धुन्चे । सरकारले यही फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गत माघ २१ गते बुधबारबाट देशभर सेना परिचालन गरेको छ । रसुवा जिल्लामा सोही मितिबाट निर्वाचन सुरक्षार्थ सेना परिचालन भएको छ । निर्वाचनका लागि स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय जिल्लामा परिचालित भएका छन् ।
एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार रसुवामा सेना फिल्डमा खटिएको छ । सबै सुरक्षा अङ्गको समन्वय र सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र निर्वाचन प्रहरी परिचालन गरिएको छ । ‘एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२’ तथा मध्यपृतना हेडक्वार्टर तथा श्री नं ६ बाहिनी अड्डा, बैरेनी, धादिङबाट प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ फौज परिचालन अपरेसन निर्देशनअनुसार रसुवामा तैनाथ रहेको नेपाली सेनाको श्रीनाथ गणबाट आवश्यकताअनुसार फौज जिल्लाभर परिचालित भएको छ । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न फौज परिचालन भएको हो । निर्वाचन क्षेत्रअनुसार मतदानस्थलको भौगोलिक विकटता, संवेदनशीलता साथै तत्कालीन रूपमा विकसित हुँदै जाने विभिन्न घटनाक्रम तथा गतिविधिको आकलन तथा मूल्याङ्कन गर्दै क्रमिक रूपमा जिल्लाभर सबै स्थानमा सेना परिचालन तथा तैनाथ रहनेछ । अन्य सुरक्षा निकायसँग समेत समन्वय गर्दै आमजनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउन सेना निर्वाचनको नतिजा प्रकाशित नहुँदासम्म अहोरात्र परिचालित रहने श्रीनाथ गणका गणपति प्रद्युम्न गौतमले जानकारी दिनुभयो ।
निर्वाचनको समय शान्तिसुरक्षालाई सुदृढ तुल्याउन सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप यही फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित भएको छ । एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिनेछन् । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ । नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो । सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने जनाएको छ ।






प्रतिक्रिया