धुन्चे । रसुवा जिल्लामा पहिलोपटक स्वास्थ्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले योग शिविर आयोजना गरिएको छ । ‘योग ध्यान, प्राणायाम, सञ्चालन तथा स्वास्थ्य पर्यटन प्रवद्र्धन’ नामक कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धुन्चे रसुवाको आयोजनामा रसुवा माविको छात्रवास हलमा चैत १ देखि सुरू भई ५ गते बिहीबार सम्पन्न भएको थियो ।
निःशुल्क योग, ध्यान तथा प्राणायामका अभ्यासको क्रममा हुन थालेपछि राष्ट्रसेवक र स्थानीयको क्रमशः रुचि बढ्न थालेको जिल्ला आयुर्वेदका प्रमुख डा.रोजिना ताम्राकारले बताउनुभयो । स्वास्थ्य पर्यटन प्रवद्र्धन कार्यक्रममार्फत सिकाइएका योग अभ्यासको ज्ञानले पवित्र तीर्थ गोसाइँकुण्ड जाने पर्यटक तथा लाङटाङ र तामाङ सम्पदामार्गमा यात्रामा आउनेलाई सेवा दिन स्फूर्ति रहने अपेक्षा गरिएको छ । रसुवामा पहिलोपटक आयोजना गरिएको योग शिविरको उद्घाटन जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले तुल वाचन गरेर गर्नुभएको थियो । कार्यक्रममा योग ध्यानका नियमित अभ्यासले शरीरका विभिन्न रोग–व्याधी हटाउनसमेत मद्दत पुग्ने बताइएको छ । कुनै पनि रोग लागेपछि उपचार महँगो हुने भएकाले नियमित योग तथा स्वास्थ्य सचेतनाले मानिसलाई निरोगी बनाउँदै आर्थिक रूपमा पनि सहजता ल्याउने आयुर्वेद कार्यालयका प्रमुख डा.ताम्राकारले बताउनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रसुवाले विभिन्न आयुर्वेदिक उपचार सेवा उपलब्ध गराउँदै समय–समयमा स्वास्थ्यमूलक जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सेवाग्राही टाइछिरिङ तामाङका अनुसार डा. ताम्राकारबाट प्रदान गरिने उपचार सेवा प्रभावकारी रहेकाले आयुर्वेदिक उपचारमा विश्वास बढेको छ । विसं २०५७ देखि जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको उक्त संस्थाले गानुगोला, अमलपित्त, पिनास, दम, रूघाखोकी, ज्वरो, उच्च रक्तचाप, पाइल्सलगायत विभिन्न रोगको उपचार सेवा पाइरहेको स्थानीय साङ्तेम्बा तामाङले बताउनुभयो ।






प्रतिक्रिया