धुन्चे । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वअनुगमन तथा निर्वाचनको तयारी सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले रसुवामा सरोकारवाला निकायसँग अन्तक्रिया गरेको छ । इन्सेक निर्वाचनको पूर्वअनुगमन गर्ने क्रममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वमा आएको पर्यवेक्षक टोलीले विभिन्न सरोकारवाला निकायसँग भेट गरी स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचनका लागि भएको तयारीका सम्बन्धमा आवश्यक जानकारी लिने क्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीसँग भेट गरेको थियो ।

मुख्य निर्वाचन अधिकृत उप्रेतीले निर्वाचनको आवश्यक तयारी पूरा भएको तथा मतपत्र प्राप्त भएको जानकारी दिनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी निर्वाचनको अन्तिम तयारी पूरा भएको बताउनुभयो । इन्सेकको टोलीसँग प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गर्दै मतदानदेखि मतगणनासम्मको तयारी पूरा भएको बताउनुभयो । उहाँले त्यसका लागि एकीकृत सुरक्षा योजना बनाई चारवटै सुरक्षा निकाय परिचालन गरिएको र मतदानमा खटिने जनशक्तिको आवश्यक व्यवस्थापन भएको जानकारी दिनुभयो । इन्सेकको निर्वाचनपूर्व पर्यवेक्षणका क्रममा भएको छलफलमा नेपाल प्रहरी नायब उपरीक्षक अशोक थापा, नेपाली सेनाका गणपति प्रद्युम्न गौतम, राष्ट्रिय अनुसन्धानका डिएसपी मदन पौडेल, सशस्त्र प्रहरीका डिएसपी विष्णुप्रसाद पोखरेल, निर्वाचन कार्यालयका प्रतिनिधिलगायतका सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो । इन्सेकका बागमती प्रदेश संयोजक खकुरेलले नेपालमा प्रजातन्त्रको पुनस्र्थापनपछि भएका सबै निर्वाचनमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउँदै यसपटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि दुई सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो । टोलीले नागरिक समाज रसुवाका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तितुङसँग पनि रसुवाको निर्वाचन तयारी अवस्थाबारे छलफल गरेको थियो ।
त्यसैगरी, इन्सेकको टोलीले नुवाकोट जिल्लामा पूर्वनिर्वाचन अनुगमन गरेको छ । आगामी निर्वाचनको सन्दर्भमा गरिएको अनुगमनका क्रममा टोलीले इन्सेकका जिल्लास्थित निर्वाचन पर्यवेक्षकसँग भेटघाट गरी जिल्लाको निर्वाचन अवस्था, चुनौती र तयारीबारे छलफल गरेको थियो । अनुगमनमा इन्सेकका निर्वाचन पर्यवेक्षकको पनि सक्रिय सहभागिता रहेको थियो । अनुगमनका क्रममा टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंसँग भेट गरी स्वच्छ, भयमुक्त र निष्पक्ष निर्वाचनका लागि गरिएको तयारीबारे जानकारी लिएको इन्सेक बागमती प्रदेश कार्यालयका सहायक अभिलेखीकरण अधिकृत अनमोल पन्तले बताउनुभयो । टोलीसँगको छलफलमा सहायक प्रजिअ हुमागाईंले नुवाकोट जिल्लामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ र हालसम्म सबै काम अवरोधरहित रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । सुरक्षबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको र अन्य सुरक्षा निकायको तैनाथी पनि अन्तिम चरणमा रहेको छ ।’ उहाँका अनुसार जिल्लाभर करिब दुई हजार निर्वाचन प्रहरी, सोही हाराहारीमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र करिब एक हजार सेना परिचालन गरिएको छ ।






प्रतिक्रिया