विदुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नुवाकोट शाखाको सम्पर्क कार्यालय विदुर–२ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार स्थापना भएको छ । नेपालमा विसं २०५८ मा प्रतिष्ठान स्थापना भएको अवसरमा नुवाकोटमा कार्यालय स्थापना भएको २५औँ लोकदोहोरी दिवस २०८२ को अवसरमा सम्पर्क कार्यालयको उद्घाटन नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं प्रतिष्ठानका सल्लाहकार शरणउत्सुकले गर्नुभएको थियो ।

प्रतिष्ठानको गत कार्तिक २१ गते विदुरमा सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले गरेको प्रतिबद्धताअनुसार सम्पर्क कार्यालय खुलेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उत्सुकले नेपाली लोकगीत-सङ्गीतको संरक्षण र सम्वद्र्धनमा जिल्ला कार्यसमिति सक्रिय हुनुपर्नेमा जोड दिँदै प्रतिष्ठानलाई जिल्लाका १२ वटै पालिकामा विस्तार गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका बागमती प्रदेश समितिका सहकोषाध्यक्ष राजकुमार रिजालसहित कार्यसमितिका पदाधिकारी र सदस्यको उपस्थििित रहेको थियो । अध्यक्ष सन्तोषी केसीले आगामी वर्ष प्रतिष्ठानबाट जिल्लास्तरीय लोक तथा दोहोरी गीत प्रतियोगिता गर्ने, सबै पालिकामा सदस्यता विस्तार र कार्यालयको लागि भवन निर्माण गर्न स्थानीय सरकारसँग जग्गाको लागि पहल गर्ने बताउनुभयो ।
गत कात्तिकमा प्रतिष्ठानको निर्वाचनबाट अध्यक्षमा केसी, प्रथम उपाध्यक्षमा राजु रिजाल, द्वितीय उपाध्यक्षमा अर्जुन कोइराला, महिला उपाध्यक्षमा मन्दाकिनी रिमाल, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा सरोजजंग थापा, सहकोषाध्यक्षमा वासुप्रसाद कोइराला, सहसचिवमा सिर्जना नेपाल र सदस्यमा सुनिता पाण्डे, पवित्रा ओझा, सावित्री बख्रेल, दुर्गा थापा, शारदा बस्नेत, कल्पना घिमिरे, गोमा अधिकारी चयन भएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल विसं २०५८ मा स्थापना भएपनि नुवाकोटमा २०६३ मा स्थापना भएको अध्यक्ष केसीले बताउनुभयो ।






प्रतिक्रिया