- बागमती प्रदेश सरकारको ‘शिव परिपथ’ परियोजना कार्यान्वयनमा ढिलाइ भएको छ, मन्त्री फेरिएसँगै यो सुस्ताएको हो ।
- पूर्वमन्त्री मास्केले धार्मिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले यो योजना ल्याएका थिए, तर हालसम्म काम सुरु हुन सकेको छैन ।
- परियोजनाको अध्ययनका लागि बजेट विनियोजन भए पनि जिल्ला कार्यालयले काम सुरु गरेका छैनन्, जसले गर्दा निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
विदुर । बागमती प्रदेश सरकारले निकै महत्त्वका साथ अघि सारेको ‘शिव परिपथ’ परियोजना कार्यान्वयनको चरणमा अल्झिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धार्मिक पर्यटन विकास गर्ने उद्देश्यका साथ अघि सारेको सो परियोजनाको कार्यान्वयनमा जालझेल भइरहेको छ ।

तत्कालीन सरकारले प्रदेशको रूपान्तरणकारी योजनाको रूपमा अघि सारेको उक्त कार्यक्रम मन्त्री फेरिएसँगै ओझेलमा परेको हो । तत्कालीन मन्त्री अमनकुमार मास्केले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुसार बागमती प्रदेशभित्रका ६४ वटा शिवलिङ्गलाई परिक्रमा गर्न सक्ने गरी भौतिक पूर्वाधार निर्माणको योजना तयार गर्नुभएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा तयार गरिएको उक्त कार्यक्रममा तत्कालीन मन्त्री मास्केले पूर्वसम्भाव्यता अध्ययनसम्मको काम सकेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउनुभएको थियो । कार्यान्वयनको चरणमा उहाँ मन्त्रीबाट बाहिरिनुभयो । विसं २०८२ साउन २० मा सरकार परिवर्तन भयो र मन्त्री फेरिए । तत्कालीन समयमा काङ्ग्रेस-एमालेको गठबन्धनको सरकारमा एमालेबाट उहाँ मन्त्री बन्नुभएको थियो । हाल प्रदेशमा सोही गठबन्धनबाट एमालेका डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ । दल एकै भए पनि उक्त कार्यक्रम कार्यान्वयनमा भने एकरूपता देखिएको छैन । तत्कालीन मन्त्री मास्के प्रदेश सभा सदस्यबाट राजीनामा गरेर गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएको थियो । यद्यपि, उहाँ पराजित हुनुभयो । मास्केको जोडबलमा चालू आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रम कार्यान्वयन गर्न रु. पाँच करोड ९२ लाख विनियोजन भएको छ । डिपिआर र अध्ययनका लागि रु. २५ लाख विनियोजन गरिएको छ भने निर्माणमा लागि रु. पाँच करोड ६७ लाख तीनवटा कार्यालयका लागि विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो ।
‘हिमवत्खण्ड’ स्कन्दपुराणअन्तर्गतको एक खण्ड हो, जसमा वर्तमान बाग्मती प्रदेशका सिन्धुली, दोलखा, रसुवा, धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ जिल्लाभित्र रहेका ६४ शिवलिङ्गको वर्णन गरिएको छ । ६४ शिवलिङ्गमध्ये दुईवटा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वरमा र बेलकोटगढी नगरपालिकाको चिम्टेश्वरमा रहेका छन् । दुवै क्षेत्रबाट सुरु भई पशुपतिनाथमा टुङ्गिने यो प्राचीन पदमार्गमा शिवलिङ्ग मात्र नभई, तपोभूमि, पवित्र नदी तथा तीर्थस्थल पनि समेटिएका छन् । १५औँ शताब्दीदेखिका हस्तलिखित ग्रन्थमा यी स्थानको पठन-पूजन परम्पराले यसको ऐतिहासिक महत्त्वलाई अझ स्पष्ट बनाएको छ ।
सो योजना कार्यान्वयनका लागि तीनवटा कार्यालयलाई बजेट र जिम्मेवारी तोके पनि हालसम्म कुनै पनि कार्यालयले काम सुरु गरेका छैनन् । परियोजनाको अध्ययन र डिपिआर निर्माणका लागि विनियोजित बजेट खर्च गर्ने र काम अघि बढाउने सवालमा मन्त्रालयले काम थाले पनि जिल्ला कार्यालयको बजेट कार्यान्वयन अघि नबढेको दाहालले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा यो परियोजनाको अध्ययन कार्य थालिएको थियो भने चालू आर्थिक वर्षमा सो कार्यका लागि रु.२५ लाख विनियोजन गरिएको थियो । उक्त बजेटबाट क्लिन डेभलपमेन्ट प्रा.लि.ले रु१६ लाख ८८ हजारमा सम्झौता गरेर अध्ययनको काम गरिरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा सिन्धुलीको दुम्जास्थित कुशेश्वरको डिपिआरको ड्राफ्ट तयार भई मन्त्रालयमा प्रस्तुतीकरण भएको छ । उक्त डिपिआरमा प्राप्त सुझाव समावेश गरी पूर्णता दिएर मन्त्रालयमा प्राप्त भएपछि निर्माणको चरणमा अघि बढ्न सकिने दाहालको भनाइ छ ।
सोबाहेक उक्त कार्यक्रमका लागि जिल्लास्थित कार्यालयमार्फत खर्च गर्ने गरी प्रत्येकलाई रु.एक करोड ८९ लाख बजेट विनियोजन गरिएकामा हालसम्म खर्च नभएको उहाँले बताउनुभयो । सहरी विकास तथा भवन कार्यालय सिन्धुलीबाट सिन्धुलीखण्ड, सहरी विकास तथा भवन कार्यालय काठमाडौँबाट काठमाडौँ खण्ड र सहरी विकास तथा भवन कार्यालय काभ्रेबाट काभ्रे खण्डको निर्माण थाल्ने गरी बजेट विनियोजन गरिएको थियो । अध्ययनको क्रममै रहेको उक्त परियोजना निर्माणका लागि ठेक्का आह्वान गर्न अझै केही समय लाग्ने देखिन्छ । मन्त्रालयका सूचना अधिकारी दाहालका अनुसार सिन्धुलीको डिपिआर सकेलगत्तै ठेक्का आह्वान गर्न सक्ने अवस्था छ । यद्यपि, डिपिआरको काम अझै जारी छ । अन्य दुई जिल्लाको बजेट कार्यान्वनय तथा निर्माण कार्यको सवालमा भने मन्त्रालयले निर्णय लिन सक्ने उहाँले बताउनुभयो । मन्त्रालयले सिन्धुलीको डिपिआरलाई आधार मानेर ठेक्का आह्वान गर्न सक्ने उहाँले जानकारी दिनुभयो । ठेक्का आह्वान भएको खण्डमा उक्त परियोजना निर्माणको चरणमा अघि बढ्ने उहाँको भनाइ छ ।
के हो शिव परिपथ परियोजना
तत्कालीन मन्त्री मास्केले ‘शिव सर्किट’लाई प्रदेशको समृद्धिको आधार र धार्मिक पर्यटनको केन्द्र बनाउने उद्घोषसहित बजेट विनियोजन गर्नुभएको थियो । मास्केले सो परियोजनाले प्रदेशका १० वटा जिल्लालाई जोड्ने र भारतीय पर्यटक भित्र्याउने योजनासहित निर्माणको तदारूकता देखाउनुभएको थियो । पूर्वमन्त्री मास्केले धार्मिक पदयात्रा परम्परालाई पुनर्जीवन दिँदै पर्यावरणमैत्री विकासको विकल्पमा आधारित हुने गरी सो परियोजना अघि बढाएको बताउने गर्नुभएको छ । शिव सर्किट परियोजना स्थानीय स्रोत, सिप र प्रविधिको अधिकतम उपयोगसहित स्थानीय समुदायलाई सहभागी गराएर कार्यान्वयन गरिने योजनामा आधारित रहेको उहाँको भनाइ छ । सो परियोजनाले रोजगारी सिर्जना, उत्पादन र बजार विकास, सिप हस्तान्तरणलगायत क्षेत्रमा योगदान हुन सक्ने उहाँले बताउनुभयो । शिव सर्किट परियोजना नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण हुनेछ । परियोजनाको मूल आधार प्राचीन वैदिक, हिन्दु र बौद्ध वाङ्मयमा उल्लेखित ‘हिमवत्खण्ड’मा वर्णन गरिएका ६४ शिवलिङ्ग तथा तीर्थस्थल हुने र जसले बागमती प्रदेशका अधिकांश जिल्ला समेट्ने पूर्वमन्त्री मास्केले बताउनुभयो । ‘धार्मिक पदयात्रा परम्परालाई पुनर्जीवन दिँदै यो परियोजना पर्यावरणमैत्री र जनमैत्री बन्ने छ,’ उहाँले भन्नुभयो, ‘परियोजना बहुयातायात विकल्पमा आधारित हुनेछ । पदयात्रा, साइकलमार्ग, मोटर यात्रा, केबुलकारलगायत माध्यममार्फत विभिन्न वर्ग र उमेरका तीर्थयात्री तथा पर्यटकलाई सहज बनाउने सोच राखिएको छ ।’ शिव सर्किट परियोजना स्थानीय स्रोत, सिप र प्रविधिको अधिकतम उपयोगसहित स्थानीय समुदायलाई सहभागी गराएर कार्यान्वयन गरिने बताइएको थियो । यसबाट रोजगारी सिर्जना, उत्पादन र बजार विकास, सिप हस्तान्तरणलगायत क्षेत्रमा योगदान हुने अपेक्षा गरिएको थियो ।






प्रतिक्रिया