Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

‘गल्छी-रसुवागढी सडक’ योजनाको देवीघाट-बेत्रावती खण्डमा डोजर चल्यो

‘गल्छी-रसुवागढी सडक’ योजनाको देवीघाट-बेत्रावती खण्डमा डोजर चल्यो
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाअन्तर्गत विदुर नगरपालिका क्षेत्रको देवीघाट-बेत्रावती खण्डको सडक सीमाभित्रका घरटहरा बल प्रयोग गरेर हटाउन सुरु भएको छ । सडक विस्तार हुने उक्त क्षेत्रमा ६० प्रतिशत घरटहरा हटाउन मुआब्जा वितरण भइरहेको छ भने बाँकी संरचनाको मूल्याङ्कन हुन सकेको छैन । योजना कार्यालयले मुआब्जा निर्धारण गरी ५० प्रतिशत रकम बैंक खातामा पठाइसकेको घरटहरा हटाउन अभियान सुरु गरिएको कार्यालयका प्रमुखले जानकारी दिनुभयो ।

सडकको पहुँच मार्गभित्र परेका जग्गाको मुआब्जा नदिई घरटहराको मात्र मुआब्जा दिएर घरटहरा हटाउन सुरु गरिएको छ । सडकका दायाँबायाँ १५-१५ मिटरभित्र पर्ने घरटहरासहितका भौतिक संरचना हटाउन आयोजना कार्यालयबाट दिएको सूचना अवधिमा नहटाइएका संरचनामा शनिबारदेखि डोजर लगाएर हटाउन थालिएको हो । योजना प्रमुखका अनुसार सडक पहुँचभित्रका संरचनाको नियमअनुसार क्षतिपूर्ति रकम लिएर हटाउन सहमति जनाए पनि अटेर गरेका संरचनालाई बल प्रयोग गरेर भत्काउन थालिएको हो । ती संरचनाको सङ्ख्या व्यक्तिगत ८६ घरटहरासहित एक दर्जन सरकारी तथा सङ्घसंस्थाको संरचना रहेका छन् । घरटहरा हटाउन आयोजना कार्यालयको आग्रहमा विदुर नगरपालिकाको दुई थान डोजर र प्रशासनमार्फत आवश्यक सुरक्षा उपलब्ध गराइएको छ । शनिबारदेखि जिल्लाको मुख्य बजार क्षत्रेमा पर्ने ढुङ्गे, विदुर, बट्टारका संरचना भत्काउन थालिएको हो । तीन दिनभित्र नुवाकोट जिल्लाभित्रका संरचना भत्काइसक्ने लक्ष्य लिएको योजना प्रमुखको भनाइ छ । ‘सडक पहुँच क्षेत्रका संरचना खाली नहुँदा अन्तर्राष्ट्रिय राजमार्गको रूपमा विस्तार भइरहेको सडकको रोकिएको निर्माण कार्य सुरु गर्न सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यवसायीलाई काम थाल्न निर्देशन दिनेछौँ ।’ घरटहरा पूर्णरूपमा हटाउन, सडक क्षेत्रभित्र रहेका विद्युत्, टेलिकमका पोल र खानेपानीको पाइप व्यवस्थापनमा भने कार्यालयले ध्यान नदिएको गुनासो नगरवासीले गरेका छन् । सडक विस्तार गर्ने क्षेत्रको रूख कटान, बट्टार क्षेत्रमा बनाउने पुलको अझै टुङ्गो नलागेकाले सडक विस्तारको काम आगामी वर्ष पनि सम्पन्न हुन नसक्ने नागरिक समाजका अध्यक्ष बद्री तिवारीले बताउनुभयो । धादिङको गल्छीबाट नुवाकोटको विदुर हुँदै चीनसँगको नाका रसुवागढी पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्तसहित राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार थालिएको १० वर्ष भइसकेको छ । यस अवधिमा आधा दर्जनभन्दा बढी कार्यालय प्रमुख फेरिसकेका छन् । एक दशकमा सडक निर्माण ४० प्रतिशत पनि भएको छैन ।

नेपाल सरकारले आर्थिक वर्ष २०७२/०७३ मा राष्ट्रिय गौरवको योजनामा समावेश गरेर निर्माण सुरु गरेको यो योजना अघि बढ्न सकेको छैन । धादिङ जिल्लास्थित पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडकलाई सरकारले गौरवको योजनामा १० वर्षअगाडि राखेको थियो । आव २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने कुल लम्बाइ ८२ किलोमिटर सडक १० वर्षमा बल्ल/बल्ल ३८ किलोमिटर मात्र सम्पन्न भएको छ । सडक निर्माणलाई योजना कार्यालयले तीन खण्डमा विभाजन गरी ठेक्का लगाएको थियो । तीन खण्डमध्ये पहिलो गल्छी–त्रिशूली–मैलुङको ४६ किलोमिटरमध्ये साढे ३८ किलोमिटर मात्र नौ वर्ष लगाएर सम्पन्न भएको छ । सो खण्डमा सुरुदेखि नै स्थानीयवासीको मुआब्जा विवादले बन्द हुँदै खुल्दै धिमा गतिमा निर्माण भएको स्थानीय उपभोक्ता इन्द्रबहादुर पण्डितले बताउनुभयो । यो खण्डमा निर्माणको जिम्मा लिएको कोभेक–तुन्दी रसुवागढी जेभीले दुई वर्षदेखि काम गर्ने क्षेत्र नपाएर बसिरहेको छ । दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी खण्डको १९ किलोमिटर ठेक्का लिएको भारत जेभीले काम छाडेर गएपछि पुनः ठेक्का लगाउन सकेको छैन । योजनाको तेस्रो खण्ड १७ किलोमिटर स्याफ्रुबेँसीबजारदेखि रसुवागढीसम्म चीन सरकारले निर्माण गर्ने सम्झौता भएको छ । विगत आठ वर्षदेखि चीन सरकारका निर्माण प्रतिनिधि कार्यक्षेत्र खाली नभएको भन्दै आउने–जाने गरिरहेका थिए । तीन महिना अगाडिदेखि चिनियाँ ठेकेदारले काम थालेका छन् । गंगटे-ढुङ्गे क्षेत्रमा केन्द्रविन्दुबाट सडकको सीमा दायाँबायाँ १५-१५ मिटर बनाउने गरी ३० मिटरको डिजाइन स्वीकृत भएको छ ।

तत्कालीन भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबिच रसुवागढी-केरुङबाट हुने आर्थिक तथा व्यापारिक कारोबारलाई छिटोछरितो र सहज तुल्याउने उद्देश्यले योजनाको पहिलो चरणअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ सडक विसं २०७३ कात्तिक ७ गतेदेखि निर्माण थालिएको थियो । पारित समय र तालिकाभन्दा निकै ढिलो गरी निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङको ४६ किलोमिटरमध्ये विभिन्न आरोह–अवरोहका बाबजुद आव २०८१/०८२ को असार मसान्तसम्म ३८ प्रतिशत किलोमिटर सडक अन्तर्राष्ट्रिय मापदण्डबमोजिम कालोपत्रे भइसकेको छ । सामुदायिक वनको रूख कटान तथा स्थानीय मुआब्जा विवादलगायत समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निकै ढिलो निर्माण भइरहेको योजनाको हाल निर्मित संरचना तथा कालोपत्रेसँगै उक्त क्षेत्रको सौन्दर्य मनमोहक देखिएको छ । गल्छी–त्रिशूली–मैलुङअन्तर्गत धादिङको गल्छीदेखि रसुवा र नुवाकोट सीमा बेत्रावतीसम्मका विभिन्न क्षेत्रमा डबल लेनको चौडा सडक हाल विश्वमा प्रचलित अस्फाल्ट प्रविधिमा कालोपत्रे भइसकेको छ । निर्माण कार्यतालिकाअनुसार २१ महिना अर्थात् विसं २०७५ भदौ ७ गते निर्माण सम्पन्न गर्ने गरी २०७३ कात्तिक अन्तिमदेखि निर्माण थालिएको सो सडक योजनाको पहिलो खण्ड रु.तीन अर्ब ६३ करोडको लागतमा निर्माण भइरहेको छ । सो खण्डको निर्माण ८२ प्रतिशत सम्पन्न भएको छ । यसै खण्डमा निर्माण हुन बाँकी स्थानका लागि टेवा पर्खालको परिणाम पर्याप्त नभएकाले निर्माण व्यवसायीले पेस गरेको भिओभी (भेरिएसन आदेश) स्वीकृत भएर नआएकाले पनि ठेकेदार कम्पनीले काम अगाडि बढाएको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह