धादिङबेँसी । प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङका दुवै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरसहित विजय हासिल गरेको छ । यससँगै दशकौँदेखि कायम परम्परागत राजनीतिक शक्तिको विरासत अन्त्य भएको छ ।
क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले ३९ हजार १ सय २८ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई २४ हजार ९६ मतान्तरले पछि पारिन् । निकटतम प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४ हजार सात सय नौ मत र नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले १० हजार ८० मत प्राप्त गर्नुभएको छ । निर्वाचनको अन्तिम मत परिणामअनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका सुमन तामाङले चार सय ६८, राष्ट्रिय प्रजातन्त्र पार्टीका गीताप्रसाद आचार्यले चार सय २५, उज्यालो नेपाल पार्टीका श्यामराजा पाण्डेले दुई सय ७४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा पर्ने छ स्थानीय तहमा ८५ हजार तीन सय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको क्षेत्र नम्बर २ मा रास्वपाका बोधनारायण श्रेष्ठले २६ हजार एक सय ४३ मत प्राप्त गर्दै नेपाली कांग्रेसका रमेशप्रसाद धमलालाई पाँच हजार आठ सय ६६ मतान्तरले पराजित गर्नुभयो । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार धमलाले २० हजार २७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रबाट एमालेका उम्मेदवार धनबहादुर घलेले १० हजार ८४ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले नौ हजार ३६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेश रिजालले एक हजार पाँच सय चार, उज्यालो नेपाल पार्टीका अमिर तामाङले आठ सय ८६, स्वतन्त्र उम्मेदवार दीपक अधिकारीले पाँच सय दुई, मङ्गोल नेसनल अर्गनाइजेसनका सन्तोषकुमार तामाङले चार सय ६२ र श्रम संस्कृति पार्टीका टासी लामा तामाङले दुई सय ६९ मत प्राप्त गर्नुभएको छ । १३ स्थानीय तह रहेको धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं २ मा सदरमुकामसहित एक नगरपालिका र छ गाउँपालिका रहेको छ । एक लाख ३८ हजार पाँच सय ९४ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ५१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
सम्पन्न निर्वाचनमा कूल मतदातामध्ये ४९ दशमलव ७१ प््रतिशत अनुपस्थित रहँदा ५० दशमलव २९ प्रतिशत मतदाताले मतदान गरेका थिए । जिल्लाभर कुल एक लाख ३८ हजार चार सय ४७ मतदाताले मतदानमा सहभागिता जनाएको बताइएको छ । क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पाण्डेले पञ्चायत ढलाएका एमालेलाई चिनाएका, पछिल्लो समय नेकपा समाजवादी बनाएका र हाल नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका थिए । राजनीतिक जानकारका अनुसार पुराना दलको हारका प्रमुख कारणमा जनआकांक्षा र व्यवहारबीचको खाडल, आन्तरिक कलह, अप्राकृतिक गठबन्धनप्रतिको वितृष्णा, युवापुस्ताको वैकल्पिक राजनीतितर्फको आकर्षण र भ्रष्टाचारविरूद्धको जनअसन्तोष समावेश छन् । गत २०७४ को निर्वाचनमा एमाले, माओवादी केन्द्र र २०७९ मा कांग्रेस, नेकपा (समाजवादी) र माओवादी केन्द्रको गठबन्धन हुँदा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।






प्रतिक्रिया