धुन्चे । नेपालमा जलविद्युत् कम्पनीलाई साधारण सेयर जारी गर्न स्वीकृति दिएको २१ वर्ष पूरा भएको छ । साधारण सेयर जारी गर्ने पहिलो कम्पनी नेसनल हाइड्रोपावर भए पनि जलविद्युत् क्षेत्रमा प्रभावित समुदायको स्थानीय सेयरमा लगानी प्रारम्भ गर्ने कम्पनी भने चिलिमे जलविद्युत् कम्पनी हो । चिलिमेले रसुवा जिल्लाका प्रभावित स्थानीयलाई विसं २०६६ मा स्थानीय सेयरमा लगानी गर्ने अभ्यास थालेको हो ।
चिलिमे जलविद्युत् कम्पनीको लगानीमा रसुवामा २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र र कम्पनीको मातहतमा रसुवागढी जलविद्युत् १११, तल्लो साञ्जेन ४२.५, अप्पर साञ्जेन १४.८ र सिन्धुपाल्चोकमा मध्यभोटेकोशी एक सय दुई मेगावाट विद्युत् उत्पादन भइरहेको छ । चिलिमे जलविद्युत् कम्पनी निजी नभएर नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । अन्तर्राष्ट्रिय वित्त निगमले गरेको स्थानीय सेयर नामक अध्ययन प्रतिवेदनका अनुसार चिलिमेले प्रभावित क्षेत्रका लागि स्थानीय सेयर, परियोजना सञ्चालन भएको सात वर्षपछि जारी गरेको थियो । सो समयसम्ममा कम्पनीले नाफा वितरण गर्न थालिसकेको थियो । कम्पनीका अन्य लगानीकर्ताले सेयर लगानीबाट प्राप्त गरेको प्रतिफल देखेपछि आकर्षित भएका चिलिमेका स्थानीय समुदायले परियोजनामा आफ्नो पनि अधिकार रहेको तथा आफूले पनि परियोजनामा लगानीको अवसर पाउनुपर्ने माग राख्दै विरोधमा उत्रेका थिए । स्थानीयको मागलाई चिलिमे कम्पनीले सम्बोधन गर्ने सिलसिलामा स्थानीय सेयर वितरणको सुरुवात हुन पुगेको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।
चिलिमेले सेयर लगानीको सहज वातावरण सिर्जना गर्न, स्थानीय समुदाय तथा सामाजिक स्वयम्सेवक स्थानीय सेयरबारे सजग गराउन र बैंकहरूसँग स्थानीय सेयरमा लगानी गर्न चिलिमे प्रभावितलाई ऋणको व्यवस्था मिलाउने पहल गरिएको थियो । त्यसपछि नेपाल धितोपत्र बोर्डले विसं २०६५ मा जारी गरेको धितोपत्र सूचीकरण तथा वितरण नियमावली २०६५ को नियम ७ (५) अनुसार स्थानीय सेयर लगानीको सुरुवात कानुनी रूपमा गरियो । उक्त नियमावलीले पाँच प्रतिशतसम्म स्थानीय सेयर समुदायका लागि लगानी सुरक्षित गरेको थियो । तर, त्यसै वर्ष चिलिमे जलविद्युत् परियोजनाका स्थानीय समुदायले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाका साथै राजनीतिक दबाबका कारण धितोपत्र बोर्डले नियमावलीमा संशोधन गरी स्थानीयलाई १० प्रतिशतसम्म सेयर वितरण गर्नुपर्ने व्यवस्था गरियो । अहिलेको व्यवस्थाअनुसार कुनै जलविद्युत् कम्पनी पब्लिक कम्पनी हुन चाहेमा पहिलो चरणमा १० प्रतिशतसम्म सेयर लगानी गर्ने अवसर स्थानीय समुदायलाई प्रदान गर्नुपर्छ । त्यसपछि मात्र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउँछ । सर्वसाधारणलाई उपलब्ध गराउने सेयर लगानी कम्तीमा १० प्रतिशत हुनुपर्छ ।
नेपाल धितोपत्र बोर्डले विसं २०६१ असार ३१ मा जलविद्युत् आयोजना कम्पनीको रूपमा पहिलोपटक साधारण सेयर जारी गर्न अनुमति दिएको थियो । पहिलोपटक आइपिओ (प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रिया)मार्फत साधारण सेयर जारी गर्न अनुमति पाउने नेसनल हाइड्रोपावर कम्पनी हो । कम्पनीले रु.१४ करोडबराबरको साधारण सेयर जारी गर्न अनुमति पाएको थियो । बितेका साढे २१ वर्षमा साधारण सेयर जारी गर्नका लागि अनुमति पाउने जलविद्युत् कम्पनीको सङ्ख्या ९९ पुगेको छ । ती जलविद्युत् कम्पनीले रु.४४ अर्ब ८७ करोडबराबरको साधारण सेयर जारी गरेका छन् । अनुमति पाएका जलविद्युत् कम्पनीमध्ये पछिल्लोपटक भुजुङ जलविद्युत् आयोजनासमेत गरेर ९५ वटा कम्पनीले साधारण सेयर जारी गरिसकेका छन् । त्यस्तै, रिज लाइन इनर्जी, सूर्यकुण्ड, सुपर खुदी र शिखर पावरले नेपाल धितोपत्र बोर्डबाट स्थानीय र साधारण सेयर जारी गर्न स्वीकृति पाइसकेका छन् । यी कम्पनीले चाँडै साधारण सेयर जारी गर्दै छन् ।






प्रतिक्रिया