाई समेट्नाको साटो त्यसलाई व्यवस्थापन गर्ने रणनीति अपनायो ।

काङ्ग्रेस खुलापनको दाबी त गर्छ, तर युवालाई व्यवस्थापन गर्ने संरचना र गरिने व्यवहारको सनातनवादी जडता उसको विशेषता नै हो । काङ्ग्रेसले आपूmलाई ‘लोकतान्त्रिक र समावेशी’ पार्टीका रूपमा दाबी गरे पनि युवाका दृष्टिमा उसको समस्या विचारको होइन, व्यवहारको रह्यो । काङ्ग्रेसका भ्रातृ सङ्गठन पुरानै संरचनामा सीमित छन् । युवालाई चुनावी प्रचारकको भूमिकामा मात्र सीमित पारिएको छ । नयाँ पुस्ताको मुद्दा (रोजगारी, स्वास्थ्य सुरक्षा, डिजिटल अर्थतन्त्र)लाई प्राथमिकतामा नल्याउनु उसको समस्या रह्यो । काङ्ग्रेसले जेन–जी आन्दोलनलाई खुलेर अस्वीकार गरेन, तर त्यसलाई संस्थागत रूपमा आत्मसात् गर्न पनि सकेन । परिणामतः काङ्ग्रेस युवामाझ ‘कम खराब विकल्प’ मात्र बन्यो । यसको भरपूर उपयोग गगनकुमार थापाले विशेष विधान अधिवेशनबाट गरे र युवाको मनोविज्ञानलाई पार्टीको अघोषित विभाजनको भुङ्ग्रामा हुत्याए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको हालको नेकपाले आपूm माओवादी केन्द्र हुँदाको सशस्त्र विद्रोहका स्मृतिका कथाका बलमा युवालाई अलमल्याउनेबाहेक केही गर्न सकेन । सत्ताका लागि ‘जता मल्को उतै ढल्को’ गर्न माहिर सो दलमा जहिल्यै यथार्थको सङ्कट रहिरह्यो । तैपनि ऊ आफूलार्ई युवाको दल भन्न छुटाउँदैन । तर, जेन–जीका लागि माओवादीको ‘१० वर्षे विद्रोहको स्मृति’भन्दा ‘वर्तमानको भरोसा’ महत्त्वपूर्ण थियो । युवालाई समेट्ने नाममा नेकपाले युद्धकालीन गौरवको अत्यधिक प्रयोग र चर्का कुरा गरेर सबै बेथितिको मुक्तिदाताका रूपमा आपूmलाई प्रस्तुत ग¥यो । जेन–जी आन्दोलनकै बारेमा पनि धेरै भ्रम फाल्न यो सफल पनि भयो, यहाँसम्म कि जेन–जी हामी नै हौं भन्नसमेत भ्यायो । आन्दोलनलाई दुरुपयोग गरेर भड्काउने उसको भूमिका कसैबाट लुकेको छैन जसका कारण त्यत्रो मानवीय क्षति एवम् राज्य, प्रतिष्ठान र व्यक्तिको भौतिक सम्पत्ति खरानी बनाउने काम भयो । तर, यसले न नयाँ पुस्ताको भाषा बुझ्न सक्यो न त युवा नेतृत्वलाई निर्णायक तहमा पु¥याउन नै सक्यो । अहिले त हिजोका सबै क्षति र नोक्सानको बहीखाता च्यातेर सत्ताका लागि ‘टालाटुली बटुली, कति राम्री पुतली’ बनाउन लागिपरेको छ । तथापि, माओवादी केन्द्रले जेन–जी आन्दोलनसँग भावनात्मक सम्बन्ध त खोज्न प्रयत्न ग¥यो, तर विश्वास पुनर्निर्माण गर्न आवश्यक आत्मालोचना र संरचनागत सुधार गर्न सकेन, गर्ने छाँट पनि देखिएन ।

