+
Search

ताजा अपडेट +

पपुलर +

जाली नोटको पहिचानका लागि सचेतना

जाली नोटको पहिचानका लागि सचेतना
त्रिशूली प्रवाह
७ महिना अगाडी

विदुर । कहिलेकाहीँ बजारमा नक्कली नोटको बिगबिगी भएको सुन्ने गरिएको छ । अहिले पनि निर्वाचनको गतिविधिसहित विभिन्न अवसरमा हुने ठुलो आर्थिक कारोबारको मौका छोप्दै यस्तै गैरकानुनी कार्य हुन सक्ने भनी नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले नुवाकोटका सरोकार पक्षलाई सोमबार ‘जाली नोट पहिचानसम्बन्धी सचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अन्जानमा नक्कली नोट हात पर्दा सर्वसाधारण ठगिने मात्र नभएर कानुनी झमेलामा समेत पर्ने जोखिम हुन सक्ने भन्दै सक्कली र जाली (नक्कली) नोट सम्बन्धमा सजग गराइएको मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक रुकु पन्थीले जानकारी दिनुभयो । जाली नोटको छपाइ, ओसारपसार र कारोबार गर्नु गैरकानुनी हुने कानुनी प्रक्रियासहित आर्थिक कारोबार गर्दा नोट शङ्कास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेराबैंकमा जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो । सचेतना कार्यक्रममा जाली नोट पहिचानका लागि नेपाली रुपैयाँको नोटमा रहेका सुरक्षण विशेषताको जानकारी गराई नुवाकोटका सरोकारवालालाई सक्कली र नक्कली नोटको पहिचान गर्नसमेत सहायक निर्देशक पन्थीले आफ्नो प्रस्तुतीकरणमार्फत सजग गराउनुभयो । उहाँका अनुसार सामान्यतया सक्कली नोटको कागज खस्रो हुन्छ भने जाली नोट साधारण कागजजस्तै चिल्लो हुने गर्छ । जाली नोटको रङ फिक्का देखिन्छ र सुरक्षा धागोले पोतेको वा टाँसेजस्तो देखिने भएकाले ध्यान दिन सकेमा यसलाई हेरेर नै थाहा पाउन पनि सकिनेछ ।

Suzuki New Bike & Scooter

नोट छाम्दा साधारण कागजजस्तो चिल्लो लागेमा, बैंक नोटको रङ फिक्काजस्तो लागेमा वा सुरक्षण धागो रङ्गले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्नुपर्ने भाग चिल्लो र सम्म भएजस्तो लागेमा, हेरेर, छामेर र ढल्काएर थप परीक्षण गरी पहिचान गर्न सकिने मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक पन्थीको भनाइ छ । नोटको सुरक्षाका लागि नेराबैंकले तीन चरणको सुरक्षण पद्धति अपनाउने हुँदा पहिलो चरणमा जोकोहीले पनि पनि हेरेर, महसुस गरेर र ढल्काएर पनि नोट सक्कली भए-नभएको थाहा पाउन सकिने सम्बन्धमा उहाँको प्रस्तुतीकरणमार्फत स्पष्ट पारिएको थियो । उहाँका अनुसार एक हजारको नोटलाई हेरेर, छामेर, ढल्काएर र यन्त्रका प्रयोगबाट चिन्न सकिन्छ । हेरेर थाहा पाउन नोटलाई उज्यालोतर्फ पारेर हेर्दा लालीगुराँस र ‘१०००’ को पानीछाप देखिन्छ । यस्तै पूर्ण रूपमा ‘१०००’ लेखिएको देख्न सकिन्छ । नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएको भाग उठेको महसुस हुन्छ । दृष्टिविहीनका लागि पहिचान गर्न अङ्ग्रेजी वर्ण एम लेखिएको हुन्छ, जुन छाम्दा उठेको पाइएमा उक्त नोट सक्कली हो भन्ने थाहा पाउन सकिन्छ । नोट ढल्काएर हेर्दा सुरक्षा धागो चलेको जस्तो देखिन्छ । नोटमा रहेको भगवतीको आकृति चाँदी रङको देखिन्छ ।

यन्त्रबाट थाहा पाउनका लागि ‘अल्ट्रा भायोलेट’ लाइटमा हेर्दा सगरमाथाको आकृति, गभर्नरको सही तथा नोटका नम्बर झलल टल्किने भएकाले सक्कली भए–नभएको पहिचानका लागि सहज हुने गर्छ । यस्तै रु.पाँच सयको नोट हेरेर चिन्नका लागि प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँसको ‘पानीछाप’ देखिन्छ । पूर्ण रूपमा एनआरबी बनेको देखिन्छ । सुरक्षा धागोमा ‘एनआरबी ५००’ र बाघको आकृति देखिन्छ । यो नोट छाम्दा खस्रो हुन्छ । दृष्टिविहीनको सहजताका लागि दुई थोप्ला हुन्छन्, जुन छाम्दा उठेको महसुस हुन्छ । नोट ढल्काएर हेर्दा सुरक्षा धागोको रङ रातोबाट हरियोमा परिवर्तन हुन्छ । नोटमा रहेको कुवेरको रङ सुनौलोबाट हरियो हुन्छ । मेसिनबाट थाहा पाउन युभी लाइटमा सगरमाथाको आकृति, गभर्नरको सही र नोटका नम्बर टल्किने भएकाले जोकोहीले पनि सुरक्षण चरणको पहिलो आधारमा नै थाहा पाउन सकिने सम्बन्धमा सहायक निर्देशक पन्थीले जानकारी गराउनुभयो ।

मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक लेखनाथ दाहालका अनुसार ‘नेपाल राष्ट्र बैंकका ऐन’ अनुसार जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा कानुनविपरीत कार्य हुने ठहर्ने व्यवस्था छ । त्यस्तो कसुर गर्ने र गर्न सहयोग पुर्याउनेलाई समेत कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले नक्कली नोटसँग सम्बन्धित गैरकानुनी कार्यमा सहभागी नहुन र कहीँकतै भएको तथा हुन लागेको थाहा भएमा तत्कालै प्रहरीलगायत नियामक निकायमा खबर गर्नका लागि उपनिर्देशक दाहालले सचेत गराउनुभयो ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले विगत लामो समयदेखि नोटको कारोबार गर्दै आए पनि सक्कली र नक्कली नोटको पहिचानको सम्बन्धमा भने पहिलोपटक जानकारी लिन पाउँदा कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । नुवाकोटमा पनि जाली नोट वेलाबखतमा देखिने गरेकाले सचेतना कार्यक्रममार्फत सर्वसाधारणले समेत सहजै थाहा पाउन सहज हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । नोटको सुरक्षण सतर्कतालगायत जाली नोटको पहिचान अहिले सबै नागरिकलाई अनिवार्य ज्ञानका रूपमा पु¥याउन आवश्यक रहेको भन्दै विद्यालय तहको पाठ्यक्रममा नै यससम्बन्धी पठन सामग्रीलाई समावेश गर्नका लागि उहाँले सुझाव दिनुभयो । कार्यक्रममा नुवाकोटमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बिमा संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थी, व्यवसायीसहित डेढ सयजनाको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह