काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने उद्देश्यसहित तथ्याङ्क प्रविष्टि र प्रमाणीकरणसम्बन्धी कार्यलाई तीव्र बनाइरहेको छ । बोर्डले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरी सोहीअनुसार प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाएको छ ।
बोर्डका अनुसार देशभरका सबै जिल्लाबाट परीक्षासम्बन्धी आवश्यक कागजात प्राप्त भइसकेको छ । जसमा मूल्याङ्कन गरिएका उत्तरपुस्तिका र अङ्क विवरण समावेश छन् । यस वर्षको एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएसँगै सम्बन्धित परीक्षाकेन्द्रमै उत्तरपुस्तिका जाँच गरिएको थियो, जसका कारण मूल्याङ्कन प्रक्रिया छिटो अगाडि बढेको बोर्डको भनाइ छ । नतिजा प्रकाशन प्रक्रियालाई समयमै सम्पन्न गर्न बोर्डले करिब तीन दर्जन कर्मचारी परिचालन गरेको छ । जसअन्तर्गत अङ्क प्रविष्टि कार्यका लागि मात्र करिब दुई दर्जन कर्मचारी खटिएका छन् । कार्यतालिकाअनुरूप प्रगति सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनमा समेत कर्मचारीले नियमित रूपमा काम गरिरहेको जनाइएको छ । सरकारले नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको परिप्रेक्ष्यमा बोर्डले सो समयसीमा पालना गर्दै त्रुटिरहित नतिजा प्रकाशन गर्ने तयारी गरेको स्पष्ट पारेको छ ।







प्रतिक्रिया