+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्रपछि रसुवाबाट १० महिला उम्मेदवार

गणतन्त्रपछि रसुवाबाट १० महिला उम्मेदवार
त्रिशूली प्रवाह
१५ घण्टा अगाडी

धुन्चे । नेपालमा लोकतन्त्र स्थापनापछि भएका निर्वाचनमा रसुवा जिल्लाबाट हालसम्म १० महिला उम्मेदवार बनेका छन् । यसअघि उम्मेदवार बनेका कोही पनि निर्वाचित हुन सकेका छैनन् । संविधानसभा २०६४, २०७०, प्रतिनिधिसभा सदस्य २०७४, २०७९ र आसन्न प्रतिनिधिसभा सदस्य २०८२ मा यही फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार दर्ता गराएकी एकसहित १० महिला उम्मेदवारले भाग लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुुसार विसं २०६४ मा दुई, २०७० मा चार, २०७४ मा दुई, २०७९ मा एकजनाले उम्मेदवारी दिएका थिए । विसं २०६४ देखि २०७९ सम्म नौजना महिलाले संविधानसभा र प्रतिनिधिसभा सदस्यमा भाग लिए तापनि सफल हुन सकेनन् । आगामी प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहेकी छिन् । जिल्लाबाट एक महिला र ११ पुरुष यही फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । आसन्न निर्वाचनमा जिल्लाबाट नौ दल र स्वतन्त्र तीन गरी १२ जना निर्वाचन मैदानमा छन् । यसपटकको निर्वाचनमा कालिका-५, गैरीगाउँकी चित्रकुमारी देवकोटा स्वतन्त्र उम्मेदवारी दिएर जिल्लाको एक मात्र महिला उम्मेदवार बन्नुभएको छ । हिमाली जिल्ला रसुवामा एक मात्र निर्वाचन क्षेत्र, ३६ मतदानस्थल, ५९ मतदान केन्द्र र ४१ हजार चार सय ७१ मतदाता छन् जसमा महिला २० हजार तीन सय ३० र पुरुष २१ हजार एक सय ४१ छन् । तीनजना स्वतन्त्रसहित नौ दलका १२ उम्मेदवार भोट माग्दै गाउँटोल डुलिरहेका छन् ।

महिला सहभागिता र समावेशीकरणका कुरा जति नै उठे पनि निर्वाचनमा पुरुषले मात्रै टिकट पाउने गरेको महिलाका पक्षमा वकालत गर्ने अधिकारकर्मीले गुनासो गर्ने गरेका छन् । नेपालको संविधानले राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेको छ । तर, प्रत्यक्ष निर्वाचनमा जित्ने उम्मेदवार खोज्ने बहानामा दलहरूले महिलाको क्षमतामाथि अविश्वास गर्दै आएका छन् । आसन्न निर्वाचनमा काङ्ग्रेसबाट मोहन आचार्य, एमालेबाट प्रेमबहादुर तामाङ, नेकपाबाट माधवप्रसाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद घिमिरे, नेकपा (माओवादी) बाट होमप्रसाद आचार्य, उज्यालो नेपाल पार्टीबाट मानबहादुर तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दावासाङ्बो तामाङ र स्वतन्त्र उम्मेदवार दावामिङ्मार तामाङ, सागर लामा र देवकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह