शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । हामीलाई कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब सङ्क्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ । त्यसैले त कतिपय रोग लागे पनि आफैँ निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया नै गर्नुपर्छ । प्राकृतिक चिकित्साले भन्छ, ‘खाना नै औषधि हो ।’ तर, हाम्रो लागि त खाना नै विष बनिरहेको छ । हो, हाम्रो खानपानमै गडबड छ ।
खानुपर्ने के, खायौँ के
हाम्रो शरीरलाई जीवित वा तन्दुरुस्त रहन विभिन्न पोषकतत्त्व चाहिन्छ । त्यो पोषकतत्त्वको मूल स्रोत भनेको हामीले खाएका खानेकुरा हुन् । खासगरी चार थरीका पोषकतत्त्व हामीलाई जरुरी हुन्छ । कार्बोहाइड्रेड, फाइबर, प्रोटिन र फ्याट । त्यसबाहेक अरू थुप्रै सूक्ष्म पोषणतत्त्व शरीरलाई चाहिन्छ – आयोडिन, पोटासियम, म्याग्नेसियम आदि । तर, हामीले जे खाइरहेका छौँ, जसरी खाइरहेका छौँ, त्यसबाट यी पोषकतत्त्व प्राप्त भइरहेको छ त ? पहिलो कुरा, हामीले जे-जति खाइरहेका छौँ, त्यो प्राकृतिक रूपमा उम्रन, हुर्कन, फल्न पाएको छैन । दोस्रो कुरा, हामीले खाइरहेका खानेकुरालाई छिटो फलाउन, ठुलो बनाउन, लामो समयसम्म टिकाउन अनेक हर्मोनल इन्जेक्सनदेखि कीटनासक विषादीसम्म प्रयोग गरिएका छन् । तेस्रो कुरा, हामीले खानेकुरा पकाउँदा र खाँदा त्यसको पोषकतत्त्व जोगाउनेबारे सोचेका छैनौँ । चौथो कुरा, हामीले खानेकुराको सन्तुलन र मात्रा नमिलाई जथाभावी खाने गरेका छौँ । पाएको वेलामा नछोड भन्ने मानसिकताले हामीले खानेकुरा खाने गरेका छौँ ।
आयुर्वेदले भन्छ, ‘देश, काल, परिस्थिति, मौसम, पाचनक्षमता, मात्रा, प्रकृतिअनुरूप खानेकुरा खानुपर्छ ।’ यसरी आफू बसेको भूगोलमा, हावापानीअनुरूप सही मौसममा उत्पादित अन्नबाली नै हाम्रो लागि उचित भोजन हुन् । त्यसमा पनि आरोग्य र दीर्घायुका लागि हाम्रो थालीमा काँचो (सलाद, फलफुल, सागपात) ८० प्रतिशत हुनुपर्छ र पाकेको (चामल, दाल, मासु आदि) २० प्रतिशत हुनुपर्छ । विदेशतिर ‘रेन्बो डाइट’लाई प्राथमिकता दिइन्छ । यो भनेको खानेकुराको रङ्गमा पनि विविधता हुनुपर्छ । खासगरी सप्तरङ्गी खानेकुरा खानुपर्छ भनिन्छ । जस्तो हरियो साग, रातो गोलभेँडा, पहेँलो मकै, कालो दाल आदि ।
शरीरमा एन्टिबायोटिकले काम गर्न किन छाड्यो
रोग लागेर अस्पताल पुग्नुभयो भने सुरुवाती एन्टिबायोटिकले काम नै गर्दैन । किनभने हर्मोनल सुई र एन्टिबायोटिक दिइएको पशुको मासु खाएर हाम्रो शरीरमा एन्टिबायोटिको डोज बढिसकेको छ । हामीलाई अब सुरुवाती एन्टिबायोटिकले काम गर्न छाडिसकेको छ । कुनै पनि बिरामीलाई सुरुमा थर्ड जेनेरेसनको एन्टिबायोटिक दिइन्छ । त्यसले काम नगरेमा सेकेन्ड जेनेरेसनको । त्यसले पनि काम नगरेमा फस्र्ट जेनेरेसनको एन्टिबायोटिक चलाउने गरिन्छ । अहिले हामीलाई पहिलो र दोस्रो जेनेरेसनको एन्टिबायोटिकले काम नै नगर्ने अवस्था छ । हामी त्यति जटिल र संवेदनशील अवस्थामा छौँ । यसको एउटै जड हो-खानपान । आयुर्वेदको अभ्यास के छ भने खाना नै औषधीय गुणको भण्डार हो । काँचो खानेकुरा जस्तो फलफूल, सलाद, सागपात प्रशस्त खाने । तेल पनि एकदमै स्वस्थकर रहेको खाने । तर, हाम्रो थाली त्यस्तो छैन । दालभात, सागसब्जीसँगै हामी जंकफुड, फास्टफुडमा पल्किएका छौँ । यस्ता खानेकुरालाई लामो समय टिकाउन, मिठो बनाउन यस्ता रसायन प्रयोग गरिन्छ, जुन स्वस्थका लागि हानिकारक हुन्छ ।
रोग बोकिदिने अर्को मान्छे पाइँदैन
विख्यात ब्रान्ड ‘एप्पल’ का संस्थापक स्टिभ जब्स अग्नाशयको क्यान्सरले ग्रस्त थिए । जतिसुकै धनी, जतिसुकै प्रभावशाली भए पनि उनको मृत्यु नजिक थियो र जीवन पीडादायी अवस्थाको थियो । उनले भनेका थिए रे, ‘मसँग उच्च क्षमताका डाक्टर छन्, इन्जिनियर छन्, वकिल छन्, पाइलट छन् । सबै छन् । तर, मेरो रोग बोकिदिने वा मेरो खातिर मरिदिने कोही छैन ।’
आयुर्वेद पनि फेल भइसक्यो
आयुर्वेद भन्छ, ‘शरीर तीन कारणले रोगी हुन्छ – वात, कफ र पित्त ।’ यसलाई ‘त्रिदोष’ भनिन्छ । वात, कफ र पित्त जब दूषित हुन्छ, तब शरीरमा रोग उत्पन्न हुन्छ । त्रिदोषबाट मुक्त रहने उपाय पनि आयुर्वेदसँग छ, त्रिफला । यो भनेको हर्रा, बर्रा र अमला हो । तर, अब त्रिदोष निको बनाउन त्रिफलाले काम गर्नेवाला छैन । त्यसले काम गर्नका लागि हामी अबको पचास वर्ष पछाडि फर्कनुपर्नेछ । जुन वेला माटो शुद्ध थियो, हावा शुद्ध थियो, खाने अन्नपात शुद्ध थियो । त्यसवेला त्रिदोषबाट मुक्त हुन त्रिफलाले काम गथ्र्यो । आज हाम्रो शरीर नै रसायन, असन्तुलित हर्मोनले अर्कै बनाइदिएको छ । यदि आयुर्वेदको सूत्रले काम गर्ने हो भने हामी धेरै समय पछाडि फर्कनुपर्नेछ । त्यो कालखण्डमा बाँच्नुपर्नेछ । तर, अहिले जमाना फेरिएको छ । माटो फेरिएको छ । हावा फेरिएको छ ।
अब के गर्ने त
अस्पताल खोल्नभन्दा समस्याका मूल कारक तत्त्व अज्ञान हटाउन तीन तहका सरकारले लगानी र अभिप्रेरणा जगाउने कार्यक्रम ल्याउनुपर्छ । त्यससँगै माटो र पर्यावरण सुधार्न लगानी गर्नुपर्छ । हाम्रो परम्परा तथा संस्कृतिको जगेर्ना गर्दै सहरलाई कङ्क्रिटको जङ्गलबाट महत्त्वपूर्ण बोटबिरुवामा रूपान्तरण गराउँदै हरियाली सहर बनाउने । सरकारले पञ्चमहाभूतलगायत माटोलाई शुद्ध बनाउने, प्राकृतिक तरिकाले उत्पादन बढावा गर्ने, जमिन व्यवस्थापन र रैथाने गाई पालनमा प्राथमिकता र प्रोत्साहन गर्ने ।
क. खानपानमा सुधार : खानपानमा गल्ती गर्ने हामी तीन थरीका छौँ । एकथरी, जो जानीजानी खराब खानपान गरिरहेका छन् । दोस्रोथरी, जो अज्ञानतावश त्यस्ता खानेकुरा खाइरहेका छन् । तेस्रोथरी, सचेत हुँदाहुँदै पनि बाध्यतामा त्यस्ता खानेकुरा खाइरहेका छन् । यस्तो अवस्थामा हामी प्रकृतितर्फ फर्कनु सर्वोत्तम विकल्प हो । आफ्नै खेतीबारीमा काम गर्ने, शुद्ध, ताजा, मौसमी खानेकुरा उत्पादन गरेर खाने । त्यो पनि सम्भव नभए बजारमा उपलब्ध खानेकुराको शुद्धताबारे हेक्का राख्ने । अप्राकृतिक ढङ्गले उत्पादन गरिएका, रसायन मिसाइएका, बेमौसमी खानेकुरा वर्जित गर्ने । यस्ता कुरामा सचेतना जगाउन विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा त्यस्ता विषय समावेश गर्ने ।
ख. आयुर्वेदका ज्ञानको प्रसार : आयुर्वेद शिक्षा गाउँसम्म प्रचार होस् । त्यससँगै अहिले आयुर्वेदको सिद्धान्तअनुसार खानेकुराबाट पर्याप्त पोषण प्राप्त गर्न षडरसयुक्त सन्तुलित भोजन लिने । खानेकुरा नै विषाक्त बनिरहेको र त्यसबाट पर्याप्त पोषकतत्त्व नपाइरहेको अवस्थामा यो एउटा राम्रो विकल्प हुन सक्छ । (लेखक पातञ्जल योग समिति नेपाल नुवाकोटका अध्यक्ष हुनुहुन्छ ।)






प्रतिक्रिया