रास्वपा अहिले आफूलाई नयाँ र वैकल्पिक शक्ति भन्दै जेन–जी भावनाको सवारी चलाउन खोजिरहेको छ । विगतका सरकारमा पटकपटक साझेदार भएर महत्त्वपूर्ण मन्त्रालय चलाएको दलका काम हामीले देखेकै थियौँ । तत्कालीन माओवादीले जस्तै सत्ताबाहिर रहनुपरेको पीडा समन गर्ने उपयुक्त मौकामा रहेको सो दलले पुरानाको विरोध गर्ने ‘एन्टी–एस्टाब्लिसमेन्ट’को भाष्यलाई चर्को रूपमा उठाएर भ्रमलाई डिजिटल–फस्र्ट अभियानका माध्यमबाट गोयबल्स शैलीलाई सञ्चालन गरिरहेको थियो । ‘नयाँ अनुहार, नयाँ शैली’को उग्र नारा दिए पनि प्रश्न उठिरहेको छ, रास्वपाले जेन–जी आन्दोलनको मर्मलाई संस्थागत बनायो कि त्यसको भावनामा सवार भयो ? यो दल अहिले सबैभन्दा बढी ‘युवा भड्काउने, गाली–गलोजलाई रणनीति बनाउने, अराजक र गैरजिम्मेवार प्रवृत्ति’लाई संस्थागत व्यवहार देखाउनेजस्ता आरोप बोकेर अगाडि बढिरहेको छ । तटस्थ विश्लेषण गर्दा यसमा रहेको नीतिगत अस्पष्टता, सङ्गठनात्मक अनुभवको अभाव, वैकल्पिक राजनीतिलाई दीर्घकालीन बनाउने कमजोर संरचनाजस्ता कारणले केही अंशमा जेन–जीको अभिव्यक्ति त बन्यो, तर समाधान बन्न सकेन । डढेलो झोस्न सजिलो हुने भयो, निभाउन कठिन छ भन्ने कुरा जेन–जी आन्दोलनको सबैखाले ध्वंसमा यसको प्रत्यक्ष संलग्नताले प्रस्ट पारेकै छ, त्यो हिंसा, आगजनी र ध्वंसको उफ्री–उफ्री समर्थन गर्नेसहितको सरकार र अहिले सबै रास्वपाको उम्मेदवारका रूपमा नाङ्गिनाले युवा पुस्ता अपमानित हुनुपर्ने अवस्था देखिँदै छ ।

गम्भीर राजनीतिक बोधसहित युवालाई राजनीतिक गतिविधिमा संलग्न र सहभागी गराउनेभन्दा पनि बालेन शैलीमा युवा ‘भड्काउने’ यसको शैली र स्थापित संस्थाप्रति अविश्वास बढाउने भाष्यले युवामा असन्तोष तीव्र बनाउन त सक्छ, भावनात्मक अपिलमा आधारित राजनीति दीर्घकालीन नीति–बहसभन्दा छिटो लोकप्रिय हुन पनि सक्छ, तर त्यो केवल ‘उत्तेजनात्मक राजनीति’ मात्र हुन सक्छ, जो भइरहेको छ । सडककेन्द्रित वा तीव्र प्रतिक्रियात्मक आन्दोलन र कार्यक्रमले संस्थागत प्रक्रियाप्रति चुनौती मात्र थप्ने काम गरिरहेको छ । सामाजिक सञ्जालमा समर्थक समूहबाट हुने आक्रामक प्रतिक्रिया, कतिपय अवस्थामा निराधार र झुट पनि त्यसको राजनीतिक संस्कृति बन्दै गएको छ । पुराना भनिएका दलको कमजोरीका कारण जनतामा आक्रोश थियो, यो स्वाभाविक हो । तर, त्यो आक्रोशको फाइदा उठाउँदै रास्वपाले जुन तरिकाले उम्मेदवारी चयन गर्यो, गठबन्धनको सिर्जना गरेर कुनै योजना र भिजन नभएका व्यक्ति सत्तामा पु¥याउन खोज्दै छ, त्यो भनेको ‘आगोबाट उम्केर भुङ्ग्रामा पर्नु’ जस्तै हुने खतरा छ । जनता थप सचेत नभएसम्म व्यक्ति/नेता भाइरल हुने र देश सधैं प्रयोगशाला मात्र बन्ने खतरा रहन्छ ।

अहिले चुनावी प्रतिस्पर्धामा देखिएको भाषिक आक्रामकता अल्पकालीन रूपमा प्रभावकारी त हुन सक्ला, तर दीर्घकालीन राजनीतिक विश्वसनीयता केवल नीति, नतिजामा मात्र निर्भर हुन्छ । सबैले भन्ने गरेको र जेन–जी आन्दोलनको भावना र मर्म युवा सहभागिता लोकतन्त्रका लागि सकारात्मक भए पनि त्यसलाई संस्थागत जिम्मेवारीसँग सन्तुलित गर्नु आवश्यक हुन्छ, तर यसमा सबै दल चुकिरहेका छन् । आफूलाई नयाँ भन्ने र वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने समूह वा दलको वास्तविक मूल्याङ्कन चुनावी नाराभन्दा शासन–क्षमता, पारदर्शिता र संस्थागत आचरणबाट गरिनुपर्छ । ‘पुराना सबै खराब, हामी विकल्प’ भन्ने नयाँ दलहरू साँच्चै विकल्प बन्लान् त ? नयाँको थेगो फलाक्नु र नयाँ हुनु विकल्प होइन । विकल्प बन्ने कुरा व्यवहार, क्षमता र बाह्य भूराजनीतिक दबाबसँग जुध्ने सामथ्र्यमा निर्भर हुन्छ । रास्वपालगायत नयाँ दलले विकल्प बन्ने सम्भावना बोक्न सक्लान्् तर बन्न सक्ने छैनन् । किनभने ‘पुराना सबै खराब’ भन्ने भाष्य चुनाव जित्न उपयोगी त होला, तर शासन चलाउन पर्याप्त छैन । नेपालमा अहिले केवल भ्रष्टाचार र कुशासनका समस्या मात्र छैनन्, यसले त राज्य शक्तिको सन्तुलन, प्रशासन, सुरक्षा, कूटनीति र अर्थतन्त्रको जटिलताको गाँठो फुकाउने संयन्त्रको खोजी गरिरहेको छ, जुन जेन–जीले चाहेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

नेपालमा विकल्प बन्नु भनेको पुरानालाई गाली गर्नु होइन, पुरानाभन्दा बढी जटिल दबाब सहन सक्नु हो । यदि नयाँ वा आफूलाई नवीकृत गर्न तयार छौँ र युवाको भावना समेट्न गम्भीर छौँ भन्नेहरू भूराजनीतिक यथार्थ स्विकारे तथा नीति निर्माणका तहमा संयमताको विकास गरेर सत्तामा आएपछि पनि आत्मालोचना गर्न सक्ने प्रतिबद्धता व्यक्त गरे भने इतिहास बदल्न सक्ने होलान्, नत्र इतिहासले उनीहरूलाई ‘क्रोधको उत्पादन गर्न सक्ने, तर परिवर्तन गर्न असफल’ भनेर सम्झनेछन् । अबको युवा अभियान तीन सम्भावित दिशातर्फ मोडिन सक्छ, यदि नयाँ वा आफूलाई नवीकृत गर्न तयार भनिएका नयाँ, पुराना दलले आत्मसुधार गर्न सकेमा युवा आन्दोलन संस्थागत विकल्पमा रूपान्तरण हुन सक्छ । सर्वजन हितायका मुद्दा जस्तै रोजगारी, शिक्षा, डिजिटल अधिकार, जलवायु परिवर्तनजस्ता मुद्दामा केन्द्रित स्वतन्त्र युवा नेटवर्क सशक्त हुन सक्छन् । यदि राजनीतिक दलहरूले जेन–जी भावनालाई फेरि पनि उपेक्षा र उपयोग मात्र गरे भने युवा पुस्ता पुनः निराशा र पलायनतर्फ बढ्ने जोखिम छ ।

आसन्न संसदीय निर्वाचन एउटा निर्वाचनपछिको अर्को होइन । सबै राजनीतिक दलले बुझेका होलान्, जेन–जी आन्दोलन कुनै क्षणिक ट्रेन्ड नभई नेपाली राजनीतिमा आएको संरचनात्मक चुनौती हो । एमाले, काङ्ग्रेस र नेकपाले यसलाई अझै पनि ‘युवा व्यवस्थापन’को चस्माबाट मात्र हेरेका छन् । रास्वपालगायत केही नयाँ दलले यसलाई अवसरका रूपमा प्रयोग गरेका त छन्, तर दायित्वका रूपमा ग्रहण गरेका छैनन् । अबको प्रश्न युवाले राजनीति गर्छन् कि गर्दैनन् भन्ने होइन; प्रश्न हो – राजनीति उनीहरूको भाषामा बदलिन्छ कि बदलिँदैन ? यदि दलहरूले जेन–जी आन्दोलनको मर्म, भावना, नैतिकता, जवाफदेहिता र भविष्यप्रतिको आशाको रक्षा गर्न सकेनन् भने अबको युवा अभियान दलभन्दा बाहिर, राज्यभन्दा पर र अझै जटिल दिशातर्फ मोडिन सक्छ । आशा गरौं, सम्बन्धित सबैले दलका तथ्य र कामका आधारमा मत माग्न र मतदान गर्नका लागि ढिलो नगरीकन यो मर्म बुझ्लान् । (लेखक नुवाकोट एमालेका संस्थापक एवम् बौद्धिक व्यक्तित्व हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह