विदुर । नुवाकोट जिल्लाको मुख्य पर्व देवी र सिन्दूरेजात्राको विदुर नगरपालिका–२ को भैरवी मन्दिर र विदुर–७ देवीघाट जालपादेवी क्षेत्रमा रौनक र चहलपहल बढेको छ । यो पर्व सिन्दूरे (वर्षबन्धन) जात्राको सुरुवात गत फागुन १९ गते विधिपूर्वक शुभारम्भ भएको थियो ।
यस वर्षको देवीजात्रा जालपादेवी मन्दिरपरिसर देवीघाटमा बिहीबार र सिन्दूरेजात्रा भैरवी मन्दिरपरिसर नुवाकोट दरबार क्षेत्रमा शनिबार हुने नेपाल सरकारका प्रतिनिधि नुवाकोट दरबार मौला अमालका महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । जात्राको समापन चैत २९ गते आइतबार हुनेछ । जात्राको शुभारम्भ फागुपूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चल्छ । विगतदेखि नै देवी र सिन्दूरेजात्रामा जिल्लावासी विशेष महत्त्वकासाथ सहभागी हुने गरेका छन् । गत वर्ष नयाँ वर्षकै दिन सिन्दूरेजात्रा परेको थियो । सिन्दूरेजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी र भैरवी मन्दिरका पुजारी, धमिनीका साथै द्वारे, कुमार, गणेश तथा गुठियारको व्यवस्था गरिएको विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो । देवी र सिन्दूरेजात्रा कहिलेदेखि चल्दै आएको हो भन्न यकिन गर्न सकिएको छैन । युवापुस्ताले पर्वप्रति रुचि र चासो नदिँदा बर्सेनि सञ्चालनमा समस्या हुने गरेको स्थानीय भैरवी माविका शिक्षक रामहरि आचार्यले बताउनुभयो ।
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा जस्तै नुवाकोट पनि विभिन्न जात्रा नै जात्राको नगर भन्दा फरक पर्दैन । फागुपूर्णिमाका दिनदेखि पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा चैतकृष्ण औँसीका दिन नारायणजात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्छ । यसलाई सानो सिन्दूरेजात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेँसी पु¥याई भोलिपल्ट फर्काइन्छ । नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेकी माता भैरवी देशको रक्षक मानिन्छिन् । नेपाल–चीन युद्घ हुँदा श्री ५ रणबहादुर शाहले भैरवीको आराधना गरेको र दैवी शक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास छ । सिन्दूरेजात्राको मुख्य आकर्षण भैरव र अष्टमातृकाका मूर्ति सजाइएको रथयात्रा, जीवित भगवान्का रूपमा पुजिने धामी–धमिनी र लिङ्गो गाड्ने नै हो । हेर्दा सामान्य काठको लिङ्गो देखिए पनि यसलाई देवत्वकरण गर्न विधिवत् पूजाविधि अपनाइन्छ । यस जात्राका लागि सालिन्दा एक नयाँ लिङ्गो काट्ने चलन छ जुन ४२ हातको हुनुपर्छ । यसलाई नेपाली सेनाले चैत शुक्ल नवमीका दिन तान्ने परम्परा रहिआएको छ । चैत शुक्ल चतुर्दशीका दिन बेलुका कुमारीका हातबाट तीनपटक चाँदीको करुवाबाट धामीको स्नानसँगै जात्रा सुरु हुन्छ । सगुन लिएर बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोसाक पहि¥याइन्छ । त्यसपछि धामी आफ्नो निवासबाट सगुन लिएर बाहिर निस्की द्वारेका घरमा पुग्छन् । तान्त्रिक विधिद्वारा बज्राचार्यले क्षेत्रपालमा मन्त्रोच्चारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने तथा बज्राचार्यद्वारा धामी–धमिनीमा भैरव–भैरवी चढाउने विधि गरिन्छ । महाबलि सम्पन्न भइसकेपछि बाजागाजाका साथमा यात्रा बुढीदेवता स्थान (भैरवीको माइती)तिर पुगी लिङ्गो उठाउने कार्य प्रारम्भ हुन्छ । नेपाली सेनाको सहायतामा बुढीभैरवी (भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एक लिङ्गो गाड्ने गरिन्छ । यी लिङ्गोहरू वैशाखकृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ । चैत शुक्ल पूर्णिमाका दिन बिहान धामीलाई गणेशका घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरबार (हाल तुलजा भवानीसँगै घरमा) को बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा सकिएपछि यात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको सङ्गमस्थल देवीघाट (जाल्पादेवी)तर्फ प्रस्थान गर्छ । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोका र अन्त्यमा माछाको भोग दिइन्छ । सो भोग सकिएपछि धामी–धमिनीलगायत अन्य गण भोलिपल्ट बिहानै बाजागाजाका साथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् ।
विदुर–२ का वडाध्यक्षले वैशाखकृष्ण प्रतिपदाका दिन धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्मानार्थ नेपाली सेनाले दुई सलामी (निशान झन्डा र भैरवी सलामी) बढाइँ दिने बताउनुभयो । उहाँका अनुसार जात्रा अवधिभर नेपाल प्रहरीको पनि विशेष सहयोग रहनेछ । बढाइँ सकिएपछि रथ उठाएर धामी–धमिनीको यात्राका साथ सैनिकको संलग्नतामा बन्दुकको आवाजसँगै बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ । यो यात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजयोत्सवका रूपमा देवीको प्रसादस्वरूप सिन्दूर हालिन्छ र यसले सिन्दूरेजात्राको रूप लिन्छ ।






प्रतिक्रिया