बागमती : एक लाख १० हजार, नुवाकोट : चार हजार, धादिङः पाँच हजार, रसुवा : साढे पाँच सय सहभागी
विदुर । माध्यमिक शिक्षा परीक्षा ७७ जिल्ला र जापानमा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई सुरु हुने जनाएको छ । यस वर्ष एसइईमा बागमती प्रदेशका एक लाख नौ हजार पाँच सय १३ मध्ये नुवाकोटका चार हजार दुई सय २५, धादिङका पाँच हजार ४६ र रसुवाका पाँच सय ५७ परीक्षार्थी सहभागी हुने जानकारी सम्बन्धित कार्यालयले दिएका छन् ।
आज चैत १९ देखि सुरु भई २९ गते सम्पन्न हुने एसइईमा यस वर्ष देश र विदेशका गरी पाँच लाख १२ हजार चार सय २१ विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार पाँच सय ६६ जनाले र ग्रेडवृद्धितर्फ ७० हजार आठ सय ५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । नेपालबाहेक जापानमा एक केन्द्रमा २३ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । पहिले फलामे ढोका भनिने विद्यालय शिक्षाको अन्तिम कक्षा १० सम्म रहेको एसएलसी परीक्षाका सट्टा अब कक्षा १२ सम्म विद्यालय व्यवस्था रहेकाले पुरानो हाउगुजी पनि रहेको छैन ।
यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार आठ सय एक छात्र र अन्य सातजना परीक्षामा सहभागी हुनेछन् । अधिकारीका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । यस वर्ष कोशीबाट ८२ हजार चार सय ८७, मधेशबाट ९० हजार दुई सय ४३, बागमतीबाट एक लाख नौ हजार पाँच सय १३, गण्डकीबाट ४३ हजार नौ सय ७२, लुम्बिनीबाट ९१ हजार आठ सय दुई, कर्णालीबाट ३९ हजार सात सय ६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६ सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । बोर्डले परीक्षाका लागि देशभर एक हजार नौ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने देशभरका ११ हजार तीन सय ७९ विद्यालयका विद्यार्थी सहभागी हुने जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा तथा चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय एवम् चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
सामूहिक अनुगमनमा रोक
बोर्डले यस वर्ष एसइईको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि परीक्षा कक्षमा प्रवेश गर्दा सहभागी परीक्षार्थीको लेखनमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले त्यसमा रोक लगाएको बताइएको छ । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उहाँले बताउनुभयो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । परीक्षा हलभित्र दृश्य छायाङ्कन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ । सातै प्रदेशमा फरक प्रश्नपत्र छपाइ गरिएको तथा ६ वटै अनिवार्य विषयका प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र छापिएको छ ।
सुरक्षा व्यवस्था
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यद्यपि, प्रत्येक केन्द्रमा १५ प्रहरी, एक एक केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थीबराबर एक निरीक्षक, एक सय परीक्षार्थीबराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
चार सय परीक्षार्थी कम
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले यस वर्षको एसइईमा अघिल्लो वर्षभन्दा परीक्षार्थी र केन्द्र घटेको जनाएको छ । जिल्लाबाट अघिल्लो वर्ष नियमित साधारणतर्पmबाट तीन हजार चार सय ४४, ग्रेडवृद्धितर्फ नौ सय ४५, प्राविधिकतर्फ दुई सय २६ सहित चार हजार ६ सय १५ सहभागी भएकामा यस वर्ष नियमित, ग्रेडवृद्धि र प्राविधिकतर्फ गरी चार हजार दुई सय २५ परीक्षार्थी हुने बताइएको छ । गत वर्षभन्दा यस वर्ष एसइई दिने तीन सय ९० परीक्षार्थी घटेको परीक्षा शाखा प्रमुख सम्झना थपलियाले बताउनुभयो । यस वर्ष १९ परीक्षा केन्द्रमा नियमित साधारणतर्फ तीन हजार एक सय ७२, ग्रेडवृद्धितर्फ आठ सय २७, प्राविधिकधारतर्फ दुई सय २६ गरी कुल परीक्षार्थी चार हजार दुई सय २५ रहेको जनाइएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष एसइईका परीक्षा केन्द्र दुईवटा घटेका छन् । अघिल्लो वर्ष कायम रहेको परीक्षा केन्द्र भैरवी मावि विदुर–२ र पञ्चकन्या मावि बेलकोटगढी यस वर्ष हटेका छन् । यस वर्ष चण्डेश्वरी मावि विदुर–७ तुप्चे, त्रिभुवन त्रिशूली मावि विदुर–१ त्रिशूली, अर्किड एकेडेमी विदुर–४ बट्टार, भैरूम मावि विदुर–८ हात्तीगौंँडा, च्वाडी पब्लिक मावि विदुर–५ माझीटार, रणभुवनेश्वरी मावि विदुर–५ देवीघाट, महादेव मावि बेलकोटगढी–५ रातमाटे, नवजीवन मावि ककनी–६, क्षेत्रपाल मावि लिखु–४ चौघडा, अमरज्योति मावि तादी–३ खरानीटार, सुन्दरा मावि तादी–२ सातबिसे, रुक्मणी मावि दुप्चेश्वर–६ समुन्द्रटार, कुण्डला मावि पञ्चकन्या, भद्रुटार, बागेश्वरी मावि सूर्यगढी–३ चोकदे, जनज्ञान निकेतन मावि शिवपुरी–८ थानापति, कामरुदेवी मावि बेलकोटगढी–५ दुईपिपल, सुभेनियर बोर्डिङ स्कुल विदुर–२ बट्टार र पृथ्वी मावि विदुर–४ विदुर परीक्षा केन्द्र कायम छन् ।
प्रवेशिका परीक्षा २०८२ सकिएलगत्तै देशका अधिकांश जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइका समन्वयमा उत्तरपुस्तिका परीक्षण हुनेछ भने कतिपय सुरक्षा संवेदनशील जिल्लाको परीक्षणको ठाउँ बोर्डले नै तोक्ने बताइएको छ । बोर्डले परीक्षा सकिएको दिनदेखि तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने वार्षिक पात्रो नै तय गरेको छ । यही २०८३ असार तेस्रो हप्तामा नतिजा प्रकाशन गर्ने गरी परीक्षालगत्तै उत्तरपुस्तिका परीक्षण थालिने बोर्डले जनाएको छ ।
नलेऊ डर
धादिङबेँसी–शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा नियमिततर्फ चार हजार दुई सय ४६ र ग्रेडवृद्धितर्फ आठ सय विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लाभर २४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सुवेदीका अनुसार समग्र विद्यार्थी सहभागिता सन्तोषजनक देखिए पनि गत वर्षको तुलनामा नियमिततर्फ दुई सय ६३ विद्यार्थी घटेका छन् । ‘परीक्षालाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौँ,’ उहाँले भन्नुभयो । उहाँले अभिभावक र विद्यार्थीलाई कुनै डरविना आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो । गत वर्षभन्दा यस वर्ष परीक्षा अझ व्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिने लक्ष्य रहेको सुवेदीले बताउनुभयो । परीक्षामा सामुदायिकतर्फ एक सय ४३ र संस्थागत १८ गरी एक सय ६१ विद्यालय सहभागी हुनेछन् ।
आधा दर्जन केन्द्र
धुन्चे–रसुवाबाट यसपटक पाँच सय ५७ विद्यार्थी सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका सूचना अधिकारी जीवन दाहालका अनुसार जिल्लाभरबाट नियमिततर्फ चार सय ७६ र ग्रेडवृद्धितर्फ ८१ गरी पाँच सय ५७ र प्राविधिक धारततर्फ ५५ परीक्षार्थीले परीक्षा दिनेछन् ।
जिल्लामा ६ केन्द्र निर्धारण गरिएको छ । रसुवा मावि धुन्चे, स्यामेवाङ्फेल मावि स्याफ्रुबेँसी, कालिका हिमालय मावि कालिकास्थान, नीलकण्ठ मावि बोगटीटार, नीलकण्ठ नमुना मावि जिबजिबे र गौतम बुद्ध मावि फाम्चेत परीक्षा केन्द्र छन् । यस्तै, प्राविधिक धारतर्फबाट नीलकण्ठ मावि बोगटीटारबाट १९ र गोसाईँकुण्ड मावि सरस्युबाट ३६ विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ ।






प्रतिक्रिया