आशिका तामाङ
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य
धादिङ १
धादिङबेँसी । यसपटक सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट धादिङमा दशकौँदेखि कायम परम्परागत राजनीतिक शक्तिको विरासत अन्त्य भएको छ । निर्वाचनबाट जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय हासिल गरेको छ । जिल्लाबाट प्रत्यक्षतर्फका दुईजनासहित समानुपातिकतर्फका पाँच सांसदले धादिङको प्रतिनिधित्व गरेका छन् ।
धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आशिका तामाङलाई मतदाताले परिवर्तनको संवाहक मानेर विजयी गराएका छन् । निर्वाचनपछि उहाँले सुरु गर्नुभएको केही कार्यलाई हेर्ने हो भने परिवर्तनको प्रतीकको रूपमा मान्न सकिने त्यस क्षेत्रका मतदाताले बताएका छन् । मोबाइल, क्यामेरा बोकेर सडकमा बेथिति खोज्दै हिँड्ने उहाँ आमनागरिकको भरोसा बोकेर संसद् सदस्य बन्नुभएको छ । उहाँले निर्वाचन आयोगबाट सांसद पदको आधिकारिक प्रमाणपत्र ग्रहण गर्दै शपथग्रहण गरेर संसद् प्रवेश गर्ने तयारी गरिरहनुभएको छ । नवनिर्वाचित सांसद तामाङले सुशासन स्थापना गर्दै भ्रष्टाचार अन्त्य गर्ने मुख्य एजेन्डासहित काम गर्ने बताउनुभएको छ । ‘भाषणभन्दा काममा विश्वास गर्छु,’ उहाँ भन्नुहुन्छ, ‘म काम गर्न आएकी हुँ, नागरिकको आशा र भरोसा मर्न दिनेछैन ।’
गफ र भाषणभन्दा परिणाममुखी काममार्फत जनताको अपेक्षा पूरा गर्ने आफ्नो प्राथमिकता रहने उहाँको भनाइ छ । तामाङ धादिङ हाल आर्थिक सामाजिक सूचाङ्कमा ५२औँ स्थानमा रहनुको प्रमुख कारण कुशासन र भ्रष्टाचार रहेको उल्लेख गर्दै यसलाई सुधार्न आफूले सक्दो प्रयास गर्ने बताउनुहुन्छ । सरकारी सेवामा पूर्ण डिजिटल प्रणाली लागू गरी खर्च विवरण नागरिकले मोबाइलमै हेर्न सक्ने ‘पारदर्शी ड्यासबोर्ड’ निर्माणमा पहल गर्ने उहाँको योजना छ । उहाँले शिक्षा, खेलकुद, उद्यमलाई एकीकृत गर्दै धुनीबेँसी र थाक्रे क्षेत्रका शैक्षिक संस्थामा कृषि, पर्यटन र सूचना प्रविधिसम्बन्धी सिपमूलक तालिम अनिवार्य बनाउने योजना बनाउनुभएको छ । ‘अध्ययनसँगै आम्दानी कार्यक्रममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने र युवाका लागि सहुलियत ऋण तथा स्टार्टअप इन्क्युबेसन केन्द्र स्थापना गर्ने लक्ष्य छ,’ उहाँ थप्नुहुन्छ, ‘कृषि क्षेत्रमा ‘मेड इन धादिङ’ अभियान सञ्चालन गर्दै मल, बिउ र बिमाको सहज व्यवस्था गर्नेछु ।’
स्थानीय उत्पादनलाई बजारसँग जोड्न सङ्कलन केन्द्र र कोल्ड स्टोरेज स्थापना गर्ने र धुनीबेँसी, थाक्रे, गल्छी, गजुरी र बेनीघाट-रोराङ क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी ‘विकेन्ड हब’ तथा र्याफ्टिङ पर्यटन प्रवद्र्धन गर्ने योजना पनि उहाँले सुनाउनुभयो । तामाङले सुरक्षित सडक सञ्जाल, खानेपानी र सिँचाइ विस्तार, जोखिमयुक्त बस्ती व्यवस्थापन तथा एकीकृत आवास कार्यक्रम लागू गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकामा टेलिमेडिसिन सेवा र विकट क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा सञ्चालन गर्ने, पृथ्वी राजमार्ग क्षेत्रमा अत्याधुनिक ट्रमा अस्पताल स्थापना गरी उपचारलाई छिटो सेवा लिने अवस्था सिर्जना गर्ने, आमाशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक सेवा र सामाजिक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो ।
निर्वाचन क्षेत्रका समस्या र अधुरा आयोजनाबारे संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै तामाङले जनतासँग प्रत्यक्ष संवाद गर्ने स्थायी संयन्त्र विकास गर्ने बताउनुभयो । विसं २०४५ कात्तिक १ मा धादिङको मलेखुमा जन्मिनुभएकी तामाङको पृष्ठभूमि राजनीतिक थिएन । कलाकारिताबाट सार्वजनिक जीवन सुरु गर्नुभएकी उहाँ पछि सामाजिक अभियन्ताका रूपमा स्थापित हुनुभयो । ‘ग्रिन एन्ड क्लिन आशिका फाउन्डेसन’ स्थापना गर्दै सरसफाइ, उपभोक्ता अधिकार र सामाजिक न्यायका अभियान चलाउँदै सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्नुभयो । पानी, खाद्यवस्तुमा बढी मूल्य असुली, सार्वजनिक स्थानको अव्यवस्थाजस्ता विषयमा उहाँले खुलेर आवाज उठाउनुभयो । जेन-जी आन्दोलनका घाइतेलाई सहयोग गर्दै अग्रपङ्क्तिमा उभिनुभएकी ‘राष्ट्रिय दिदी’ले धादिङ १ मा ३९ हजार एक सय २८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भूमि त्रिपाठीले १५ हजार ३२ मत, प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार सात सय नौ र नेपाली काङ्ग्रेसका कृष्णप्रसाद रिजालले १० हजार ८० मत प्राप्त गर्नुभएको छ ।






प्रतिक्रिया