+
Search

ताजा अपडेट +

पपुलर +

धादिङ २ मा काङ्ग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा

धादिङ २ मा काङ्ग्रेस, एमाले, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा
त्रिशूली प्रवाह
७ महिना अगाडी

धादिङबेँसी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धादिङ २ मा चुनावी तापक्रम उच्च विन्दुमा पुगेको छ । दल र उम्मेदवार घरदैलो, कोणसभा र कार्यकर्ता परिचालनमा केन्द्रित छन् । बजार, चोक–चियापसल र सामाजिक सञ्जालमा भने जित–हारको गणित दिनदिनै अदलबदल भइरहेको छ । यसपटक निर्वाचन जित्नका लागि काङ्ग्रेसलाई मत जोगाउन, एमाले र नेकपालाई बढाउन, रास्वपालाई आधार विस्तार आवश्यक रहेको विश्लेषण गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको धादिङमा १३ पालिकामध्ये सदरमुकामसहित एक नगरपालिका र ६ गाउँपालिका क्षेत्र नम्बर २ मा पर्छन् । जिल्लाका एक सय चार वडामध्ये ५१ वडा यसै क्षेत्रमा रहेका छन् । वि.सं. २०७९ को स्थानीय तह निर्वाचनको तथ्याङ्कअनुसार ५१ वडामध्ये नेपाली काङ्ग्रेसले ४३ वडामा उम्मेदवारी दिँदै २२ वडामा जित निकालेको थियो । काङ्ग्रेसका विजयी र पराजित सबै वडाध्यक्षले पाएको मत जोड्दा २९ हजार नौ सय ६५ पुग्छ । तीन वडामा विजयी स्वतन्त्र उम्मेदवार काङ्ग्रेसनिकट मानिन्छन्, जसले चार हजार चार सय ४९ मत प्राप्त गरेका थिए । नेकपा (एमाले) ले ५१ वटै वडामा उम्मेदवारी दिँदै आठ वडामा जित हासिल गरेको थियो । उसका उम्मेदवारले कुल २५ हजार नौ सय ३८ मत पाएका थिए । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले क्रमशः १० र तीन वडामा जित निकालेका थिए । दुवै दलका उम्मेदवारको मत जोड्दा १७ हजार आठ सय ३६ पुग्छ । राप्रपाले ४६ वडामा उम्मेदवारी दिँदै चार वडामा जित निकालेको थियो र पाँच हजार दुई सय ८७ मत प्राप्त गरेको थियो । राजनीतिक विश्लेषक तथा प्राध्यापक नवीनबन्धु पहाडीका अनुसार स्थानीय तहको मतलाई सिधै संसदीय चुनावसँग तुलना गर्नु उपयुक्त हुँदैन । उनका अनुसार स्थानीय चुनावमा व्यक्तित्व, नातागोता र भौगोलिक निकटताले प्रभाव पार्ने भएकाले संसदीय निर्वाचनमा मत परिणाम फरक आउन सक्छ ।

त्यसैगरी, गत प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा एक लाख ३३ हजार ६ सय ४२ मतदाता थिए । समानुपातिकतर्फ ७० हजार ८९ मत खसेकोमा ६६ हजार पाँच सय ३१ मत सदर भएको थियो । यसपटक चार हजार नौ सय ५२ मतदाता थपिँदै कुल सङ्ख्या एक लाख ३८ हजार पाँच सय ९४ पुगेको छ । काङ्ग्रेसको २० हजार नौ सय ५७, एमालेको १६ हजार दुई सय ७५, माओवादी केन्द्रको ११ हजार चार सय ९४, एकीकृत समाजवादीको दुई हजार तीन सय ९४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँच हजार ६ सय २८, माओवादी र एकीकृत समाजवादीको मत जोड्दा १३ हजार आठ सय ८८ पुग्छ । गत निर्वाचनमा करिब ५३ प्रतिशत मत खसेको आधारमा यसपटक पनि सोही अनुपात कायम रहे करिब २० हजार हाराहारी मत ल्याउने उम्मेदवार विजयी हुने आकलन गरिएको छ । काङ्ग्रेसले आफ्नो आधार मत जोगाए अग्रता कायम गर्न सक्छ भने एमालेले थप पाँच–छ हजार मत बढाउनुपर्ने देखिन्छ । रास्वपाले आफ्नो मत आधार विस्तार नगरेसम्म प्रतिस्पर्धा कठिन देखिन्छ । नेकपाले पनि उल्लेख्य मत वृद्धि गर्नुपर्ने अवस्था छ ।

काङ्ग्रेसका उम्मेदवार रमेश धमला आफू लाई नयाँ सोच र पुस्तान्तरणको प्रतिनिधि बताउँदै मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्छन् । एमालेका उम्मेदवार धनबहादुर घले विगतको कार्यसम्पादन र बलियो सङ्गठन आफ्नो जितको आधार भएको दाबी गर्छन् । रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ पुराना दलप्रति जनतामा बढ्दो असन्तोष आफ्नो पक्षमा आउने बताउँछन् । विकास क्षेत्रमा आफ्नो अनुभवले मतदाता आकर्षित गर्ने उनको तर्क छ । राप्रपाका उम्मेदवार सुरेश रिजाल राष्ट्रवादी शक्तिप्रति जनताको आकर्षण बढेको दाबी गर्छन् । नेकपाका उम्मेदवार रामबहादुर भण्डारी सङ्गठनात्मक मजबुती र व्यक्तिगत राजनीतिक योगदानले सहानुभूति मत प्राप्त हुने विश्वास व्यक्त गर्छन् ।  राजनीतिक विश्लेषकका अनुसार पछिल्लो समय युवापुस्तामा देखिएको वैकल्पिक राजनीतिक सोच र वि.सं. २०७९ यता थपिएका करिब पाँच हजार नयाँ मतदाता यसपटक निर्णायक बन्न सक्छन् । धादिङ २ मा पुराना राजनीतिक शक्ति र नयाँ दाबीबिचको प्रतिस्पर्धा रोचक बनेको छ । मतदाताको अन्तिम निर्णयले नै कसको रणनीति सफल हुन्छ, यही फागुन २१ को निर्वाचनपछि थाहा हुनेछ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह