Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

पाँच सय २८ तालिमे सिपाही दीक्षित

पाँच सय २८ तालिमे सिपाही दीक्षित
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

विदुर । नेपाली सेना, श्री नं १ सैन्य तालिम केन्द्र, मैथली शिविरमा सञ्चालनमा रहेको सि.सं. ८३ सैन्य आधार तालिम गत शुक्रबार सम्पन्न भएको छ । तालिममा महिला तीन सय ८४ र पुरुष एक सय ४४ गरी पाँच सय २८ जना सिपाही दीक्षित भएका छन् ।

कार्यक्रममा सैन्य आधार तालिमको अन्तिम दलेल कबाज कमान्डर सेनानी देवराज गुरुङबाट प्रतिवेदन तथा सलामीग्रहणपश्चात् प्रमुख अतिथि बलाधिकृतरथी प्रदीपजंग केसीले कवाज निरीक्षण गरी सलामीग्रहण गर्नुभएको थियो । सो अवसरमा बलाधिकृतरथी केसीले नवनियुक्त तालिमे सिपाहीलाई सम्बोधन गर्दै नौ महिनाको कठोर परिश्रम, लगनशीलता र मिहिनेतपश्चात् गौरवमय इतिहास बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वच्छ छवि बनाएको नेपाली सेनाजस्तो गरिमामय संस्थाको सिपाही दर्जामा नियुक्त हुनुभएकोमा बधाई दिँदै आउँदो दिनमा सफल सैनिक जीवनको शुभकामना दिनुभयो । सैन्य आधार तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तालिम केन्द्रका केन्द्रपति प्रमुख सेनानी दीपक राई तथा तालिमलाई व्यवस्थित, मर्यादित र योजनाबद्ध तवरले सञ्चालन गराउन योगदान पु¥याउने केन्द्रका तालिम अधिकृत सेनानी क्षेत्रजंग हमाल, अन्य शिक्षक अधिकृत, पदिक, बिल्लादारलाई धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि बलाधिकृतरथी केसीले उक्त तालिममा सहभागीमध्ये सर्वोत्कृष्ट हुन सफल सैन्य प्रवीण खड्कालाई खुकुरी तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने महिलातर्फ प्रथम हुन सफल सैन्य ममता नेपालीलाई मोमेन्टो तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो । साथै, उक्त समारोहमा तालिम केन्द्रले प्रकाशन गर्दै आएको वार्षिक मुखपत्र ‘सैन्य आधारशिला’ अङ्क २९, २०८३ को विमोचनसमेत गर्नुभएको थियो । अन्तिम दलेल कवाजपश्चात् सम्पूर्ण तालिमे सिपाही तथा केन्द्रका अधिकृत, पदिकसँग सामूहिक फोटोसेसन गर्नुभई दीक्षित भएका तालिमे सिपाहीका परिवारजनसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नुका साथै परिवारजनलाई हार्दिक बधाईसमेत दिनुभएको थियो । अन्तिम दलेल कवाज (दीक्षान्त समारोह) को अन्तमा सैन्यबाट सिपाहीमा प्रवेश गरेका नवनियुक्त तालिमे सिपाहीले शपथ लिई नेपाली सेनाको नीति, मर्यादा, अनुशासन र राष्ट्रसेवाको भावनालाई उजागर गराउने कार्य भएको थियो ।

सो समारोहमा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सैनिक सङ्गठन निर्देशनालयका निर्देशक सहायकरथी माधव थापा, सैनिक तालिम महानिर्देशनालयका तालिम निर्देशक सहायकरथी सुवासजंग थापा, नुवाकोट जिल्लास्थित सुरक्षा निकाय, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख, उद्योगी, व्यवसायी, स्थानीय समाजसेवी एवम् नवनियुक्त तालिमे सिपाहीका परिवारजनलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह