देवीघाट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोमबार एक विशेष साहित्यिक समारोहबिच दुई नयाँ कृतिको विमोचन गरेको छ । विदुर-५, देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको हलमा साहित्यकारद्वय जानुका दाहालको पहिलो कृति ‘गर्भको निःश्वास’ र श्रीराम श्रेष्ठको ३१औँ कृति ‘कृतिसँग संवाद’ (पठन, प्रश्न र ध्वनि) सार्वजनिक गरिएको हो ।
कार्यक्रममा जिल्लाका लब्धप्रतिष्ठित साहित्यकार, बुद्धिजीवी तथा समाजसेवीले संयुक्त दुई कृति विमोचन गर्नुभएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति राजु थापा, प्रतिष्ठानका निवर्तमान अध्यक्ष रामकृष्ण गजुरेल, समाजसेवी रामकृष्ण भट्ट, ध्रुव ढकाल, शिक्षासेवीद्वय शम्भुप्रसाद शर्मा र रामप्रसाद जोशीलगायतले कृतिबारे चर्चा गर्नुभएको थियो । नुवाकोटको साहित्यिक श्रीवृद्धि र सर्जकको प्रोत्साहनका लागि निरन्तर क्रियाशील रहँदै आएको प्रतिष्ठानको समेत सहभागीले प्रशंसा गर्नुभएको थियो । साहित्यकार दाहालको पहिलो कृति ‘गर्भको निःश्वास’ एक हजार एक सय प्रति प्रिन्ट भएको पुस्तक १५५ पृष्ठ रहेको छ । जसमा ६६ कविता समेटिएको छ । पुस्तकको मूल्य रु. दुई सय ७५ रहेको छ । त्यसैगरी, साहित्य सिर्जनामा सक्रिय साहित्यकार श्रेष्ठको कृति ‘कृतिसँग संवाद’ (पठन, प्रश्न र ध्वनि) मा एक हजार प्रति प्रिन्ट भएको पुस्तक २८८ पृष्ठ रहेको छ । जसमा विभिन्न २४ साहित्यकारको कृतिको समीक्षा समेटिएको छ । पुस्तकको मूल्य व्यक्तिगत रु. तीन सय र संस्थागत रु. पाँच सय रहेको छ ।






प्रतिक्रिया