विदुर । म्यागङ गाउँपालिकामा आयोजित चौथो बागमती प्रदेश अन्तरपालिकास्तरीय म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाँबास गाउँपालिकाको पोल्टामा परेको छ । म्यागङ-५, सामरीस्थित ऐतिहासिक जालपादेवी मन्दिरको प्राङ्गणमा सञ्चालित प्रतियोगिताको फाइनलमा खनियाँबासले निकै नै रोमाञ्चक र कडा प्रतिस्पर्धाबिच जित सुनिश्चित गरेको थियो । दर्शकको उत्साहजनक माहोलमा भएको खेलले खेलप्रेमीलाई अन्तिम समयसम्म रोमाञ्चित तुल्याएको थियो ।
दुई छिमेकी पालिकाबिचको कडा प्रतिस्पर्धा, निकै रोमाञ्चक र उत्कण्ठापूर्ण बनेको फाइनल भिडन्तमा सिद्धलेक गाउँपालिकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पाखा लगाउँदै खनियाँबासले ट्रफी आफ्नो पोल्टामा पारेको हो । खेलको सुरुवातदेखि नै दुवै टोलीले उच्च मनोबलका साथ उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए । पहिलो सेट १९-२५ ले गुमाएको खनियाँबासले दोस्रो र तेस्रो सेटमा निकै सुधारिएको प्रदर्शन गर्दै क्रमशः २५-१७ र २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । तर, चौथां सेटमा सिद्धलेकले पुनः पुनरागमन गर्दै २३-२५ ले जितेपछि खेल पाँचौँ तथा निर्णायक सेटमा धकेलिएको थियो । अन्तिम तथा निर्णायक सेटमा खनियाँबासका खेलाडीले निकै संयमित भएर उत्कृष्ट स्पाइक र बलियो डिफेन्स प्रस्तुत गरे । नतिजास्वरूप १५–९ को स्कोरसहित खनियाँबासले खेल जितेर च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष, सीता तामाङलगायतले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमुख्यमन्त्री लामाले ऐतिहासिक महत्त्व बोकेको जालपादेवी मन्दिरको काखमा आयोजित यस प्रतियोगिताले खेलकुद र पर्यटनलाई जोड्ने प्रयास गरेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु.तीन लाख ३४ हजार तीन सय ३३, रु.दुई लाख २३ हजार तीन सय ३३ र रु. एक लाख १२ हजार दुई सय २२ नगदसहित मेडल, प्रमाणपत्र र सिल्ड प्राप्त गरेका छन् । सान्त्वना स्थान हासिल गर्ने पालिकालाई रु. ५६ हजार ६ सय ६६ प्रदान गरेका छन् । साथै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधाका खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, ब्लकर र प्रशिक्षकलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडीले विधागततर्फ रु. पाँच हजार ६ सय ६६ नगदसहित तक्मा र प्रमाणपत्र प्राप्त गरेका छन् । पालिकाका अध्यक्ष आशा तामाङले प्रतियोगिताले स्थानीयस्तरमा लुकेका प्रतिभालाई राष्ट्रियस्तरसम्म पुग्न मद्दत गर्ने र खेलकुदको माध्यमबाट विभिन्न पालिकाबिचको भाइचारा र समन्वयलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको बताउनुभयो ।







प्रतिक्रिया