- विजेताको २०७४ को निर्वाचनमा १४ हजार चार सय ५३
- २०७९ मा १८ हजार दुई सय ३५ र यस पटक १० हजार छ सय ५६ मत
धुन्चे । रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले इतिहासकै ठूलो हार ब्यहोरे पनि रसुवामा भने जितेको छ । कांग्रेसका मोहन आचार्यले गत २०७४, २०७९ र यसपटक जितेर कांग्रेसको विरासत जोगाएका छन् । आचार्यले गत २०७४ को निर्वाचनमा मा १४ हजार चार सय ५३, २०७९ मा १८ हजार दुई सय ३५ र यसपटक १० हजार छ सय ५६ मत प्राप्त गरी प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको छ ।
जिल्लाका ५७ मतदान केन्द्रबाट भएको मतदानमा कुल ४१ हजार चार सय ७१ मतदातामध्ये २५ हजार एक सय २२ मतदाताले मतदान गरेको र सोमध्ये ११ सय ८१ बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका उम्मेदवार, उत्तरगया-५ लहरे, बरथुम्का निबासी ४९ वर्षीय इञ्जिनियर आचार्य १० हजार छ सय ५६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । मत परिणाम घोषणा भएलगत्तै मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले नवनिर्वाचित सांसद आचार्यलाई विजयको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । मोहन पिता स्व.अनन्तप्रसाद आचार्य र माता ईश्वरीदेवि आचार्यको कोखबाट कान्छा सुपुत्रको रूपमा ४९ वर्षअगाडि कालिकामाईको पाउँ लहरेमा जन्मनुभएको थियो । उहाँले फिलिपिन्सबाट इञ्जिनियरिङको पढाइ पूरा गर्नु भएको छ । सानैदेखि सामाजिक सेवामा अभिरूची राख्ने आचार्यको विशेषता भनेको आफूपनि गल्ती नगर्ने र कार्यकर्तालाई पनि गल्ती गर्न नदिने उहाँको विषेशता रहेको उत्तरगया बेत्रावती गाउँपालिका उहाँका बाल्यकालका साथी इश्वरलाल श्रेष्ठले बताउनुभयो । गत २०७४ मा १४ हजार चार सय ५३ र २०७९ मा १८ हजार दुई सय ३५ मतले प्रतिनिधिसभा निर्वाचनमा विजय हुनुभएको थियो । यसपटकको निर्वाचनमा एमालेका पुर्वअध्यक्ष एवं प्रभावसाली नेता, संविधानसभा सदस्य जर्नादन ढकाल कांग्रेसमा प्रवेश गरेपनि आचार्यको भोट विगत दुई निर्वाचनमा भन्दा कम पाउनुभएको छ ।
निर्वाचनमा आचार्यका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले पाँच हजार पाँच सय ७१ मत प्राप्त गर्दै दोस्रो स्थान र नेकपा (एमाले) का प्रेम तामाङले चार हजार छ सय ८८ मत प्राप्त गरी तेस्रो स्थान सुरक्षित गर्नुभएको छ । यसैगरी, उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले एक हजार चार सय ५३ मत, नेकपाका माधवप्रसाद लामिछानेले नौ सय ५३ मत, नेशनल मंगोल अर्गनाइजेसनका विनोद थिङले चार सय ७४ मत, राप्रपाका हरिप्रसाद घिमिरेले ६० मत, नेकपा माओवादी (विप्लव) का होमप्रसाद आचार्यले ५० मत तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा साङ्मो तामाङले १० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये चित्रकुमारी देवकोटाले १२, शागर लामाले ११ र मिङ्मर तामाङले ३ मत प्राप्त गरेका छन् ।
विजयपछि निर्वाचन प्रमाणपत्र बुझ्ने क्रममा आचार्यले सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘‘रसुवाको समग्र विकासलाई प्राथमिकता दिनेछु, तत्काल आवश्यक योजना पहिचान गर्दै क्रमिक रूपमा जनताको आवश्यकता पूरा गर्नेछु ।’’ धुन्चे–गोसाईँकुण्ड केबुलकार तथा नौकुण्ड खानेपानी आयोजना निर्माणमा निकुञ्जका नीति-नियमका कारण देखिएका अवरोधलाई आवश्यक परिमार्जनमार्फत समाधान गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको समन्वयमा नेपाली सेना श्रीनाथ गण, सशस्त्र प्रहरी बल नेपालको २० नम्बर गुल्म, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले कडा सुरक्षा व्यवस्था मिलाएका कारण निर्वाचन अवधिभर कुनै अप्रिय घटना नभएकाले निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताउनुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यमा खटिएका सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी एवं सञ्चारकर्मी तथा राजनीतिक दलहरूको सहयोगका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीले बताउनुभयो ।






प्रतिक्रिया