+
Search

ताजा अपडेट +

पपुलर +

विनपाबाट ३७ विद्यालय र २०१ विद्यार्थी पुरस्कृत

पृथ्वी, कालिका र भैरवीले रू.एक–एक लाख

विनपाबाट ३७ विद्यालय र २०१ विद्यार्थी पुरस्कृत
त्रिशूली प्रवाह
२ दिन अगाडी

विदुर । विदुर नगरपालिकाले वार्षिक कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई आइतबार सम्मान एवम् पुरस्कृत गरेको छ । जिल्ला समन्वय समितिको सभा कक्ष विदुरमा आयोजित ‘शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, वडाध्यक्षलगायतले गत शैक्षिक सत्रमा विदुर नगरपालिका क्षेत्रका उत्कृष्ट नतिजा ल्याउने शिक्षण संस्था र विद्यार्थीलाई नगदसहित सम्मान गर्नुभएको थियो ।

नगरपालिकाभित्र रहेका ६० विद्यालयमध्ये परीक्षामा उत्कृष्ट हुने ३७ विद्यालय र विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा पाँच, आठ परीक्षा र एसइईमा चार जिपिए प्राप्त गर्ने दुई–दुई विद्यार्थीलाई रु.पाँच–पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी, कक्षा आठको परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने तीनवटा सामुदायिक विद्यालयलाई नगद एक–एक लाख र प्रशंसापत्र प्रदान गरिएको थियो । नगद एक लाख र प्रशंसापत्र पाउने विद्यालयमा पृथ्वी मावि विदुर–४ विदुर, भैरवी मावि विदुर–२ अशोकबाटिका नुवाकोट, कालिका मावि विदुर–११ गेर्खु रहेका छन् । त्यसैगरी, सातवटा संस्थागत विद्यालयलाई नगद सात हजार एक सय ५० र प्रशंसापत्र प्रदान गरिएको थियो । शैक्षिक सत्र २०८१ को कक्षा पाँच, आठ, एसइई र कक्षा १२ को परीक्षामा ३.८० र सोभन्दा माथि जिपिए प्राप्त गर्ने दुई सय एक जना विद्यार्थीलाई नगद एक हजार र प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने क्रमशः तीन र २४ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले शिक्षाको गुणस्तर सुधार र प्रतिस्पर्धात्मक भावनाको विकास नै नगरपालिकाको मुख्य प्राथमिकता रहेको बताउनुभयो । ‘विद्यार्थीको मिहिनेत र विद्यालयको समर्पणलाई कदर गर्न पाउँदा हामीलाई गर्व लागेको छ । यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढ्नुका साथै अन्यलाई पनि उत्कृष्टताका लागि प्रेरित गर्नेछ,’ उहाँले उल्लेख गर्नुभयो ।

शैक्षिक उपलब्धिलाई सामाजिक मान्यता प्रदान गर्दै समग्र नगरको शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उपप्रमुख बोगटीले बताउनुभयो । विदुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्थालाई प्रोत्साहन गर्न र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितले जानकारी दिनुभयो । सम्मानित विद्यार्थीमा देखिएको उत्साहले आगामी दिनमा जिल्लाकै शैक्षिकस्तर थप उकासिने नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह