+
Search

ताजा अपडेट +

पपुलर +

सेनाको नेतृत्वमा रसुवा र नुवाकोटमा निर्वाचन सुरक्षासम्बन्धी संयुक्त अभ्यास

सेनाको नेतृत्वमा रसुवा र नुवाकोटमा निर्वाचन सुरक्षासम्बन्धी संयुक्त अभ्यास
त्रिशूली प्रवाह
१७ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्लामा निर्वाचन सुरक्षामा तैनाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीद्वारा जिल्लाभर निर्वाचन सुरक्षासम्बन्धी संयुक्त अभ्यास गत शनिबार सम्पन्न भएको छ । जिल्लामा रहेको नेपाली सेना शेर गणको नेतृत्वमा सोही दिन निर्वाचन केन्द्र रहेको २४ स्थानमा सुरक्षासम्बन्धी संयुक्त अभ्यास भएको जानकारी गणपति प्रमुख सेनानी आविष्कार ढुंगानाले बताउनुभयो ।

यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन माघ २१ देखि शेर गणबाट फौज परिचालन भई जिल्लाका चार रणनीतिक स्थानमा कम्पनी सञ्चालन आधार स्थापना गरिएको छ । फागुन ६ गतेदेखि जिल्लाका थप २४ स्थानमा पल्टन अपरेटिङ बेस स्थापना गरी जनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउन विभिन्न अपरेसनल कारबाही सञ्चालन गरिरहेकोमा गत शनिबार जिल्लाभर तैनाथ अन्य सुरक्षा निकायसँगको समन्वय तथा सहकार्यमा मतदानस्थलनजिक निर्वाचन सुरक्षासम्बन्धी संयुक्त अभ्यास सञ्चालन गरिएको हो ।

उक्त अभ्यासमा निर्वाचनपूर्व, निर्वाचनको दौरान र निर्वाचनपश्चात् आइपर्न सक्ने सुरक्षासम्बन्धी विभिन्न परिस्थितिमा सुरक्षा फौजले निर्वाह गर्नुपर्ने भूमिका समावेश गरिएको थियो । यस किसिमका अभ्यासले जिल्लामा शान्ति सुव्यवस्था कायम गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेल्नुका साथै निर्वाचनको समयमा शान्ति सुव्यवस्था खलल पुर्याउने विभिन्न गतिविधिलाई निरुत्साहित गरी सुरक्षा निकायबिच खबर सङ्कलन तथा खबरको आदान–प्रदान वास्तविक समय सूचना साझेदारीमार्फत उपयुक्त सुरक्षा रणनीति तयार गर्न र सोहीअनुसार परिचालन हुनसमेत थप सहज भएको शेर गणका गणपतिले ढुंगानाले बताउनुभयो ।

त्यसैगरी, नेपाली सेनाको नेतृत्वमा रसुवा जिल्लामा आइतबार निर्वाचन सुरक्षासम्बन्धी अभ्यास कालिका-२, कालिकास्थानमा रहेको निर्वाचन केन्द्रमा सम्पन्न भएको छ । जिल्ला र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रसुवामा तैनाथ नेपाली सेना श्रीनाथ गणको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी सहभागी भई संयुक्त सुरक्षा अभ्यास सञ्चालन भएको हो । एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन सुरक्षासम्बन्धी अभ्यास गरिएको जानकारी श्रीनाथ गणका प्रमुख सेनानी  प्रद्युम्नप्रसाद गौतमले दिनुभयो ।

सेनाले गत माघ २१ देखि जिल्लाका पाँच स्थानमा कम्पनी सञ्चालन आधार स्थापना गरी फौज परिचालन गरेको छ । फागुन ६ देखि थप १४ स्थानमा पल्टन अपरेटिङ बेस स्थापना गरी जनतामा सुरक्षाको अनुभूति दिलाउन विभिन्न अपरेसनल कारबाहीसमेत सञ्चालन भइरहेको छ । संयुक्त अभ्यासमा निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपछि आउन सक्ने विभिन्न सुरक्षा चुनौतीको समाधान गर्न सुरक्षा फौजले गर्ने भूमिका तथा रणनीतिबारे अभ्यास गरिएको थियो । गणपति प्रमुख सेनानी गौतम भन्नुहुन्छ, ‘यो अभ्यासले निर्वाचनलाई सुरक्षित, भयरहित र शान्त वातावरण बनाउन सुरक्षा निकायको तत्परता र समन्वय गरी सुरक्षा निकायबिच सूचना आदान–प्रदान गर्न सहज हुनेछ ।’

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह