+
Search

ताजा अपडेट +

पपुलर +

७७ वटै जिल्लामा आजबाट मतदाता अद्यावधिक सुरू

७७ वटै जिल्लामा आजबाट मतदाता अद्यावधिक सुरू
त्रिशूली प्रवाह
५ घण्टा अगाडी

विदुर । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आजबाट ७७ वटै जिल्लामा सुरू गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा भई निर्वाचन कार्यक्रम  सुरू भएपछि मङ्सिर ६ गतेसम्म जारी भई रोकिएको नामावली सङ्कलन र अद्यावधिक कार्य आयोगको चैत १८ गतेको निर्णयानुसार पुनः सुरू गरिएको हो ।

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चैत २२ गतेदेखि पुनः नामावली सङ्कलन र अद्यावधिक कार्य सुरू भएको छ । आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले सोही विवरणका आधारमा अनलाइनबाटै नामावली नाम दर्ता गर्न सक्ने छन् । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकको हकमा आयोगको प्री इन्रोलमेन्ट प्रणालीमार्फत अनलाइनबाट नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगको प्रणालीबाट नाम दर्ता गर्ने नागरिकले फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ । यस्तै नामावलीमा रहेको त्रुटि सच्याउन अनलाइनबाटै आवेदन दिन सकिने आयोगले जनाएको छ ।

नाम, थर, ठेगाना सच्याउने; एकै वडाभित्र दुई वा सोभन्दा वढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने; नागरिकताअनुसारको विवरण नभई फरक परेकोमा सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका विवरण सच्याउन पाइने छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमबहादुर थापाले दिएको जानकारीअनुसार आज पहिलो दिन १५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यसैगरी, निर्वाचन कार्यालय धादिङका पवन राईले पनि आज १६ जनाको नाम दर्ता भइसकेको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह