बट्टार । विदुर-२, बट्टारमा नवनिर्मित बाराही मन्दिरको उद्घाटन र बाराही भगवती मूर्तिको धार्मिक विधिपूर्वक प्राणप्रतिष्ठा गत आइतबार सम्पन्न भएको छ ।

ऐतिहासिक महत्त्वको उक्त मन्दिरको पुनर्निर्माण अभियान स्थानीयवासीका पहलमा विसं २०७६ देखि थालिएको हो ।

नुवाकोट जिल्लास्थित बाराही मन्दिर संरक्षण संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठका अनुसार विदुर नगरपालिका, बागमती प्रदेश सरकार, विदुर-२ कार्यालय र स्थानीयवासीबाट प्राप्त नगद र जिन्सीसहित लगभग रू.एक करोड ४० लाखका लागतमा सात वर्षमा मन्दिर पुनर्निर्माण र आवश्यक भौतिक संरचना तयार भएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख सञ्जु पण्डितले विसं २०७७ मा शिलान्यास गरेको उक्त मन्दिरको उद्घाटन नगर प्रमुख राजनलाल श्रेष्ठले फागुन १० गते गर्नुभएको हो ।

बाराही भगवतीको नूतन मूर्ति प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव फागुन ६ गतेदेखि सुरु भई आइतबार समापन भएको थियो ।

कार्यक्रममा मन्दिर पुनर्निर्माणका लागि सहयोग गर्ने सहयोगी र चन्दादातालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, विदुर–२ का वडाध्यक्ष दीपक कायस्थ, विदुर–४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितलगायतले सामाजिक विकासमा स्थानीयवासीले गरेको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो ।

मन्दिरमा भगवतीको मूर्ति स्थापना गरी प्राणप्रतिष्ठापछि पूजा सञ्चालन सुरु भएको छ ।

मन्दिरमा हरेक हप्ता शनिबार र मंगलबारका साथै वैशाख पूर्णिमा र नवरात्रमा विशेष पूजा–आराधना हुने गरेको छ ।

६ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा धार्मिक अनुष्ठान र पूजा–आराधना गर्न आवश्यक पूर्वाधार निर्माण भइसकेको विदुर–२ का वडाध्यक्ष कायस्थले जानकारी दिनुभयो ।






प्रतिक्रिया