गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गत गेर्खुखोला, बेत्रावती खण्डको तिरतिरे भिर क्षेत्रको पहिरो नियन्त्रण गर्न ध्यान नदिँदा सडक अवरूद्ध हुने जोखिममा । नुवाकोट जिल्ला, विदुर–१० स्थित सो क्षेत्रमा गत वर्षदेखि नै जोखिम मोल्दै पैदलयात्री र सयौँ सवारी साधन हिँड्दै र गुड्दै आइरहेका छन् । योजना कार्यालयले समयमै पहिरो मर्मतसम्भार तथा खार्ने–सम्याउने नगर्ने हो भने कुनै पनि बेला ठुलो दुर्घटना आउने र यातायात अवरुद्ध हुने चेतावनी नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव एवं स्थानीयवासी उपेन्द्र बुढाथोकीले दिएका छन् ।
चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्गका रूपमा निर्माण सुरू भएको १० वर्षमा पनि सो सडकको ५० प्रतिशत काम नहुनु विडम्बनापूर्ण छ । योजनाका कर्मचारी छन्, बजेट छ तर काम भने अगाडि बढ्न नसक्नामा जिम्मेवारी निकाय को हो भनी जनताले जान्न पनि चाहेका छन् । यस क्षेत्रमा अन्य वैकल्पिक स्थलमार्ग नहुँदा समस्या पनि छँदै छ । वर्तमान सरकारको कुनै पनि आयोजनामा ढिलासुस्ती हुन नदिने नीति भए पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको हो कि भन्ने प्रतीत जिल्लावासीलाई भएको छ ।







प्रतिक्रिया