नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पुगेको छ । दलको स्थापना दिवस गत हप्ता नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र अन्य कम्युनिस्ट नामधारी राजनीतिक दल, समूहले गच्छेअनुसार विविध कार्यक्रम गरेर गहन वैचारिक र राजनीतिक मन्थन गरी मनाए । साम्यवादी दल पुनर्गठन र रूपान्तरणसहितको पुस्तान्तरणको बहस गर्दै गत फागुन २१ मा अभिव्यक्त जनमतको समीक्षासमेत उनीहरूले गरेका छन् ।
विसं २००६ मा स्थापना भएदेखि नै नेकपामा नीतिगत विवाद र कार्यदिशाका नाममा सुरु भएको विभाजनको शृङ्खलाले आजसम्मै निरन्तरता पाइरहेको छ । करिब ८० वर्षको इतिहासमा नेपाली साम्यवादी आन्दोलन वैचारिकभन्दा बढी नेतृत्वको व्यक्तिगत ‘इगो’ र पदको लोभले गर्दा पटक-पटक फुट व्यहोरिरहेको छ । विसं २०४८ को आमनिर्वाचनमा साम्यवादी दलहरूले उल्लेखनीय मत प्राप्त गरेका थिए । नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर बनेको नेकपा (एमाले) ले ६९, संयुक्त जनमोर्चा नेपालले नौ, नेकपा (प्रजातन्त्रवादी, पछि संयुक्त) ले दुई, नेपाल मजदुर किसान पार्टीले दुई स्थान जित्दै दुई सय पाँचमध्ये ८० स्थान साम्यवादी धारले पाएको थियो जुन ३९.०२ प्रतिशत हो । त्यसपछि विसं २०५१ को आमनिर्वाचनमा साम्यवादी जनमत अझ बढ्यो जसमा एमाले ८८ स्थानसहित प्रतिनिधिसभाकै सबैभन्दा ठुलो दल बन्यो भने नेमकिपाले चार स्थान जित्यो । कुल प्रतिनिधित्व ४४.८७ प्रतिशत रह्यो । त्यसैगरी विसं २०५६ मा भने माओवादी जनयुद्धका कारण साम्यवादी प्रतिनिधित्व केही घट्यो । त्यसवेला एमालेले ७१, राष्ट्रिय जनमोर्चाले पाँच तथा संयुक्त जनमोर्चा नेपाल र नेमकिपाले एकएक स्थान जित्दै कुल ७८ स्थान साम्यवादी धारले प्राप्त गर्यो जुन ३८.०४ प्रतिशत हो । विसं २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि तथा माओवादी शान्ति प्रक्रियामा आएपछि विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि साम्यवादी शक्ति ऐतिहासिक उचाइमा पुग्यो । ६ सय एक सदस्यीय संविधानसभामा नेकपा (माओवादी) एक्लै दुई सय ३७ स्थानसहित पहिलो दल बन्यो, एमालेले एक सय आठ स्थान जित्यो । अन्य साम्यवादी दल नेकपा (माले) नौ, नेकपा (संयुक्त) पाँच, नेमकिपा पाँच र राजमोले चार स्थान प्राप्त गरे । साम्यवादी धारले सो निर्वाचनमा कुल प्रतिनिधित्व ६१.२३ प्रतिशत प्राप्त गरे । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सो अनुपात घटेर करिब ४८ प्रतिशतमा झर्यो। मनोनीतसहित ६ सय एकमध्ये एमाले एक सय ८४, माओवादी ८३, माले पाँच, सङ्घीय समाजवादी पार्टी पाँच, नेमकिपा चार, राष्ट्रिय जनमोर्चा तीन, संयुक्तले तीन स्थान जितेका थिए । पहिलो संविधानसभामा पहिलो दल बनेको माओवादी केन्द्र तेस्रामा खुम्चियो भने एमाले दोस्रामा उक्लियो जुन समग्रमा ४७.७५ प्रतिशत रह्यो ।
संविधान जारी भएपछि विसं २०७४ को आमनिर्वाचनमा एमाले-माओवादी केन्द्र गठबन्धनले करिब दुईतिहाइ शक्ति प्राप्त ग¥यो । एमाले र माओवादी केन्द्र चुनावी तालमेल गरेर एउटै घोषणापत्रसहित निर्वाचनमा गएका थिए । दुई सय ७५ मध्ये एमालेले एक सय २१ र माओवादीले ५३ गरी एक सय ७४ स्थान जिते । प्रतिनिधिसभामा जनमोर्चाका दुई र नेमकिपाको एक स्थान थियो । सदनमा कम्युनिस्टको ६४.३६ प्रतिशत रह्यो । तर, विसं २०७९ को आमनिर्वाचनमा साम्यवादी शक्ति उल्लेख्य रूपमा घट्यो । एमाले ७९ र माओवादी ३२ स्थानमा सीमित भए भने अन्य साम्यवादी दलको उपस्थिति पनि न्यून रह्यो । नेकपा (एकीकृत समाजवादी) ले १०, राजमो र नेमकिपाले एकएक स्थान जितेका थिए । एमालेका बागी प्रभु साह र किरण साहले स्वतन्त्र रूपमा जितेका थिए । प्रतिनिधिसभामा साम्यवादी शक्ति कुल ४५.४५ प्रतिशत रह्यो । यसरी साम्यवादीको जनमत घट्ने क्रम रोकिएन । ती गत फागुनमा सम्पन्न निर्वाचनमा १५.२७ प्रतिशतमा खुम्चिए । साम्यवादी दलले विसं २०४८ पछिकै कम ४२ स्थान मात्र गत निर्वाचनमा जिते । सो नतिजाले साम्यवादीको जितलाई अहिलेसम्मकै निराशाजनक बनाइदिएको छ । भर्खरैको निर्वाचनमा एमालेले प्रत्यक्षमा नौ र समानुपातिकमा १६ सहित २५ र नेकपाले प्रत्यक्षमा आठ र समानुपातिकमा नौसहित कुल १७ स्थान जितेका छन् । नेमकिपासहित अन्य साम्यवादी दलको उपस्थिति शून्य रह्यो ।
नेपालका साम्यवादीमा सबैभन्दा ठुलो चुनौती विचार, सङ्गठन र जनविश्वासमा ह्रास हुनु हो । यसलाई भाषणले होइन, कामले मात्र फर्काउन प्रयत्न गरे भने तिनले पुनर्जीवन पाउन सक्छन् । आन्तरिक विभाजन र गुटबन्दी कुनै पनि सङ्गठनको शक्ति कमजोर बनाउने प्रमुख कारण भएकाले त्यसबाट मुक्त हुन सक्नुपर्छ । नयाँ राजनीतिक शक्तिको उदयको चुनौतीलाई स्विकारेर समाधान खोजेमा साम्यवादी जनमत बढ्नेछ । विचारलाई समयानुकूल बनाएर सङ्गठनलाई इमानदार, अनुशासित ढङ्गले जनतासँगको प्रत्यक्ष सम्बन्ध पुनस्र्थापित गर्न सके भने मात्र ती आगामी पाँच वर्षमा पुनः प्रमुख राजनीतिक शक्तिका रूपमा उभिन सक्नेछन् । कम्युनिस्ट पार्टीको नेतृत्वले दास र लास नजन्माई आत्मसमीक्षालाई टारेर सुधारलाई पन्छाएर र पुरानै शैलीमा राजनीति गरे भने इतिहासको गौरव मात्र स्मरण गर्ने अवस्था आउन सक्छ । यो हार तिनलाई फेरि धुलो टकटक्याउँदै उठ्न दिएको सङ्केत हो, निमिट्यान्न भएको स्थिति होइन ।







प्रतिक्रिया