+
Search

ताजा अपडेट +

पपुलर +

वन डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण

वन डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय, डिभिजन वन कार्यालय नुवाकोटको आयोजनामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम तथा वन डढेलो नियन्त्रणसम्बन्धी खरिद गरिएका औजार वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा डिभिजन वन कार्यालय नुवाकोटको प्रमुख डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सचेतना तथा प्रशिक्षण गराउनुभएको थियो । प्रजिअ रेग्मीले सो अवसरमा वन डढेलो नियन्त्रणसम्बन्धी खरिद गरिएका उपकरण जिल्लास्थित सुरक्षा निकायलाई हस्तान्तरण गर्नुभएको थियो । फायर रेक, फायर स्वाटर, सेफ्टी ग्लोब, सेफ्टी हेलमेट १०-१० थान र वाटर ब्याग, फायर जम्पसुट एक-एक थान जिल्लामा रहेको शेर गणका गणपति प्रमुख सेनानी आविष्कार ढुंगाना, श्री नं. १ सैन्य तालिम केन्द्रका केन्द्रपति प्रमुख सेनानी दीपक राई, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मी, राष्ट्रिय अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलराज भट्टराई, सशस्त्र प्रहरी बल १९ नं. गुल्मका प्रमुख गंगा केसीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वन डढेलोबाट हुने क्षति न्यूनीकरण, पूर्वतयारी, नियन्त्रणका उपाय, सामुदायिक सहभागिता तथा विपत् व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो । सो अवसरमा सहभागीले वन संरक्षणमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, ‘वन संरक्षण सबैको दायित्व भएकाले डढेलो नियन्त्रणमा सतर्कता अपनाऔँ, सचेत बनौँ र अरूलाई पनि सचेत गराआँै ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह